राजनीति

निर्बाचन अघि बोलेका कुरा पुरा गर्ने पोखराबाट निर्बाचित मेयर बताउछन्

पोखरा। पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ बोलेका कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पर्यटकीय नगरी पोखरा लेखनाथलाई एक उत्कृष्ट महानगरपालिका बनाउने बताए ।

आपूm यसअघि एउटा पार्टीको कार्यकर्ता भए पनि जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि अव सबै महानगरवासीको साझा व्यक्ति भएको उनको भनाइ थियो । “मतदाताको मन जित्ने गरी काम गर्छु,” उनले भने ।

महानगरपालिका– २८ मा २०१७ साल भदौ १७ गते जन्मनुभएका जिसीले विएडसम्मको शिक्षा हासिल गर्नुभएको छ । विसं २०३७ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीति थालेका जिसीले २०४१ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएका थिए ।

उन नेकपा (एमाले) कालिकागाउँ कमिटिको सचिव, इलाका नं – ४ कास्कीको सचिव, २०५० मा निर्वाचित जिल्ला कमिटी सदस्य, २०५४ मा एमाले जिल्ला कमिटिको उपसचिव र २०५८ देखि २०६० सालसम्म जिल्ला कमिटीको सचिव तथा २०६६ देखि २०७० सम्म पार्टीको आठौँं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भई जिम्मेवारी सम्हालेका थिए ।

हाल उनी एमाले केन्द्रीय कमिटिको वैकल्पिक सदस्य एवम् कास्की जिल्ला इन्चार्ज, प्रदेश नं– ४ को कार्यालय सचिव छन् । विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं– १ बाट जिसी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर थापासँग २७२ मतले पराजित भएका थिए ।