पु.समाचार

प्रचण्डले दिए मोर्चाका नेताहरुलाई यस्तो आश्वासन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते नै संविधान संशोधन विधेयक अगाडि बढाउने आश्वासन मधेसी मोर्चाका नेताहरूलाई दिएका छन्। सरकारसँगको पूर्व सहमतिअनुसार संविधान संशोधन नभएको भन्दै आन्दोलनको चेतावनी दिएका मोर्चाका नेतालाई दाहालले जेठ ४ गतेसम्म पर्खिदिनु आग्रह गरेका छन्।

बुधबारको अन्नपूर्णमा लेखिएको छ, संविधान संशोधन नभई दोस्रो चरणको निर्वाचनमा भाग नलिने र चुनाव पनि हुन नदिने मोर्चाका नेताहरूको चेतावनीपछि प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सरकार प्रतिबद्ध रहेको स्पष्टीकरण दिएका थिए ।

प्रमुख विपक्षी एमालेसहित मोर्चाका नेताहरूसँग मंगलबार बालुवाटारमा भएको छलफलमा दाहालले चैत १७ गतेको संसद् बैठकबाटै संविधान संशोधन हुने निश्चितजस्तै देखिएका बेला राप्रपाका कारण संशोधन हुन नसकेको प्रष्टोक्ति मोर्चाका नेताहरूलाई दिएका थिए । त्यसदिन एमालेबिनै संशोधनका पक्षमा ४ सय १ पुगेको थियो तर राप्रपाका १० जना सांसद अनुपस्थित भएपछि संशोधन प्रस्ताव रोकिएको हो, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, फेल भएको भए राष्ट्रलाई हानि हुन्थ्यो । त्यसैले संशोधन सार्न लगाइएको हो ।

अब जेठ ४ गते बस्ने संसद् बैठकबाट संशोधन अघि बढाउने आश्वासन दिँदै दाहालले आन्दोलनका कार्यक्रम घोषणा नगर्न मोर्चाका नेतासँग आग्रह गरे। मधेसमा मारिएकालाई सहिद घोषणा, मुद्दा फिर्ता र संविधान संशोधन अघि बढाउँदैछौं । यति धेरै काम गर्दा पनि शंका गर्नेरुु प्रधानमन्त्री दाहालले बैठकमा भनेका थिए, अब पनि शंका गर्नुभयो भने अन्याय हुन्छ ।मोर्चाका नेता राजेन्द्र महतोले भने नौ महिना कुर्दा पनि सकारात्मक उपलब्धि नभएको भन्दै अब मोर्चा चुप लागेर नबस्ने चेतावनी दिएका थिए। मिठो बोली होइन, परिणाम चाहियो, महतोले भने, नौ महिना कुर्यौं , खै त सिन्का भाँच्नुभएन।

बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई लक्षित गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सहयोग गर्न आग्रह गरेका थिए। नेम्वाङले भने मोर्चासँगको छलफलमा एमालेलाई सहभागी नगराउने र बाहिर एमाले संशोधनको विपक्षमा रहेको भन्ने हल्ला चलाउने गरिएको भन्दै असन्तुष्टि जनाएका थिए। नेम्वाङले संविधान संशोधन विधेयक पास भए मात्र चुनावमा आउने भन्ने मोर्चाको भनाइप्रति चासो राखेका थिए। जवाफमा महतोले ुसंशोधन नभई हामी चुनावमा आउँदैनौं, पास हुनुपर्छु भने।

त्यसपछि नेम्वाङले मधेसी मोर्चा संशोधन नभई चुनावमा नआउने, सरकारप्रमुख विपक्षीलाई थाहै नदिई रातारात संशोधन दर्ता गर्ने भन्दै असन्तुष्टि जनाएका थिए। संशोधन विधेयकका विषयमा सरकारले मोर्चासँगको छलफलमा कहिल्यै पनि नबोलाउने र बाहिर एमालेले मानेन भन्दै मोर्चालाई जवाफ दिने गरेको उनले बताए। महतोले अबदेखि एमालेले सिधै बोलाएर छलफल गरे मोर्चा उपस्थित हुने बताए।