पु.समाचार

एमालेका कार्यक्रकमा मारिएका पाँचजना भए सहिद, गृहमन्त्रीले दिए परिवारलाई दश लाख

सप्तरी । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका मृतक पाँच जनाको परिवारलाई तथा आफन्तलाई आज राजविराजमा आयोजित एक कार्यक्रममा राहत स्वरुप दश/दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

उपप्रधानमन्त्री निधिले सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्को निर्णयअनुसार पाँचै जनालाई सहिद घोषणा गरिएको जानकारी दिए ।

एमालेको मेची–महाकाली अभियानअन्तर्गत मलेठस्थित राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित कार्यक्रमको विरोध गर्ने क्रममा गत फागुन २३ गते मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा परी पाँच जनाको मृत्यु भएको थियो ।

सप्तरीको मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनी ५ टेङ्गरीका सिनियर अहेव आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

यस्तै, उपप्रधानमन्त्री निधिले मलेठ घटनाको बारेमा पुनरावेदन अदालतका पूर्वमुख्य न्यायधीश अली अकबर मिकरानीको संयोजकत्वमा पूर्वन्यायाधीश एकराज बराल र पूर्वप्रहरी महानिरीक्षक श्याम बहादुर खडका रहेको तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरिएको र त्यसले एक महिनाभित्र प्रतिवेदन बुझाउने जानकारी दिए ।