अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति शान्तीको खोजी गर्दै यसरी हिँडे बिदेश भ्रमणमा

काठमाडौँ । निर्वाचन अभियानदेखि राष्ट्रपतिको पदभार ग्रहण गर्दासम्म मुसलमान समुदायप्रति आक्रामक देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गरेका छन् ।

सो भ्रमणको देखिने र नदेखिने धेरै पाटा र पक्षहरु क्रमशः सतहमा आउन थालेका छन् । भ्रमणको पहिलो उद्देश्य मुसलमान समुदायसँगै अमेरिका छ भन्ने देखाउनु थियो भने, दोस्रो सोही समुदायको नाममा भइरहेको आतङ्कवादी गतिविधिलाई नियन्त्रण गर्नुपनि रहेको छ ।

जुन सुमदायप्रतिको आक्रोश हो सोही समुदायलाई विश्वासमा लिने अमेरिकी कार्यकारीको पछिल्लो कदमले अरब राष्ट्रहरुलाई पनि एक ठाउँमा ल्याउने विश्वास व्यक्त गरिएको छ । तर घटनाक्रमले आगामी दिनहरु कस्ता रहनेछन् भन्ने विषयको निक्र्यौल गर्ने नै छ । राजनीति र कुटनीति सरल रेखामा बढ्दैनन् अमेरिकी कार्यकारीले घुमाउरो एवम् वक्ररेखामा आफ्नो पहिलो विदेश यात्रा तय गरे ।

‘फेरी एक पटक अमेरिकालाई समृद्ध बनाउने’ संकल्पका साथ अमेरिकी सर्वोच्च निकायमा उदाउनु भएका ट्रम्पको विदेश यात्रालाई कुटनीति र व्यापारको अर्को नमुनाको रुपमा पनि लिने गरिएको छ । व्यापारिक पृष्ठभूमिलाई पाश्र्वमा छाडेर आगामी चार वर्ष अमेरिका हाक्ने संकल्प यात्रामा मुसलमान समुदाय नै रोज्नुको पछाडि रहेको रणनीतिक उद्देश्य पनि सपाट रहेको छ । जुन समुदायप्रति बढ्ता आक्रोश रहन्छ, त्यही समुदायलाई विश्वासमा लिनुपर्ने वाध्यता पनि अर्कोतिर रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमका दाबी छन् ।

साउदी अरबबाट सुरु भएको एक साता लामो विदेश यात्रा इजरायल, प्यालेस्टाइनी इलाका तेल अभिभ, ब्रसेल्स, भ्याटिकन र सिसली पुगेर टुङ्गिएको छ । सङ्घीय जाँच एजेन्सी (एफबीआई)का निर्देशक जेम्स कोमीलाई पदबाट हटाएको विषयमा अमेरिकाभित्रै चर्चा र विवाद भइरहेका बेला ट्रम्प विदेश यात्रामा निस्किनु भएको हो । अर्को रमाइलो पक्ष के छ भने अमेरिकी कार्यकारीले आफ्नो पहिलो विदेश भ्रमणका क्रममा विश्वका तीन धर्म समप्रदाय–इस्लाम, यहुदी र इसाइलाई छनौट गरेका छन् । ती समुदायको प्रमुख राजधानी नै मानिएका स्थानमा पुगेर म सबै सम्प्रदायप्रति समान हैसियतका साथ आफू अगाडि बढ्न चाहन्छु भन्ने सन्देश दिनु पनि ट्रम्पको उद्देश्य रहेको देखिन्छ ।

राष्ट्रपति निर्वाचनदेखि अन्य घटनाक्रममा समेत रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न सङ्घीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मुलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको सन्दर्भमा अगाडि बढेको विदेश भ्रमणले आन्तरिक र बाह्य विषय पनि सँगसँगै छ भन्ने अर्को सन्देश पनि एकै पटक विश्व समुदायलाई दिइएको छ ।

राष्ट्रपति ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेपछि मुलरलाई नियुक्त गरिएको र छानबिनको प्रक्रिया पनि अगाडि बढाइएको विषय आपसी रुपमा परस्पर विरोधी मानिएका छन् । ट्रम्प भ्रमणका लागि साउदी पुग्नुभन्दा केही समय अघि साउदी अरबको रक्षा विभागले रियादको दक्षिणी क्षेत्रमा एक रकेट खसेको जनाएको थियो । सो रकेट यमनको हुथी विद्रोहीले हानेको बताइएको छ । त्यसलगत्तै यमनको राजधानी सानामा साउदी अरबको लडाकू विमानले जवाफी हमला गरेको थियो ।

साउदी भ्रमणका क्रममा डोनाल्ड ट्रम्पले अरब इस्लामिक अमेरिकी सम्मेलनमा सहभागिता जनाउनुका साथै इस्लामको ‘शान्तिपूर्ण दृष्टिकोणको आशा’ विषयमा सम्बोधन गरेका थिए । राष्ट्रपतिको शपथ लिएको केही समयपछि नै सात मुस्लिम देशमाथि प्रतिबन्ध लगाएर विवादमा आउनुभएका ट्रम्पले आफ्नो पहिलो भ्रमण मुस्लिम देशबाटै सुरु गरेर विश्व समुदायलाई विश्वासमा लिनु नै पहिलो उद्देश्य हो र थियो भन्ने सहजै बुझ्न सकिन्छ ।

सात मुस्लिम देशबाट अमेरिका प्रवेश गर्न चाहनेलाई रोक लगाउने उनको आदेशलाई अदालतले खारेज गरिदिएपछि केही अन्तरराष्ट्रिय सञ्चारमाध्यमले भने पछिल्लो भ्रमणलाई सन्तुलनको नीतिका रुपमा समेत व्याख्या गरेका छन् ।

इरान, लिबिया, सोमालिया, सुडान, यमनसहित सात देशका नागरिकमाथि लगाइएको प्रतिबन्ध अदालतको आदेशका कारण छायाँमा परेको अवस्थामा साउदीमा आयोजना भएको सम्मेलनमा उनले इस्लामिक चरमपन्थीको लडाई र त्यस क्षेत्रमा इरानको बढ्दो प्रभावबारेसमेत आफ्नो धारणा प्रष्ट रुपमा राखेका थिए ।

मुसलमान समुदायसँगै मिलेर जाने तर चरमपन्थीलाई नछाड्ने भन्ने अमेरिकी सरकारको नीतिलाई उनले प्रमुखताका साथ राखेका थिए ।

आठ दिने भ्रमणका तेल अभिभ र जेरुसेलम, वेस्ट ब्यांकदेखि रोम हुँदै ब्रसेल्सको भ्रमणका क्रममा पनि अमेरिकी राष्ट्रपतिले जोड दिएर विश्व शान्ति नै आनो प्रमुख प्राथमिकताको विषय भएको बताए ।

पोप फ्रान्सिस र बेल्जियन अधिकारीसँग भेट र उत्तर एटलान्टिक सन्धी संगठन (नाटो) सम्मेलनका क्रममा अभिव्यक्त धारणाले पनि ट्रम्पको परम्परागत व्यापारिक छवि क्रमशः अब विश्व नेताको रुमपा स्थापित भएको, आक्रामकता कम, विश्वास र क्रियाशिलता नै बढी देखिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमको टिप्पणी रहेको छ ।

ट्रम्पले इजयारेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग जेरुसलेममा र प्यालेस्टीनी नेता महमुद अब्बाससँग बेथलेहममा गर्नुभएको भेटवार्ता क्षेत्रीय शान्तिका लागि समेत कोशेढुंगा हुन सक्ने विश्लेषण सार्वजनिक भएको छ । राष्ट्रपति ट्रम्पले इजरायल र प्यालेस्टाइनबीच शान्ति सम्झौतामा जोड दिए तर स्वरुपको बारेमा अस्पष्ट नै रहनुले भने थप कसरत बाँकी रहेको संकेत पनि गरेको छ ।

दुवै पक्ष बसेर प्रत्यक्ष संवादमार्फत निर्णय लिनुपर्ने पक्षमा आफू रहेको बताएर अमेरिकी कार्यकारीले मिल्नुको विकल्प नरहेको र त्यो प्रक्रिया नै क्षेत्रीय शान्तिको आधार स्तम्भ हो भन्ने भावनालाई पनि सम्प्रेषित गरेका छन् ।

उनले इरानमाथि भने कडा प्रहार गर्दै जातीय दङ्गा र आतङ्कलाई बढावा दिएको आरोप मात्रै लगाउनु भएन यस्तै रवैया अपनाइए फरक कदम चाल्नुपर्ने चेतावनी समेत दिए । त्यसको अन्तमा दबावको रणनीति नै रहेको टिप्प्णी पनि फरक कोणबाट सार्वजनिक भएका छन् ।

ट्रम्पले उत्तर एटलान्टिक सन्धी संगठन नेटोका सदस्यहरुलाई आफ्नो वक्यौता रकम तिर्न आग्रह गरेका छन् । नेटोका नेताहरुसँगको भेटमा सो आग्रह गर्नुको पछाडि पनि समान चासोका लागि स्थापना भएको संगठनलाई जिम्मेवार बनाउनु नै रहेको बताइन्छ ।

नेटोका सदस्यहरुले आपसी सुरक्षाको लागि कूल ग्राहस्थ उत्पादन जीडीपी को २ प्रतिशत रकम शुल्कको रुपमा जम्मा गर्ने सहमति गरेका थिए । तर सहमति कार्यान्वयन नभएकोमा आलोचना हुँदै आएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले नेटो सदस्य राष्ट्रहरुको वक्यौता रकम सम्बन्धी विवाद वार्ताबाट समाधान गरिने र अमेरिकाले पनि आफ्नो हिस्सा तिर्ने प्रतिबद्धता जनाए ।

नेटोको लागि अमेरिकाले गर्दै आएको खर्च कटौती गरेकोमा बेल्जियमका जनताले बिरोध जनाएका थिए । जलवायु परिवर्तन सम्बन्धी बिषय र इस्लामिक स्टेट विद्रोही विरुद्ध गर्नुपर्ने कारवाहीको बारेमा पनि नेटो सदस्य राष्ट्रबीच समान धारणा बनाउनु रहेको देखिन्छ ।

यसअघिका अधिकांश अमेरिकी राष्ट्रपतिले आफ्नो पहिलो विदेश भ्रमण क्यानडा र मेक्सिकोबाट सुरु गर्ने प्रचलन रहेको थियो । प्रचलन विपरित ट्रम्पले आफ्नो चुनावी अभियानका दौरान इस्लाममाथि चर्को आलोचना गरेका भएपनि साउदी त्यो पनि इस्लामिक देशबाटै भ्रमण सुरु गरेर विश्व समुदायलाई दिएको सन्देश भने दीर्घकालीन महत्वको रहेको र त्यसले विश्व शान्तिमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।