समाचार

गगन थापाले दिए जिल्ला अस्पताललाई ६० लाख

नवलपरासी । नवलपरासीको सबैभन्दा पुरानो एक जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालले मन्त्रालयबाट विनियोजन गरेको रु ६० लाख रकमबाट मर्मत सम्भारको काम सुरु गरेको छ ।

अस्पतालको अन्तरङ्ग, बहिरङ्ग र आकस्मिक कक्षसहित शल्यक्रिया कक्षको मर्मत सम्भारको काम सुरु गरेको जिल्ला पृथ्वीचन्द्र अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताएका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाको सकृयतामा भएके सरकारको निर्णयअनुसार १५ शैयाबाट क्षमता विस्तार गरी ५० श्ययाको अनुमति पाएको जिल्ला अस्पताल यतिबेला २४सै घन्टा फार्मेसी सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ ।

अस्पतालका लागि मन्त्रालयबाट रु ६० लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको उक्त रकमबाट मर्मत सम्भार तथा सुधार भई चालु आवभित्रै उपलब्धिमूलक काम गरिने अस्पतालले जनाएको छ ।

अस्पतालभित्र दिइने सेवा सुविधाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेकामा उक्त रकमबाट केही राहत हुने बताइएको छ । भौतिक संरचना कमजोर भएका कारण जिल्ला अस्पताललाई व्यवस्थित गराउन आफूलाई निकै चुनौती रहेको अस्पताल व्यवस्थापन समिति, परासीका अध्यक्ष श्रीवास्तवले बताए ।