पु.समाचार

महानगरपालिका बनेको खुसीयालीमा विराटनगरमा दीपावली 

विराटनगर । विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरी महानगरपालिकामा परिणत गरेको निर्णय गरेपछि स्थानीय हर्षित भएका हुन् ।

लामो इतिहास बोकेको विराटनगर महानगरपालिका बनाउनका लागि विभिन्न राजनीतिक दलका नेता, सांसद, व्यापारिक सङ्घ सङ्गठन, सामाजिक संस्था लामो समयदेखि प्रयासरत रहेका कारण पुरानो नगरी विराटनगर महानगरपालिका बनेको हो ।

दुई लाख १४ हजार जनसङ्ख्या रहेको विराटनगरमा अब टङ्कीसिनुवारी गाउँका करिब २० हजार र जहदा–३ का आठ हजार जनसङ्ख्यालाई समावेश गरिने भएको छ । १९ वडा रहेको विराटनगरका केही वडाको सङ्ख्या बढ्नुका साथै जनसङ्ख्या दुई लाख ४० हजारको हाराहारीमा जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ ।

विराटनगरलाई महानगरपालिका बनाउने घोषणा गरेकोलगत्तै मोरङ व्यापार सङ्घले मंगलबार साँझ विराटनगरमा दीपावली मनाउन व्यापारीलगायत नगरवासीसँग अपिल गरेको छ ।

सो सङ्घले एक विज्ञप्ति जारी गरी सरकारको सो निर्णयको हार्दिक स्वागत गर्नुका साथै महानगरपालिका बनाउनका लागि सहयोग गर्ने विभिन्न राजनीतिक दल र नगरवासीप्रति आभार प्रकट गरेको छ । यसका साथै आगामी दिनमा पनि जनहितका लागि हुने कार्यमा सङ्घ सदैव अग्रसर रहने प्रतिबद्धतासमेत प्रकट गरेको छ ।

विराटनगरलाई महानगरपालिका बनाउनका लागि नेताहरु डा. शेखर कोईराला, महेश आचार्य, मीनेन्द्र रिजनाल, सांसद अमृत अर्याल, ऋषिकेश पोखरेल, पवन शारडा, अमन मोदीलगायतका सांसद एवम् मोरङका अन्य सांसद एवम् नेताको अहम् योगदान रहेको छ ।

राजनीतिक एवम् औद्योगिक क्षेत्रको केन्द्रबिन्दुको रुपमा रहेको विराटनगर अब चार महानगर– काठमाडौँ, ललितपुर, भरतपुर र पोखराको स्तरमा पुगेको देख्दा बिराटनगरका स्थानीय आफूलाई गौरवान्वित महसुस गर्न थालेका छन् ।