समाचार

दोस्रो चरणको निर्बाचनको मुखमा आधुनिक हतियारसहित युवक पक्राउ

धनुषा । जनकपुरबाट प्रहरीले एक युवकलाई आधुनिक हतियारसहित पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–१० स्थित अप्सरा होटल एन्ड गेस्ट हाउसको कोठा नं १०७ मा बसी रहेका युवकसँग हातहतियार रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय सुरज साह सोनार रहेका छन् ।

प्रहरीले उक्त युवकको कोठामा खानतलासी गर्दा उनको सुत्ने ओछ्यानको सिरानीमुनिबाट चार राउण्ड गोली लोड रहेको युएसए अटो पेस्तोल एक थान फेला परेको धनुषाका नायब प्रहरी उपरीक्षक मनोज यादवले बताए ।

साह कुनै आपराधिक घटना घटाउने नियतले जनकपुरमा रहेको र उनी कुन प्रयोजनको लागि हतियार बोकेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । रासस