समाचार

पूर्वमन्त्री पोख्रेलले भाषण गरेर फर्किएको २४ घण्टा पनि नवित्दै युथफोर्सका कार्यकर्ताको हत्या !

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्वर १ जुँगुमा गएराति माओवादी र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने करिव आधा दर्जन घाईते भएका छन् । गौरीशंकर गाउँपालिका वडा नम्वर १ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुल बहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् । यसैगरी, झडपका क्रममा गौरीशंकर गाउँपालिका वडा नम्वर २ घर भएका एमाले कार्यकर्ता दिल बहादुर बुढाथोकी गम्भिर घाईते भएका छन् । घाईते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

गम्भिर घाईते बुढाथोकी स्थानीय निलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् । दोहोरो झडपमा परि नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भरत खड्का लगाएतका कार्यकर्ता घाईते भएका छन् । चुनाव प्रचारको क्रममा गाउँ पुगेका उम्मेदवार खड्का र पुर्वराज्यमन्त्री एवम माओवादी केन्द्रकी पालिटव्युरो सदस्य देवी खड्का पनि सो घटनामा परेकी छन् । उनी सहभागी चुनावी अभियानमै सो घटना भएको छ । घटना गएराति करिव साँढे ९ बजे भएको हो ।

नेकपा एमाले दोलखाका नेताहरुले भने माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरि ज्यान लिएको बताएको छ । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ भने व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । सोमबार मात्र एमाले नेताहरु आनन्द पोख्रेल, पार्वत गुरुङ लगायतको टोली जुँगु पुगेको थियो । उनीहरुले सो दिन चुनावी आमसभालाई सम्बोधन गरेका थिए । उनीहरुले माओवादीविरुद्ध चर्को आक्रोस समेत पोखेका थिए । एमाले नेताहरु फर्किएको २४ घण्टा पनि नवित्दै सो घटना घटेको हो । एमाले नेता पोख्रेल पूर्व मन्त्री समेत हुन् । माओवादी नेतृ देवी खड्का समेत सो घटनामा देखा पर्नुले घटना शंकास्पद हुन सक्ने धेरैको अनुमान छ । नेतृ खड्का पूर्व राज्यमन्त्री समेत हुन् ।