राजनीति

हारिने निश्चित भएपछि एमाले भ्रमको खेतीमा लागेको काँग्रेसको दाबी

ललितपुर । सदरमुकामसमेटिएको विदुर नगरपालिका सहित नुवाकोटका नगर र गाँउपालिकाहरुमा शर्मनाक हार हुनेभएपछि नेकपा एमालेका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसलाई बद्नाम गर्न विभिन्न षड्यन्त्रमा लागेको काँग्रेसको दाबी छ ।

 नेपाली कांग्रेसको गढको रुपमा रहँदै आएको विदुर नगरपालिकामा आफ्नो पार्टीको दाल नगल्ने भएपछि एमाले कार्यकर्ताहरुले नेपाली कांग्रेसका जिल्ला सचिव तथा नगरप्रमुख उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारी सहित कांग्रेस कार्यकर्तालाई हातपात गरी उहाँको साथमा रहेको व्यक्तिगत रकमलाई मतदाता प्रभावित पार्न लिइएको रकम भन्दै होहल्ला गरेका थिए ।

विदुर नगरपालिका ९ को दशमुरेमा निर्वाचनको प्रचारप्रसार सकेर निवासतर्फ फर्कदै गरेका अधिकारी र उहाँका सहयोगीलाई बिहीबार १०ः०० बजे राति एमाले कार्यकताहरुले अवरोध खडा गरेका थिए । निर्वाचन आयोगले बिहिबार राती १२ः००बाट मात्र निर्वाचनको मौन अवधि तोकेको थियो । निर्वाचन प्रचारप्रसार अवधि कायम रहेको बेलामा भएको यस हर्कतको नेपाली कांग्रेस नुवाकोटले शुक्रबार बिहान एक पत्रकार सम्मेलन गरी भत्र्सना गरेको छ ।

नेपाली कांग्रेस नुवाकोटले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारहरुलाई आफ्नो र पार्टीका विचार तथा कार्यक्रमका आधारमा जनताको मत आकर्षण गर्ने स्वस्थ्य परम्परालाई छोडेर आमजनतालाई भ्रमित पार्ने गतिविधिमा केही ठूला दलका कार्यकर्ताहरु नै संलग्न रहनु दुर्भाग्यपूर्ण भएको बताएको छ ।

विचार र कार्यक्रमको आधारमा भयरहित शान्त वातावरणमा निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने मान्यता बोकेको पार्टीले मतदाताको स्वतन्त्रतालाई सधैभरी सम्मान गर्ने बताउँदै नेपाली कांग्रेसले अनुचित दवाव र प्रभाव वा लोभलालच डर, धम्की र त्रासको आडमा आमजनताको मताधिकारलाई प्रभावित गर्ने गलतकार्यको नुवाकोट काँग्रेसले निन्दा गरेको छ । नुवाकोट कांग्रेसले आफ्नो पार्टीको वर्चश्व रहेको र विजय सुनिश्चित नै भैसकेको स्थानमा पार्टीलाई बद्नाम गराउन पराजित मानसिकतामा पुगेका पार्टीहरुले षड्यन्त्रमा पारी मतदातालाई भ्रमित पार्न गलत कदमको सहारा लिएको आरोप लगाएको छ ।