समाचार

शान्तिपूर्ण र उत्साहजनक तवरले मतदान कार्य जारी-निर्बाचन आयोग

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य सुरु भएको छ ।

आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचलान केन्द्र (जेईओसी), निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत, आयोगबाट खटिएका अनुगमनकर्ताले आयोगलाई दिएको जानकारीअनुसार मतदान कार्य उत्साहजनकरुपमा सुरु भएको छ । ज्येष्ठ नागरिक, महिला, अशक्तहरुसमेत बिहानैबाट मतदान कार्यमा उत्साहपूर्वक सहभागी भएको आयोगले जनाएको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले शान्तिपूर्ण रुपमा, विना बाधा अवरोध सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको जानकारी दिएका छन् । आयोगलाई प्राप्त जानकारी अनुसार, गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १० चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गर्नुभएको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।