विशेष

काठमाण्डौ उपत्यकामा यसकारण पछि परेको रहेछ कांग्रेस, खुल्यो भित्री रहस्य !

काठमाण्डौ । बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनबाट काठमाण्डौमा शीर्ष दलहरुको शक्ति सन्तुलन व्यापक रुपमा फेरबदल हुने देखिएको छ । लामो समयदेखि काठमाण्डौ उपत्यकामा आफ्नो प्रभाव जमाउँदै आएको कांग्रेसले महानगरपालिका प्रमुखमा पराजय ब्यहोर्ने निश्चित जस्तै देखिएको छ । कांग्रेसका मेयरका उम्मेद्वार राजुवावु जोशीले पछिल्लो मतपरिणामअनुसार ३३ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् भने उनलाई एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले भारी मत पछि पार्दै ४८ हजार ७२ मत प्राप्त गरिसकेका छन् ।

ललितपुरमा भने कांग्रेसकै उम्मेद्वारले जित हासिल गरेका छन् तर निकै झिने मतले मात्र उनको जित हासिल भएको देखिन्छ । त्यहाँ कांग्रेसका चिरिबाबु महर्जनले ३ सय २६ मतको अन्तरले मात्र चुनाव जिते । ललितपुरमा भने ६ वटा स्थानीय निकायमा ३ वटामा कांग्रेसले जित हासिल गरेको छ ।

उपत्यकाका जिल्लाहरुमा ललितपुरमा भने कांग्रेस केही मजवुत देखिएको छ । उता, भक्तपुरमा पनि कांग्रेस कमजोर देखिएको छ । यद्यपि,जितमा समेत कांग्रेसका कमजोरीहरु प्रस्ट रुपमा देखिएका छन् ।

यसबाट के प्रस्ट हुन्छ भने यो पटकको काठमाण्डौ महानगर लगायत उपत्यकाका अन्य स्थानको नेतृत्व एमालेको काँधमा पुगेको छ । त्यतिमात्र होइन काठमाण्डौ उपत्यकाका अन्य स्थानमा समेत कांग्रेसलाई पछि पार्दै एमाले अग्रस्थानमा रहन पुगेको देखिन्छ ।

कांग्रेसले काठमाण्डौमा नराम्रोसँग धक्का खाएको छ । कांग्रेसले काठमाण्डौमा किन धक्का खायो ? मुलुककै सबैभन्दा ठूलो पार्टी, जसको प्रभाव सदाबहार रुपमा नेपाली राजनीतिमा देखिदै आएको छ, तर यो पटक भने उसले किन आफ्नो पक्षमा विजय हात पार्न सकेन ? नेपाली राजनीतिक रंगमञ्चमा बहस उठान हुन थालेको छ । यद्यपि, अहिलेनै मुलुकभरको मतपरिणामको बारेमा समीक्षा गर्ने बेला भने भएको छैन, किनभने जेठ ३१ गते हुने दोश्रो चरणको निर्वाचनले मात्र कुन पार्टीको हैसियत कति भन्ने कुराको निर्धारण गर्नेछ । तर काठमाण्डौ उपत्यकाको प्रभाव भने देशभरि पर्ने निश्चित छ ।

काठमाण्डौ उपत्यकामा किन पछि पर्यो कांग्रेस ?
काठमाण्डौ आफैमा मुलुकको प्रभावशाली शहर हो । यहाँका मतदाता निकै सचेत छन् । कुन राजनीतिक दलले कस्तो खालको नारा दिन्छ र त्यसले व्यवहारिक जीवनमा कति प्रभाव पार्दछ भन्ने कुरामा यहाँ मतदाता निकै सचेत हुने गर्दछन् ।

त्यसैले बेला–बेलामा हुने निर्वाचनमा यहाँका मतदाताले निकै सचेततापूर्वक मतदान गर्ने गरेको इतिहास देखिन्छ । यद्यपि, कहिलेकाही यहाँका मतदाता राजनीतिक उथलपुथलको पछि समेत लाग्ने गरेका छन् । तर यो पटक भने उनीहरुले कसैले नसोचेको ढंगले मतदान गरेको देखिएको छ ।

कांग्रेसका प्रभाव भएका स्थानमा समेत सो पार्टीको मत निकै कम खसेको देखिएको छ । काठमाण्डौका ११ वटा नगरपालिकामा अधिकांश नगरहरु एमालेको पक्कडमा गएका छन् ।

यसमा कांग्रेसको कहाँनेर कमजोरी देखियो ? यो विषयमा चर्को बहस उठान हुन थालेको छ । काठमाण्डौका प्रभावशाली नेता तथा सांसद भीमसेनदास प्रधान पार्टीले कमजोरी गरेकैले यो अवस्था आएको बताउँछन् । उनले यसमा पार्टीले उठाएका मेयरका उम्मेद्वारहरु चयन गर्ने क्रममा नै कमजोरी गरेको ठोकुवा गरे ।

काठमाण्डौ महानगरमा प्रकाशमानकै कारण पार्टीले पराजय ब्यहोरेको उनले खुलासा गरे । उनले स्थानीय नेवार समुदायलाई उपेक्षा गरेका कारण कांग्रेसले पराजय भोग्नुपरेको स्पष्ट पारे ।

काठमाण्डौ कांग्रेसका पूर्व पार्टी सभापति एवम् क्षेत्र नं.६ का सांसद समेत रहेका प्रधानले भने, ‘काठमाण्डौमा स्थानीय नेवार समुदायको उम्मेद्वार नउठाएका कारणले पार्टीले पराजय भोगेको हो ।’

पार्टी सभापति देउवा लगायतका नेताहरुले स्थानीय नेवार समुदायको राम्रो उम्मेद्वार उठाउने तयारी गर्दागर्दै प्रकाशमानकै हठका कारण जोशीलाई उम्मेद्वारी दिइएको बताउँदै प्रधानले उनका कारण पार्टीले यो स्थिति ब्यहोर्नुपरेको बताए ।

यसबाट पनि के स्पष्ट हुन्छ भने कांग्रेसको आन्तारिक र बाह्य कारणले उसले काठमाण्डौमा पराजय भोग्नुपरेको देखिन्छ ।

कांग्रेसले बाह्रय कारणले समेत धक्का बेहोर्नुपरेको बहसहरु भैरहेका छन् । पछिल्लो समयमा कांग्रेसले माओवादी केन्द्रसँग गरेको चुनावी तालमेल, प्रहरीको अइजीपी नियुक्ति प्रकरण,प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, मधेसी मोर्चासँगको निकटता, राष्ट्रियताको मुद्धामा मौन रहनु, चुनावको लागि आन्तरिक रणनीति तयार गर्न नसक्नु लगायतका कारणले पराजय ब्यहोरेको देखिन्छ ।

यो सवालमा कांग्रेसले आफ्नो अडानलाई मजबुत बनाउन सकेको भए पछिल्लो परिणति भोग्नु पर्ने स्थिति नआउने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

यस्तो छ, काठमाण्डौ जिल्लाका नगरको मत परिणाम
१.काठमाण्डौ महानगरको मत परिणाम घोषणा हुन बाँकी
२. दक्षिणकाली नगरपालिका–कांग्रेस
३.नागार्जुन नगरपालिका–कांग्रेस
४.चन्द्रागिरी–कांग्रेस
५.गोकर्णेश्वर–कांग्रेस
६.कीर्तिपुर–एमाले
७.तारकेश्वर–एमाले
८.शंकरापुर–एमाले
९.टोखा–एमाले
१०.बुढानिलकण्ठ– एमाले
११.कागेश्वरी– मनोहरा–एमाले

ललितपुर जिल्लामा–
कांग्रेस–३ (ललितपुर महानगर, गोदावरी नगर, एक गाउँ गाउँपालिका)

एमाले–२ (महालक्ष्मी नगपालिका र एक गाउँपालिका)

माओवादी– एक गाउँपालिका

भक्तपुर–
मजदुर किसान पार्टी–भक्तपुर नगरपालिका
एमाले–मध्यपुर ठिमी नगरपालिका
एमाले– सुर्यविनायक नगरपालिका
चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित