खेलकुद

भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा दीपावली

कठमाडौं । भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा पुरानो नैकापस्थित न्यु डायमन्ड एकेडेमीले दीपावली गरेको छ । विद्यालय प्रांगणमा गरिएको दीपावली कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, कोषाध्यक्ष सुनकेशरी माली, भलिबल प्रशिक्षक कुमार राई र न्यु डायमन्ड एकेडेमीका खेलाडीको उपस्थिति रहेको थियो ।

न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक कुमार राईले लामो समयदेखि भलिबलमा संलग्न रहँदै आएको अवस्थामा भलिबललाई सरकारले राष्ट्रिय खेल घोषणा गरेर सम्पूर्ण भलिबलप्रेमीलाई खुसी तुल्याएको बताए ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले राष्ट्रिय खेलको घोषणासँगै नयाँ चुनौती पनि थपिएकाले भलिबललाई नयाँ सिराबाट अगाडि बढाउन संघ लागिपर्ने बताए । संघका महासचिव जितेन्द्रबहादुर चन्दले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न लामो समयदेखि पहल गर्दै आएको जनाउँदै सबैको प्रयासबाट राष्ट्रले औपचारिक रुपमा राष्ट्रिय खेल पाएको बताए ।