राजनीति

मतपत्र च्यातिएलगत्तै देवी ज्ञवाली र रेणु दाहालबीच चर्को बाझाबाझ, लगाए एकले अर्काेलाई यस्तो अरोप !

काठमाण्डौ । भरतपुर महानगरपालिकाको मतगणनास्थलमा माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेपछि दुवै पक्षका मेयरका उम्मेद्वारहरु कडा आरोप प्रत्यारोपमा उत्रिएका छन् । मेयरका उम्मेद्वारहरु देवी ज्ञवाली र रेणु दाहाल दुवै उम्मेद्वार एकले अर्कोलाई सिध्याउन षडयन्त्र भएको भन्दै कडा आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

एमालेतर्फका उम्मेद्वार ज्ञवालीले माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको आरोप लगाएका छन् भने कांग्रेस माओवादी गठबन्धनका तर्फकी उम्मेद्वार दाहालले आफुले जित्ने निश्चित भएपछि एमाले आतिएर यो हर्कत गरेको आरोप लगाएकी छन् । उनले आफ्ना कार्यकर्ताले नभई एमाले कार्यकर्ताले मतपत्र च्यातेको र उनीहरु पनि प्रहरी हिरासतमा रहेको खुलासा गरेकी छन् ।

ज्ञवालीले भने माओवादीको यो षडयन्त्र आफुहरुलाई पहिल्यै थाहा भैसकेको भएतापनि सुरक्षाकर्मीलाई सुचना दिँदा समेत बेवास्ता गरेको आरोप लगाएका छन् । उता, रेणुले भने आफुहरुमाथि झुट्टा आरोप लगाएको भन्दै पत्रकार सम्मेलनमार्फत त्यसको खण्डन गर्ने भन्दै त्यसको तयारीमा लागेको जनाइएको छ ।

आइतबार मध्यरातमा माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेपछि भरतपुर मतगणनास्थल तनावग्रस्त भएको थियो । सो घटना घटेलगत्तै मतगणना प्रक्रियानै स्थगित भएको छ ।