कुराकानी

प्रकाशमान सिंहका कारण काठमाण्डौ महानगरको चुनाव हारियो ! (बिशेष कुराकानी)

“विचारधारा नै नमिलेका पार्टीहरुबीच एलाइन्स भएपछि कसरी जनताले भोट हाल्छ त ? बरु एमाले र माओवादी मिलेको भए उनीहरुको पार्टीगत जात मिल्थ्यो, मत झर्न सक्थ्यो तर जात नै नमिलेपछि मत झर्ने कुरै भएन नि । यो चाहि नेताहरुको स्वार्थका लागि भएको एलायन्स भएकोले राप्रपाले पनि हार्यो ।”

स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरमा नेपाली कांग्रेसले किन हार बेहोर्नुपर्यो ? यसमा पार्टीको आन्तारिक तयारी कस्तो थियो ? पार्टीभित्रै अन्तरघात भएको हो वा सही व्यवस्थापनको अभाव हो ? यी समसामयिक विषयमा केन्द्रीत रहेर नेपाली कांग्रेस काठमाण्डौका प्रभावशाली नेता, काठमाण्डौका पुर्बसभापति एवम् सांसद भीमसेनदास प्रधानसँग हामीले अन्तरवार्ता लिएका छौं । प्रस्तुत छ, सोही अन्तरवार्ताको सम्पादित अंशः

सांसद ज्यु, काठमाण्डौ महानगरमा कांग्रेसले पराजय बेहोर्नुपर्नाको भित्री कारण के होला ?
काठमाण्डौ महानगर लगायतका स्थानहरुमा नेपाली कांग्रेसले यसअघिको राजनीतिक इतिहासको पनि समिक्षा गर्नुपर्छ । पहिले पनि यस्ता ठाउँहरुमा मनमोहन भट्टराईजस्ता प्रभावशाली नेताहरुले हार बेहोर्नुपरेको इतिहास साक्षी छ । हो त्यस्ता ठाउँमा पार्टीका प्रभावशाली नेताहरुलाई उम्मेद्वारी दिनपर्छ भन्ने हाम्रो अडान थियो । जस्तै, यस्ता ठाउँमा कि गगन थापालाई दिउँ, कि त मलाई (भीमसेनदास), कि त नविन्द्रराज जोशीलाई दिनुस्, कि त  तीर्थराम डंगोल नेवार समुदायकाे र काठमाण्डौ सबै समुदायमा राम्रो छवि भएको पुरानो नेता भएकाेले वँहालाई भन्दा पनि भन्दा कुरा सुनुवाई भएन । अहिले जनताले काम गर्ने नेता खोज्छ । अहिले गगन थापा र नविन्द्रराज जोशीले राम्रो काम गरेको देखिएको छ । त्यसैले उहाँहरुलाई दिएको भए पनि हुन्थ्यो ।  काठमाण्डौका ८ जना साँसद र ५ केन्द्रीय सदस्य, तथा काँग्रेसमा योगदान गरेका महत्वपूर्ण व्यक्तीहरुसंग छलफल हुन जरीरी थियो, कसले जित्छ त्यसलाई टिकट दिन उक्त छलफलको जरीरी थियो, तयही छलफल नभई टिकट बितरण हुनु नै मूख्य कारण हो, काठमाण्डौ महानगरमा निर्बाचन हार्नु । अहिले यति धेरै अस्तव्यस्त भएको काठमाण्डौ कसले बनाउन सक्छ भन्ने कुरा त जनताले सोचिरहेको छ नि । यहाँ कांग्रेस आओस् वा एमाले आओस् जनताले पत्याएको व्यक्ति हुनुपर्छ । यो यहाँको राजनीतिक संस्कार नै हो ।

पार्टी नेतृत्वलेनै पहिले गिरिजाबाबुले हाँके जसरी नेतृत्व हाँक्न सकेन भन्ने कुरा पनि बेला बेलामा सुनिन्छ नि, यसको प्रभावचाहि कतिको परेको देख्नुहुन्छ ?
–वास्तवमा पार्टीको १३ औं महाधिवेशनले एउटा नयाँ नेतृत्व दिएको छ तर तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि पार्टी संस्थापन पक्षमा पनि द्वन्द बढ्यो । सुशील दाईको अवशानपछि संस्थापन पक्षमा पनि रामचन्द्र पौडेलहरुले उहाँकै लिगेसी बोकेर हिड्न  थाल्नुभयो  । संस्थापन आफैलाई दाबी गर्न  थाल्नुभयो  । त्यही क्याम्पभित्र रहेका कृष्ण सिटौलाहरु पनि म पनि दाबेदार हु भनेर हिँडेको देखियो । गिरिजाबाबुकै पालादेखि देखिएको भागबन्डाको संस्कृतिलाई सुशील कोइरालाले संस्थागत नगरेपनि पनि अन्त गर्न सक्नुभएन । यसपालि त  झन् के देखियो भने दुवै सभापतिका उम्मेद्वाहरुले भागबन्डाको संस्कृति अन्त गर्नुपर्छ भनेर एजेण्डा नै राख्नुभएकाे थियो,  पछि प्रतिशत माग्न रामचन्द्र दाई पनि थाल्नुभयो, शेरबहादुर दाई पनि दिन थाल्नुभयो भागबण्डाको राजनीति यथावत नै छ । अहिले पनि भागबन्डाकै राजनीति पार्टीभित्र देखिन्छ । वास्तवमा भागबन्डाको राजनीति अन्त हुनुपथ्र्यो तर त्यो काम गर्नचाहि पार्टी सभापतिले सक्नुभएको छैन । मेरो मान्यता के हो भने पार्टी सभापतिले एक मतले जितोस् वा हजार मतले जितोस् पाँच वर्षसम्म उहाँकै नेतृत्वमा रहेर काम गर्न सक्नुपर्छ । उहाँले पनि सबैलाई संगठित बनाएर लैजान सक्नुपर्छ ।

भागबन्डाकै कारण  पार्टीमा गडबडी देखिएको हो । अहिले चुनावमा पनि यसको परिणाम देखिएको हो । टिकट बाँड्ने बेलैमा पनि त्यसको प्रभाव देखिएको थियो, त्यसलगत्तै कार्यकर्ताहरुमा पनि प्रभाव देखियो । आफ्नो खल्तीबाट उम्मेद्वारलाई टिकट दिइयो भन्ने आरोप लाग्यो । हामीले पनि यसमा कुरा उठायौ । मेरो त के दाबी छ भने काठमाण्डौमा पार्टीका ५ जना केन्द्रीय सदस्य छन् । प्रकाशमान सिंह, गगन थापा, नरहरि आचार्य, नविन्द्रराज जोशी, अम्बिका श्रेष्ठ केन्द्रीय सदस्य भएको ठाउँमा यो हुनु हुँदैनथ्यो । त्यस्तै हामी आठ जना सांसदहरु रहेका छौ, कसैसँग सल्लाह गर्ने काम भएन । अन्तिममा प्रकाशमान सिंहको मात्र कुरा सुनेर पार्टी जील्ला सभापतिले निर्णय गर्नुभयो । त्यसैको परिणाम अहिले हामीले देखिरहेका छौ । प्रकाशमान सिंहजीकै कारण यो अवस्था भोग्नुपरेको हो । कमसेकम हामी सबैलाई बोलाएर उहाँले छलफल गरेको भए यो अवस्था आउने नै थिएन ।

अब आम काँग्रेस कार्यकर्ताले बुझ्दा राजुराज प्रकाशनमान सिंहको सभापतिको उम्मेद्वार भनेर बुझ्ने कि कांग्रेसको उम्मेद्वार भन्ने बुझ्ने ?
– मैले अघिनै भनिसके नि काठमाण्डौ महानगरमा कांग्रेसले हारेको कारण नै यही हो । मैले आफ्नो क्षेत्रमा भएको एक कार्यक्रममा प्रकाशमानजीसँग यति सम्म भने की यो पटक राम्रो मान्छेलाई टिकट दिऔं है, नभए राम्रो परिणाम आउँदैन । तर उहाँले वास्ता गर्नुभएन । जस्तै मेरो श्रीमतीलाई टिकट दिएर चुनाव जितिन्छ त ? जित्दैन नि, किनभने मेरो श्रीमतीलाई जनताले चिन्दैनन् नि । जनताका बीचमा लोकप्रिय भएको मान्छेलाई उठायो भने मात्र चुनाव जितिन्छ भन्ने मेरो कुरा थियो । काठमाण्डौमा चुनाव हार्दा सबैभन्दा पहिला काठमाण्डौ जिल्ला सभापति र दोश्रो केन्द्रीय सभापतिलाई घाटा हुन्छ, किनभने यो त राजधानी हो । त्यतिमात्र होइन यहाँका पाँचजना केन्द्रीय सदस्य र सांसदहरुकै इज्जत जान्छ, यहाँ हार्नु भनेको त सम्पूर्ण कांग्रेस हार्नु हो भनेर मैले त्यसबेला नै कुरा राखेको थिए । देशभरका काँग्रेस कार्यकर्ताहरु काठमाण्डौ हार्दा निरास भएका छन, हैन र ?

यहाँ त गगन थापा, नविन्द्रराज जोशी, तीर्थराम डंगोल र तपाइँको नाम पनि जोडिएर आएको थियो, यसमा तपाईहरुलाई पार्टीले नचाहेको हो कि तपाइहरुले चाहि नचोहेको हो ? प्रस्ट पारिदिनुस् न ।
– पार्टीले यसमा हामीले सोधेन । हामी त अनुशासनमा बसेका हौ । पार्टीले उठ्नैपर्छ भनेको भए, नाई भन्ने कुरै थिएन तर एकपटक पनि सोधेन । हामी गगन थापा, नविन्द्रराज जोशी, तीर्थराम डंगोल,  म(भीमसेनदास प्रधान)लगायतको बाहिर हल्ला चलेको थियो तर राजुराजको नामै आएको थिएन । तर पछि उहाँलाई पार्टीले टिकट दियो । पार्टीले टिकट दिएको भए त जो पनि उठ्नै पथ्र्यो नि, मेरो टिकट लिने भित्री चाहना त थिएन तैपनि पार्टीले आवश्यक ठानेको भए म पनि पछि पर्दिन थिए । तर मेरो यतिमात्र जोड हो कि काठमाण्डौ महानगरको टिकट बितरण गर्दा  जिल्लाका अगुवाहरुबीच छलफल हुनुपथ्र्यो भन्ने ।
राजुबाबु जोशी कसरी आउनुभयो र उहाँको थोरै पृष्ठभूमी भनिदिनुहोस् न ?
–राजुराज जोशी ०४८ सालमा प्रकाशमानका पालमा सचिव हुनुहुन्थ्यो । त्योसँगै ४६ सालको जनआन्दोलनमा उहाँले केही काम गर्नुभो । त्यसबेला पनि उहाँले मेयरको टिकट माग्नुभएको थियो । त्यसबेला मनमोहन भट्टराइले टिकट पाउनुभो । त्यसपछि उहाँ राजनीतिबाट निराश भएर सम्पूर्ण रुपमा निस्क्रिय बस्नुभो । उहाँ यसपाली मात्र महाधिवेशनमा आउनुभएको हो । उहाँ २०/ २५ वर्ष राजनीतिमा निस्क्रिय बसेको मान्छे हो । यो पटक भने उहाँ काठमाण्डौको सभापति उठ्न आउनुभएको हो । उहाँले काठमाण्डौमा मलाई हराउन एलायन्स गर्नुभो । त्यसबेला मलाई सभापितमा हराउन प्रकाशमानको नेतृत्वमा एउटा टिम लाग्यो । त्यसबेला प्रकाशमानले भीमसेनदासलाई हराउन लाग्नुस्, पछि मेयरको टिकट पाउनुहुन्छ भन्ने कमिटमेन्ट गर्नुभएको थियो  हाेला ।  मलाई हराएपछि म त यहाँको मत बाँडिने कुरामा उहाँहरु ढुक्क हुनुहुन्थ्यो । त्यसैको परिणाम हो, अहिले राजुराजले मेयरको टिकट पाउनुमा ।

अब पार्टीलाई कस्तो सल्लाह दिनुहुन्छ त ?
–त्यसबेला जो जो उम्मेद्वारका दाबेदार हुनुहुन्थ्यो, उहाँहरुसँग पार्टी सभापति, महामन्त्री लगायतले सल्लाह गरिदिएको भए यो स्थिति आउँदैनथ्यो भन्ने हो । मैले काठमाण्डौ जिल्लाका पूर्वसचिव लोकेश ढकालसहित गएर पार्टी नेतृत्वले असनको आमसभामा आएर बोल्नुपर्छ, भोट माग्नुपर्छ भनेर धेरै आग्रह गरें, तर उहाँहरु आउनुभएन । त्यो बेला पार्टी सभापति वा प्रकाशमान सिंहले नै फोन गरेर पहल गरिदिएको भए, त्यसले केही प्रगति हुन्थ्यो, त्यो पनि हुन सकेन । त्यसैले यस्तो परिणाम आयो । अबचाहि यस्तो कुरामा हेलचेक्रयाई नहोस् भन्ने हो ।

काठमाण्डौ महानगरको चुनावमा भीमसेनादासहरुको समुहले सहयोग गरेन भन्ने आरोप पनि तपाईहरुमाथि लागेको छ नि ?

“विचारधारा नै नमिलेका पार्टीहरुबीच एलाइन्स भएपछि कसरी जनताले भोट हाल्छ त ? बरु एमाले र माओवादी मिलेको भए उनीहरुको पार्टीगत जात मिल्थ्यो, मत झर्न सक्थ्यो तर जात नै नमिलेपछि मत झर्ने कुरै भएन नि । यो चाहि नेताहरुको स्वार्थका लागि भएको एलायन्स भएकोले राप्रपाले पनि हार्यो ।”

–चुनावमा नविन्द्रराज जोशी उहाँको भाइ नै भएकोले राम्रोसँग खट्नुभएको हो । म पनि मेरो क्षेत्रमा पार्टीलाई जिताउन केन्द्रीत भए । काठमाण्डौमा चुनाव जिताउन त सबैभन्दा बढी खट्नुपर्ने त पार्टी सभापति हो नि, उहाँहरु भने जसरी खट्नुभएको छैन, तर म जुन–जुन ठाउँमा बोलाइयो र कार्यक्रम सम्पन्न गरियो सबै ठाउँमा पुगेको छु र खटेको छु । मेरै वडामा पनि थुप्रै कार्यक्रम भए । असन जस्तो ठाउँमा के भो भने जातीको कुरा जोडिएको आएको देखिन्छ । त्यहाँ खड्गी र बज्राचार्यको कुरा जोडिएर आयो । खड्गी भनेको मासु व्यापार गर्ने जाति, बज्राचार्य भनेको गुर्जु भए । उनीहरुले बज्राचार्यलाई उठाइदिए । खड्गी, ज्यापु, तुलधार, ज्यापु सबै गुर्जु भए । हाम्रो जातिचाहि बाहुनजस्तो हुन्छ भने काठमाण्डौको गुर्जु भनेकोचाहि ती जातिसँग जोडिएर जान्छ ।

त्यसैले असनमा एमालेका चिनियाकाजी बज्राचार्यले जिते । फेरि असनसँगै जोडिएको अर्को वडा जसलाई मच्छिन्द्रबहाल भनेर हामी चिन्छौ, त्यहाँ निलकाजी गुर्जुले जिते । यसरी जातिसँग जोडिएर राजनीति भएको देखिन्छ । हाम्रो पनि व्यापक रुपमा प्रचार भएकै हो । मेरै क्षेत्रमा पत्रकार सम्मेलन भएको थियो । नविन्द्राज जोशीसँग मेरो कुरा पनि हुन्थ्यो । काठमाण्डौ नेवारको महत्वपूर्ण स्थान असन नै हो । त्यहाँबाट अहिले उपमेयर जित्ने हरिप्रभा खड्गी सोही क्षेत्रकी हुन् । त्यहाँ उनले जित्नाको कारणचाहि एमालेले महिला उम्मेद्वार नदिएर पनि  हो । उपमेयरमा विजयी हाँशिल गरेकी हरिप्रभा निरन्तर खटेकी महिला भने हुन् है, राम्रोलाई राम्रो भन्नुपर्छ ।

एमालेले अर्को कोही राम्रो महिला उम्मेद्वार दिएको भए, त्यो पनि तानिदिन सक्थ्यो । काठमाण्डौमा राप्रपाका  राजारामलाई त भोट दिदैनथे नि । सबैले आ–आफ्नो आस्थामा रहेका कांग्रेस, एमालेलाई नै बढी भोट दिने हो । तर यो क्षेत्रमा नेताहरुको निर्देशनमा पनि जनताले भोट हाल्दैनथे । न एमालेले राप्रपालाइ भाेट हाल्छ न राप्रपाले  एमालेलाई हाल्छ,  किनभने विचारधारा नै नमिलेका पार्टीहरुबीच एलाइन्स भएपछि कसरी जनताले भोट हाल्छ त ? बरु एमाले र माओवादी मिलेको भए उनीहरुको पार्टीगत जात मिल्थ्यो, मत झर्न सक्थ्यो तर जात नै नमिलेपछि मत झर्ने कुरै भएन नि । यो चाहि नेताहरुको स्वार्थका लागि भएको एलायन्स भएकोले राप्रपाले पनि हार्यो ।

तपाई भोली पार्टीको शीर्ष तहमा पुग्ने नेता  हुनुहुन्छ, तपाई व्यक्तिगत रुपमाचाहि के सल्लाह दिनुहुन्छ ?
–मेरो पार्टीभित्र सुरुमा सबैभन्दा निकट व्यक्तित्वहरु भनेको वीपी कोइराला, गिरिजाबाबु, किशुनजी, गणेशमानजीहरु हो । ०६२/०६३ को आन्दोलनपछि चाहि गिरिजाबाबु र कृष्ण सिटौलासँग धेरै नजिकको सम्बन्ध रह्यो । काठमाण्डौको त्यसबेलाको सबै आन्दोलनको संयोजन मैले नै गरेको हुँ । त्यसबेला कृष्णप्रसाद सिटौला केन्द्रीय संयोजक र काठमाण्डौको नेतृत्वचाहि मैले गरेको थिएं । त्यसबेला मैले काठमाण्डौ जिल्ला र केन्द्रबीच कोअर्डिनेसन गर्न ठूलो भूमिका खेलें । नेता सिटौलासंगकाे मलाई दिन–रात फोन र भेटघाटमार्फत सबै निर्देशन मलाई दिनुहुन्थ्यो । वास्तवमा कृष्ण सिटौलासँग धेरै आइडियाहरु पनि छ ।

१३ औं महाधिवेशनपछि कृष्ण सिटौलालाई रामचन्द्र पौडेलहरुले बाइपास गर्नुभयो । मैले पनि यता काठमाण्डौ जिल्ला सभापति हारेको थिएं। त्यसैले म कृष्ण सिटौलासंग थप नजिक हुन पुगें । आन्दोलनको बेलामा पनि हामी सँगै भएको र एकले अर्कालाई बुझेकोले हामी एक भयौं । उहाँले मलाई माया पनि गर्नुहुन्छ । कृष्ण दाई रामचन्द्रको धारमा वा शेरबहादुरको धारमा पुगेको भए म पनि त्यही पुग्थें होला ।

अब लगत्तै दोश्रो चरणको चुनाव हुँदैछ, नेपाली कांग्रेसले कुन खालको तयारी गरिरहेको छ, यस बारेमा भनिदिनुस् न ?
– नेपाली कांग्रेसको मुख्य एजेन्डा भनेको चुनाव नै हो । हाम्रो पार्टीको मुख्य उपलव्धी भनेको के हो भने, लामो समयदेखि कांग्रेसले उठाउँदै आएको एजेण्डामा बहुदलीय व्यवस्था नमान्ने, संसदीय व्यवस्था नमान्ने पार्टीहरुलाई पनि यही धारमा डोर्याउन सक्नु हो । उनीहरु कांग्रेसले २००७ सालदेखि उठाउँदै आएको एजेण्डामै आइपुगेका छन् । अहिले नयाँ संविधान पनि कांग्रेसकै नेतृत्वमा आएको छ । जसको नेतृत्व तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको थियो ।

अब अहिलेको अर्को चुनौती भनेको संविधान कार्यान्वयनको चुनौती हो । अब हामीले स्थानीय तह लगायतका ४ वटा निर्वाचनहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी काँधमा आएको छ । यी निर्वाचन सम्पन्न गरेपछि संविधान स्वतः कार्यान्वयनमा आउँछ । त्यसकारण हाम्रो अहिलेको पहिलो प्राथमिकता भनेको चुनाव नै हो । शान्तिपूर्ण र निश्पक्ष रुपमा चुनाव सम्पन्न गर्न हामीले ध्यान दिनुपर्छ । माओवादी शसस्त्र जनयुद्धमा थियो, उसलाई मुलधारमा ल्याएर अहिले चुनावी प्रक्रियामा उ पनि सामेल छ ।

त्यसबेला गिरिजाबाबुले पार्टी हारोस् मलाई चिन्ता छैन तर राष्ट्रले हार्नुहुन्न भन्ने कुरालाई विशेष जोड दिनुभएको थियो । गुप्तचर संस्थाले विपरित रिपोर्ट दिँदा दिँदै पनि कांग्रेसले चुनावमा गएर जोखिम मोलेको थियो । त्यसैले हामी चुनावलाई हामी जतिबेला पनि प्राथमिकतामा राख्ने गर्छौ । जहाँसम्म तराईको चुनावको कुरा छ, अहिले हाम्रो पार्टी सभापतिले पनि सबै पक्षसँग छलफल गरिरहनुभएको छ, प्रधानमन्त्रीले पनि छलफल गरिरहनुभएको छ । म त के भन्छु भने चुनाव कसैले पनि बहिष्कार गर्नु हुँदैन । यो कुरा तराईका साथीहरुले पनि बुझनुपर्छ । अहिले उहाँहरुको एजेण्डालाई आफैले उपयोग गर्न सक्नुहुन्छ नि । त्यही एजेण्ड लिएर गए त उहाँहरुले नै बहुमत ल्याउन सक्नुहुन्छ नि । अहिले राष्ट्रिय जनता पार्टी लगायतका मधेस केन्द्रीत गठबन्धनले चुनाव बहिष्कार गर्ने घोषणा गर्नुभएको छ, यसले उहाँहरुलाई नै समाप्त पार्छ ।

अहिले तराईमा पनि च्याउ उम्रे जसरी पार्टीहरु खुलिरहेका छन् । जनताले उनीहरुलाई विश्वास गर्ने आधार छैन । यसबाट पनि के प्रस्ट हुन्छ भने त्यहाँको विश्वासिलो र भरपर्दो पार्टी भनेको कांग्रेस नै हो । यसअघिको चुनावमा पनि कांग्रेसले त्यहाँका पार्टीहरुलाई हराएर सबैभन्दा ठूलो पार्टी बनेकै हो । यो चुनावमा पनि कांग्रेस ठूलो पार्टी बन्ने निश्चित छ ।

“तराईमा पनि कांग्रेसले राम्रो उम्मेद्वार दिन सक्नुपर्छ । मलाई एउटा कुरा याद छ, वीपी कोइरालाले २०१५ सालको निर्वाचनमा घोडामा चढेर, बयलगाडामा चढेर र हिडेर प्रत्येक क्षेत्रमा पुगेर टिकट बाँड्ने र निर्वाचनको तयारी गर्नुहुन्थ्यो । काठमाण्डौंमा पनि त्यसैगरी उहाँ खट्नुभएको थियो, सबैसँग छलफल गरेर मात्र उहाँ निर्णय लिनुहुन्थ्यो ।”

तराईमा पनि कांग्रेसले राम्रो उम्मेद्वार दिन सक्नुपर्छ । मलाई एउटा कुरा याद छ, वीपी कोइरालाले २०१५ सालको निर्वाचनमा घोडामा चढेर, बयलगाडामा चढेर र हिडेर प्रत्येक क्षेत्रमा पुगेर टिकट बाँड्ने र निर्वाचनको तयारी गर्नुहुन्थ्यो । काठमाण्डौंमा पनि त्यसैगरी उहाँ खट्नुभएको थियो, सबैसँग छलफल गरेर मात्र उहाँ निर्णय लिनुहुन्थ्यो ।

अहिले पनि पार्टी नेतृत्वले त्यसैगरी सबैसँग छलफल गरी उम्मेद्वार छान्नुपर्छ । नत्र एमालेलाई हराउन सकिदैन । पार्टी सभापतिले आफ्नो मान्छे भन्दा राम्रो मान्छे छान्नुस् भनेर स्पष्ट रुपमा निर्देशन दिनुपर्छ । अहिले पार्टीले जित्नु भनेको शेरबहादुर देउवाले जित्नु हो, हार्नु भनेको पनि देउवाले हार्नु हो ।

त्यसैले यो अस्तित्वको लडाईमा राम्रो तयारी गर्नुपर्छ । अहिले पार्टीका वरिष्ठ नेताहरुलेनै पार्टी सभापतिका कारण चुनाव हारियो भन्ने कुराहरु भैरहेका छन् । पार्टीका वरिष्ठ नेताहरुले नै त्यसो भन्न मिल्छ ? यो विषयमा तत्काल समीक्षा गर्नुपर्यो नि । त्यसकारण, उम्मेद्वार छान्ने जिम्मा पार्टी सभापतिले तल्लो तहको संगठनलाई जिम्मा दिनुपर्छ । यदि उम्मेद्वारले हार्यो भने तिमीहरुको जिम्मा भनेर तल्लो तहको संगठनलाई जिम्मा दिँदा जिम्मेवारी बढ्छ र जसरी पनि चुनाव जित्न सकिन्छ ।

अन्तमा केही भन्न चाहानुहुन्छ ?
–नेपाली जनताले सौहार्दपूर्ण रुपमा जसरी हिजो संविधानसभा निर्वाचनमा आफुलाई सहभागी गराएका थिए, त्यसरी नै अहिलेको स्थानीय चुनावमा पनि सहभागी हुनुभएको छ। प्रजातन्त्रमा साम, दाम, दण्डभेदमुक्त चुनाव हुनुपर्छ, जसले जितेपनि जनताले जित्ने यो प्रक्रियामा सहभागी हुनुभएकोमा उहाँहरुलाई धन्यवाद दिन चाहान्छु ।