राजनीति

प्रचण्डको राजीनामा एमालेलाई झड्का, यस्तो आउन सक्छ अब एमालेको चुनावी परिणाम !

काठमाण्डौ । बुधबार प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिएलगत्तै कांग्रेस नेतृत्वको सरकार निर्माणको ढोकाले खुलेको छ । केही वर्षअघिदेखि सुरु भएको दलीय सहमति अनुसार योपटक कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निश्चित भएको हो । दलीय सहमति अनुसारनै प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचन लगत्तै पदबाट राजीनामा दिएका छन् । यसले प्रधानमन्त्री दाहालको राजनीतिक नैतिकताको उचाई बढेको बहस सुरु भएको छ ।

सहमतीय बिन्दुमै प्रधानमन्त्री दाहालले राजीनामा दिनु नेपाली राजनीतिक रंगमञ्चमा ऐतिहासिक कुरा भएको भन्दै दाहालको राजनीतिक छबि माथि उठाउने प्रयासहरु राजनीतिक सतहमा ह्वात्तै देखिएको छ । यसबाट के प्रस्ट हुन्छ भने बुधबारदेखि प्रधानमन्त्री दाहालको कदम र उनले कांग्रेसलाई छोडेको स्पेसले उनको ‘देवत्वकरण’ हुने काम समेत सुरु भएको छ ।

अब प्रश्न उठ्छ के प्रधानमन्त्री प्रचण्डले आफ्नो विवेकलेनै प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ? प्रमुख प्रतिपक्षी दल एमालेले राजीनामा नदिन आग्रह गर्दागर्दै प्रचण्डले किन सिंहदरबारबाटै राजीनामा दिए ? पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै दोश्रो चरणको निर्वाचन सम्पन्न गर्ने तयारीमा किन प्रधानमन्त्री दाहाल लागेनन् ? यस्ता थुप्रै प्रश्न यसबेला नेपाली राजनीतिक रंगमञ्चमा उठेका छन् ।
वास्तवमा सतहमा प्रधानमन्त्री दाहालले दलीय सहमतिलाई पालना गरेको देखिए पनि उनको भित्री रणनीति भने अर्कै देखिन्छ ।

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री दाहाललाई भित्री रुपमा सम्झाउने र आन्तारिक समझ्दारी गर्ने कोशिस पनि नगरेका होइनन् । तर त्यसलाई लत्याउँदै दाहालले राजीनामा दिए । दाहालको यो कदमबाट के बुझ्न सकिन्छ भने उनले भावी प्रधानमन्त्रीका लागि समेत आफ्नो सिट सुरक्षित पार्न सफल भएका छन् ।

अबको करिब १० दिनभित्र कांग्रेस सभापति देउवा वा सो पार्टीको कुनै नेता यो देशको प्रधानमन्त्री हुने निश्चित भएको छ । तर त्यो प्रक्रियाले दोश्रो चरणको निर्वाचन कतिको प्रभावित पार्छ वा पार्दैन भन्ने विषयमा समेत बसहहरु भैरहेका छन् । यद्यपि, सभापति देउवाले प्रधानमन्त्री निर्वाचनको प्रक्रियाले चुनाव प्रभावित हुन नसक्ने स्पष्ट पारेका छन् । तोकिएको समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता पनि हो ।

उता, दाहालको राजीनामाले एमालेको अबको पोजिसन के होला ? भन्ने बहस समेत सुरु भएको छ । एमालेले दोश्रो चरणको निर्वाचन पनि प्रधानमन्त्री दाहालकै नेतृत्वका सम्पन्न गर्नुपर्छ भन्ने अडान लिएको थियो तर बुधबारको राजीनामा पछि उसको सपनामा तुषरापात भएको छ । यसले एमालेमा छट्पटी समेत बढाएको छ । अब निर्माण हुने सरकार र त्यसको नेतृत्व बिल्कुल नयाँ हुने देखिन्छ र त्यही सरकारले चुनाव सम्पन्न गर्दैछ ।

गृहमन्त्री र स्थानीय विकासमन्त्री समेत परिवर्तन हुदैछन् । बिल्कुल नयाँ सरकारको नेतृत्वमा चुनाव सम्पन्न हुँदा पहिलो चरणको मतपरिणामअनुसार पार्टीको अस्तितव निर्माण होला कि नहोला ? भन्नेमा एमालेलाई ठूलो चिन्ता लाग्न थालेको छ । त्यतिमात्र होइन, प्रधानमन्त्री दाहालको राजीनामाले कांग्रेस र माओवादीबीच थप केही वर्ष तालमेल हुने देखिएको छ । देउवाको नेतृत्वमै स्थानीय तहको दोश्रो निर्वाचन र प्रदेश निर्वाचन हुने प्रस्ट भएको छ ।

यसले एमालेलाई अबको चुनावी परिणाम सजिलै आफ्नो हातमा पर्छ भन्नेमा थप अन्योलता समेत बढाइदिएको जानकारहरु बताउँछन् । यसलगत्तै अब एमालेले आन्तारिक रणनीतिक बनाउन अब दोश्रो चरणको निर्वाचनको परिणाम पर्खनैपर्छ । दोश्रो चरणको निर्वाचनपछि एमालेको रणनीतिक र कांग्रेस–माओवादीको आन्तारिक रणनीतिबीचको टक्कर बढ्न सक्ने संकेत देखिएको छ ।