समाचार

स्याङजाको वालिङ नगरपालिकामा काँग्रेसका मेयर र उपमेयर दुबै विजयी

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । वालिङ नगरपालिकाको नगर प्रमुखमा काँग्रेसका दिलीपप्रताप खाँणले १० हजार ६०० मत ल्याई विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पुन्यप्रसाद अर्यालले आठ हजार ७४९ मत प्राप्त गरेर पराजित भएका छन् ।

त्यस्तै नगर उपप्रमुखमा काँग्रेसकै कल्पना तिवारी नौ हजार ८९५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी खगिसरा थापाले नौ हजार ३५७ मत प्राप्त गरे । वालिङमा ३१ हजार ३१२ मतदाता रहेकामा २२ हजार ४३४ मत खसेको छ।

चौधवटा वडा रहेको वालिङ नगरपालिकामा काँग्रेस प्रमुख र उपप्रमुखसहित सातवटा तथा एमाले सातवटा वडामा विजयी भएको छ ।