खेलकुद

राष्ट्रिय महिला भलिबल जेठ तेस्रो साता

काठमाडौं । केएनपी जापान राष्ट्रिय महिला भलिबल जेठको तेस्रो सातादेखि सुरु हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको तेस्रो संस्करण जेठ २३ गतेदेखि २६ गतेसम्म संचालन हुन लागेको हो ।

नयाँ बानेश्वरमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताका बारेमा जानकारी दिएको हो । राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । नेपाल भलिबल संंघका उपाध्यक्ष समेत रहेका खड्काले अघिल्लो संंस्करणको तुलनामा यस संस्करणमा नगद पुरस्कारको राशि दोब्बर बनाएको जनाए ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले महिला भलिबलको विकासका लागि प्रतिष्ठानले थालेको अभियान सराहनीय रहेको बताए । त्यस्तै संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिताको सफलताको शुभकामना दिंदै पछिल्लो समय नेपाली भलिबलले प्राप्त गरेको सफलताले सम्पूर्ण खेलकुद क्षेत्रलाई तरंगित गरेको बताए ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने छ ।
प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपबिजेताले ७५ हजार र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । बहुराष्ट्रिय रंग कम्पनी केएनपी जापान प्रालिको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताका खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न ब्यक्तिगत पुरस्कार राखिएका छन् । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई केएनपी जापान सर्वोकृष्ट खेलाडीको उपाधिबाट पुरस्कृत गरिने भएको छ ।

सर्वोकृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथै काठमाडौं मलेसिया, काठमाडौंको आतेजाते हवाई टिकट प्राप्त गर्ने छन् । उक्त टिकट एयर एशियाबाट प्रायोजन हुने अध्यक्ष खड्काले जानकारी दिए । त्यस्तै केएनपी जापान बेस्ट स्पाइकर, केएनपी जापान बेस्ट क्वीकर, केएनपी जापान बेस्ट सेटर, केएनपी जापान बेस्ट ब्लकर, केएनपी जापान बेस्ट डिफेन्स र केएनपी जापान बेस्ट सर्भर पनि पुरस्कृत गरिने छ । उत्कृष्ट हुने सबै खेलाडीले जनही तीन हजार रुपैयाँसहित आर्कषक ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगिताका उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने भएको छ । टोलीले पाएको सफलता, खेलाडीको स्तर र प्रदर्शनका आधारमा फाइनल पुग्ने दुई टोलीबाट एकलाई तीन हजार नगदसहित बुद्ध एयर बेस्ट प्रशिक्षकको उपाधिबाट पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । यस्तै केएनपी जापान राइजिङ प्लेयरबाट तीन हजार रुपैयाँसहित एक प्रतिभावान खेलाडी पुरस्कृत हुने छन् ।

यसैगरी तेस्रो संस्करणमा शेरवहादुर खड्का स्पेशल अवार्डबाट एक खेलाडीलाई सम्मान गर्ने अध्यक्ष खड्काले जानकारी दिए । खेलाडीले आर्कषक ट्रफीसहित नगद १० हजार प्राप्त गर्ने छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ रहेको अध्यक्ष खड्काले जानकारी दिए ।