राजनीति

गगन थापाको अग्रहपछि डा केसीको अनशन स्थगित

दाङ । दाङमा मेडिकल कलेज स्थापना गर्नेलगायतका माग राख्दै अनशन बस्नका लागि दाङको घोराही आइपुगेका डा गोविन्द केसीको अनशनस्थल फेरिएको छ ।

आफ्नो एघारौँ अनशन राप्ती उपक्षेत्रीय अस्पतालमा बस्न लाग्नुभएका डा केसी अब सिरडी साई मन्दिर घोराहीमा अनशन बस्नेछन् ।

डा केसीको अनशनमा अवरोध गर्न आज बिहान सर्कुलर जारी गरेको अस्पताल प्रशासन अन्ततः आफ्नो योजनामा सफल भएको छ । आइसियुको अभाव देखाउँदै अनशन रोक्ने मागसहित आज बिहान प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेलाई गुहार्न पुगेको अस्पताल प्रशासनले शौचालयको समस्या देखाउँदै अस्पतालमा बस्ने भनिएको डा केसीको अनशनस्थल परिवर्तन गर्न सफल भएको छ ।

आफ्ना माग पूरा नहुँदासम्म काठमाडौँ नफर्कने भन्दै दाङ आइपुग्नुभएका डा केसीले भोलि दिउँसो २ बजेसम्मका लागि अनशन रोकेका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले भोलि २ बजेसम्मका लागि समय माग गरेपछि आज अपराह्न ४ बजेबाट सुरु गर्ने भनिएको अनशन भोलिसम्मका लागि रोकिएको डा केसीका सहयोगी डा सुमन आचार्यले जानकारी दिए ।