समाचार

खुकुरी हानाहानमा ६ जनालाई प्रहरीले पक्राउ गर्यो

चितवन । चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

यही जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई धारिलो हतियार प्रहार गरेर फरार हुँदै आएका भरतपुर–१ का २७ वर्षीय राजकुमार गुरुङ र सोही ठाउँका २८ वर्षीय सुरेश सिलवाल पक्राउ परेको प्रहरीले जनाएको छ । भुजेलको अहिले पनि गम्भीर अवस्थामा भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै चितवनको रामपुरस्थित मकैवाली अनुसन्धान केन्द्रको परिसरमा प्रहरी जवान आकाश पासवानमाथि हातपात गर्नेलाई समेत आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो घटनापछि फरार भएकामध्ये भरतपुर–१९ का विश्वजित राना, नीरज दाहाल, शक्तिमोहन गुरुङ र मिलन शाहीलाई पक्राउ गरिएको श्रेष्ठले आज जानकारी दिए ।

उनीहरुले गाँजा सेवन गरी बसेका सात जना व्यक्तिले घेरा हाली ढुङ्गा हानेर प्रहरीलाई घाइते बनाएका थिए । उनीहरुलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन अन्तर्गत अनुसन्धान कार्य भइरहेको र अन्य फरारको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।