खेलकुद

युभेन्ट्सले राख्यो यसरी नयाँ कीर्तिमान

एजेन्सी । युभेन्टस च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २–१ ले हराउँदै समग्रमा ४–१ को जितसहित युभेन्टसले फाइनलमा स्थान बनाएको हो । युभेन्टसले च्याम्पियन्स लिग फुटबलको फाइनलमा धेरै पटक पुग्ने इटालिय क्लबको कीर्तिमानसँग बराबरी गरेको छ । पछिल्लो तीन सिजनमा दोस्रो पटक फाइनलमा पुगेको युभेन्टसको समग्रमा यो छैटौं फाइनल यात्रा हो । एसी मिलान पनि ६ पटक फाइनलमा पुगेको छ ।

युभेन्टसले च्याम्पियन्स लिगका सेमिफाइनलमा अहिलेसम्म ३० गोल गरेको छ । उसले बार्यन म्युनिख र रियल मड्रिडको कीर्तिमानसँग बराबरी गरेको हो । बार्यन र रियलले पनि अहिलेसम्म च्याम्पियन्स लिगको सेमिफाइनलमा ३० गोल गरेका छन् । रियल मड्रिडले बुधबार राति हुने एथ्लेटिको मड्रिडसँगको खेलमा गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाउने सम्भावना छ ।

युभेन्टस क्लबको इतिहासमा प्रतियोगितामा पछिल्लो १२ खेलमा अपराजित छ । यसमा ९ खेल जितेको छ भने तीन खेलमा बराबरी भएको छ । युभेन्टसले च्याम्पियन्स लिगमा पछिल्लो ६८९ मिनेटमा पहिलो पटक गोल खाएको छ ।