पु.समाचार

निर्बाचन आचारसंहिता उलंघन गर्नेलाई कडा कारबाही हुन्छ – निर्बाचन आयोग

काठमाडौं । निर्बाचन आयोगले निर्बाचन आचारसंहिता मिचेर कुनैपनि ब्यक्ती वा स्ंस्थाले प्रचारप्रसार गरेको पाईए कडा कारबाही गर्ने जनाएको छ । एक बिज्ञप्ती जारी गर्दै त्यस्ता गतिबिधि गरेको समाचार सुन्नमा आएकोले तत्काल रोक्न आग्रह गर्दै अटेर गर्नेलाई निर्बाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही गर्ने बताईएको छ ।

बित्रप्तीमा भनेको छ, “केही राजनीतिक दल, संस्था, उम्मेद्वार र व्यक्तिहरूले स्थानीय तह निर्वाचनको मौन अवधिमा पनि आफ्ना वेभसाइटलगायत फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालहरुमार्फत निर्वाचनको प्रचार प्रसार गरेको भन्ने जानकारीमा आएको छ ।

निर्वाचनको मौन अवधिमा वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार प्रसार गर्न नपाइने भएकाले त्यस्ता प्रचार प्रसारका क्रियाकलापहरू गरेको भए तत्काल रोकी मौन अवधिको पूर्ण पालना गर्न निर्वाचन आयोग सम्बद्ध सबैसँग आग्रह गर्दछ ।

यदि निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचार संहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेद्वार र व्यक्तिहरूमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुने व्यहोरासमेत सम्बद्ध सबैलाई जानकारी गराइन्छ ।”