पु.समाचार

यस्तो छ महानगरका मेयरहरुको चुनावी प्रचार शैली, कुन पार्टीले कस्तो तयारी गर्दैछन् ?

काठमाडौं । महानगरपालिकाका प्रमुख दलका मेयरका उम्मेदवारले चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचारप्रसारका सबै शैली अपनाएका छन् । योसँगै उनीहरूको व्यस्तता पनि बढेको छ ।
काठमाडौं
कांग्रेस
महानगरमा कांग्रेसबाट मेयरका उम्मेदवार राजुराज जोशीको दैनिकी निकै व्यस्त छ । बिहान ४ बजे उठिसक्छन् । नित्य कर्म सक्दानसक्दै घरमा कार्यकर्ता जम्मा भइसक्छन् । कार्यकर्ता दिनभरको चुनावी प्रचार योजना बनाउन थाल्छन् । उनी भने फोन सम्पर्कमा व्यस्त हुन्छन् । हल्का ब्रेकफास्ट लिएपछि घरदैलो कार्यक्रममा निस्कन्छन् । उनी १२ बजेसम्म घरदैलोमा व्यस्त हुन्छन् । त्यसपछि चुनावी प्रचारप्रसारका लागि खोलिएको बागबजारस्थित कार्यालय पुग्छन् । केही समय अन्तर्वार्ता दिन्छन् । अनि पुनः घरदैलोमा निस्कन्छन् । बुधबारको नयाँ पत्रिकामा लेखिएको छ, उनको घरदैलो राति १० बजेसम्म जारी रहन्छ । ‘साता दिनदेखि व्यस्त सेड्युलमा चल्नुपरेको छ । खाना खाने फुर्सदसम्म छैन । घरदैलो, कोठेबैठक, योजना निर्माण र मिडियासँगको अन्तर्वार्तामै दिन बितेका छन्,’ उनले भने ।

एक सातामा डेढ सय अन्तर्वार्ता
चुनावी प्रचार गर्न उनले मिडिया र सामाजिक सञ्जाल दुवैलाई भरपुर प्रयोग गरेका छन् । सात दिनमा उनले मिडियालाई मात्रै डेढ सयभन्दा धेरै अन्तर्वार्ता दिइसकेका छन् । सामाजिक सञ्जालमा उनकै नाममा फेसबुक पेज छ । पेज अपलोड गर्न कार्मचारी नै खटाएका छन् । ‘चुनाव जसरी पनि जित्नु छ । प्रचारप्रसार नगरी हुँदैन । यसका लागि मिडिया र सामाजिक सञ्जाल दुवै प्रयोग भएका छन्,’ उनले भने ।

एमाले
एमालेबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचारप्रसारका सबै शैली अपनाएका छन् । उनी बिहान ५ बजे नै उठिसक्छन् । कालो चियासँगै उनी अन्तर्वार्ता दिन थाल्छन् । कार्यकर्ता भने दिनभरका चुनावी सेड्युल बनाउँछन् । ६ बज्दानबज्दै घरदैलोमा निस्कन्छन् । मध्याह्न १२ देखि १ बजेसम्म घरदैलो र कोठे बैठक चल्छ । त्यसपछि चुनावका लागि खोलिएको सम्पर्क कार्यालय पुग्छन् । केही बेरपछि पुनः घरदैलो कार्यक्रमका लागि निस्कन्छन् । यो क्रम रातको १० देखि ११ बजेसम्मै चल्छ ।

पार्टीले खोलेको मिडिया सेन्टरमार्फत प्रचारप्रसार
प्रचारप्रसारका लागि उनले मिडिया र सामाजिक सञ्जाल दुवैलाई भरपुर प्रयोग गरेका छन् । दैनिक दर्जनभन्दा धेरै मिडियामा अन्तर्वार्ता दिन्छन् । स्थानीय निर्वाचनका लागि भनेर पार्टीले खोलेको मिडिया सेन्टरमार्फत प्रचारप्रसार गर्न हतपत चुक्दैनन् । उनकै नाममा फेसबुक पेज छ । ‘चुनावमा प्रचारप्रसार गर्न आवश्यक छ । यसका लागि घरदैलोदेखि मिडिया, सामाजिक सञ्जाल प्रयोग गरेको छु । पार्टीले पनि प्रचारप्रसारमा सहयोग गरेको छ । कार्यक्रममा केन्द्रीय तहका नेता पनि सहभागी हुन्छन् । यसले प्रचारप्रसारलाई निकै सहयोग गरेको छ,’ उनले भने ।

माओवादी
माओवादी उम्मेदवार डंगोललाई खाना खाने फुर्सद छैन
माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सर्वोत्तम डंगोल पनि प्रचारप्रसारमा दह्रिलो ढंगले उत्रिएका छन् । चुनावकै लागि भनेर उनी बिहान ५ बजे उठिसक्छन् । बिहान ६ बजदेखि घरदैलो कार्यक्रम सुरु हुन्छ । कोठे बैठक, राजनीतिक भेटघाट र घरदैलो कार्यक्रम सकिँदा दिउँसो १ बज्छ । खानाको कुनै टुंगो छैन । कार्यक्रम सकिएपछि असनमा खोलिएको अस्थायी कार्यालय पुग्छन् । चुनावी प्रचार प्रसारसम्बन्धी रणनीति बनाउँछन् । केही मिडियालाई अन्तर्वार्ता दिएपछि पुनः घरदैलो कार्यक्रम सुरु हुन्छ । रातको १० बजेसम्म उनी घरदैलोमै व्यस्त रहन्छन् । प्रचार प्रसारका लागि मिडिया र सामाजिक सञ्जाल दुवै बराबर प्रयोग गरेका छन् उनले । दैनिक १० भन्दा धेरै अन्तर्वार्ता मिडियालाई दिन्छन् । उनकै नाममा फेसबुक पेज छ । ‘प्रचारप्रसारको जमाना छ । चुनावमा त झन् प्रचारप्रसार निकै आवश्यक छ । सात दिनदेखि यसैमा व्यस्त छु । सामाजिक सञ्जाल पनि प्रयोग गरेको छु । पर्चा पनि छपाएको छु,’ उनले भने ।

साझा पार्टीका उम्मेदवार थापाको हाइटेक प्रचार शैली
साझा पार्टीबाट मेयरका उम्मेदवार किशोर थापाले भने प्रचारप्रसारमा हाइटेक प्रविधिलाई बढी जोड दिएका छन् । घरदैलो कार्यक्रम खर्चिलो र पुरानो शैली भएकाले यसमा त्यति ध्यान नदिएको उनले बताए । विशेषगरी उनले फेसबुक र ट्विटरलाई धेरै प्रयोग गरेका छन् । कार्यकर्तामार्फत महानगरभित्रका मतदातालाई टेलिफोन गरेर भोट माग्ने प्रक्रिया पनि अपनाएका छन् । यसरी उनले दैनिक चार हजारभन्दा धेरै मतदातालाई फोन गर्ने गर्छन् । ‘घरदैलो कार्यक्रम पुरानो शैली हो । यसमा खर्च पनि धेरै छ । त्यसको ठाउँमा हामीले प्रविधि प्रयोग गरेका छौँ । फेसबुक र ट्विटर यसमा धेरै प्रयोग भएका छन् । मिडियासँगको अन्तर्वार्तालाई पनि उत्तिकै प्रयोग गरेका छौँ,’ उनले भने ।

संघीय समाजवादीका बज्राचार्य घरदैलो र सामाजिक सञ्जाल दुवैमा सक्रिय
संघीय समाजवादी फोरम तथा नयाँ शक्ति नेपालका तर्फबाट मेयरका उम्मेदवार पवित्र बज्राचार्यले पनि चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । घरदैलो, मिडिया तथा सामाजिक सञ्जाल सबैलाई उनले प्रयोग गरेका छन् । बिहान ६ बजेदेखि नै उनको घरदैलो कार्यक्रम सुरु हुन्छ । यो क्रम बेलुका १० बजेसम्म नै चल्छ । ४० भन्दा धेरै मिडियामा उनले अन्तर्वार्ता दिइसके । सामाजिक सञ्जालका लागि उनको आफ्नै नाममा फेसबुक पेज छ । ‘प्रचारप्रसार नगरी चुनाव जित्न सकिन्न । यसका लागि घरदैलोदेखि मिडिया प्रयोग गरेको छु । अन्तर्वार्ता दिन्छु । फेसबुक प्रयोग गर्छु । प्रचारप्रसारका लागि कार्यालय पनि छ । साथीहरू यसमा सक्रिय छन्,’ उनले भने ।

ललितपुर
उम्मेदवारहरू बिहान– बेलुका घरदैलोमा
ललितपुर महानगरपालिकाका प्रमुख दलका मेयरका उम्मेदवारहरूले चुनाव प्रचारप्रसारलाई तीव्र बनाएका छन् । दिउँसो चर्को गर्मी भएपछि उम्मेदवारहरूले बिहान र बेलुकाको समयलाई घरदैलो प्रचारप्रसारका रूपमा उपयोग गर्ने गरेका छन् । महानगरमा मेयरका उम्मेदवार तीनैजना नेवार समुदायका भएकाले आफ्नो पक्षमा मत पार्न उनीहरू सक्रिय ढंगले लागेका छन् । सबै क्षेत्रमा पुग्ने गरी कार्यतालिका बनाएका छन् । ललितपुर महानगरका २९ वडामा कुल १ लाख १२ हजार ९ सय २२ मतदाता छन् । महानगरको मेयरमा दलका र स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसका मेयर उम्मेदवार महर्जन बिहानदेखि रातिसम्म घरदैलोमै
महानगरमा कांग्रेसबाट चिरिबाबु महर्जन मेयरका उम्मेदवार हुन् । बिहान ७ देखि राति साढे ११ बजेसम्म घरदैलो कार्र्यक्रम गर्दै आएको उनी बताउँछन् । पार्टीले बनाएको कार्यतालिकाअनुसार चुनाव प्रचारप्रसार गर्ने गरेको महर्जनले बताए । मत आफ्नो पक्षमा पार्न महर्जन कोणसभा, भेला, अन्तक्र्रियामा सहभागी हुने गरेका छन् ।

मतदाताको अनुकूलता हेर्दै प्रचारमा एमाले उम्मेदवार व्यञ्जनकार
ललितपुर महानगरबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले मतदाताको अनुकूलता हेरेर चुनाव प्रचारप्रचार गर्दै आएका छन् । महानगर सहरी क्षेत्र भएकाले मतदाताको अनुकूलता हेरेर घरदैलो तथा भेटघाट गर्ने गरेको व्यञ्जनकारले बताए । बिहान ४ बजे नै उठेर आफ्ना कार्यक्रम बनाएर प्रचारप्रसारमा लागेको उनले बताए । उनी पनि बिहान ७ देखि राति ११ बजेसम्म घरदैलो तथा भेटघाटमा व्यस्त छन् । दिउँसोको समयमा बिहान बेलुका भेट्न नसकेका मतदातालाई भेट्ने गरेको व्यञ्जनकारले बताए । वडा वडामा मोटरसाइकलसँगै पैदल प्रचारप्रचारमा लागेको उनको भनाइ छ ।

माओवादीका उम्मेदवार दीपेश आक्रामक ढंगले प्रचारप्रसारमा
ललितपुर महानगरबाट माओवादी केन्द्रका मेयर उम्मेदवार दिनेश महर्जन दीपेशले नियमित कार्यतालिका बनाएर प्रचारप्रसारलाई आक्रामक बनाएका छन् । बिहान ७ देखि ११ बजेसम्म र बेलुका ३ देखि ५ बजेसम्म घरदैलो, कोणसभा र अन्तरक्रियायामा सामेल हुने गरेको उनले जनकारी दिए । दिउँसोको खाली समयमा मतदातालाई प्रत्यक्ष रूपमा भेटेर आफ्नो पक्षमा मत पार्न लाग्ने गरेका छन् । चुनाव प्रचारप्रसार गर्दा माओवादीले भौगोलिक अवस्थाअनुसार गाडी र मोटरसाइकलको व्यवस्था गरेको छ । सहरको सुन्दरतालाई मध्यनजर गर्दै पर्चा, पम्प्लेट, ब्यानर कम प्रयोग गरिएको दीपेशले बताए । सूचना प्रविधिको विकासले मत आफ्नो पक्षमा पर्ने भएकाले समाजिक सञ्जाललाई पनि व्यापक रूपमा प्रयोग गरिएको छ ।

भरतपुर
घरदैलो, कोणसभा, र्याली, माइकिङको प्रचार शैली
भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । कांग्रेसले माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको छ । माओवादीले उपप्रमुखमा कांग्रेस उम्मेदवार पार्वती शाहलाई समर्थन गर्ने भएको छ । तालमेलपछि दुवै पार्टीले संयुक्त रूपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

घरदैलो, कोणसभा, र्याली, माइकिङको प्रचार शैली
महानगरमा उम्मेदवारसहित घरदैलो, कोणसभा, र्याली, माइकिङ गर्दै प्रचारप्रसारमा कांग्रेस र माओवादी केन्द्र लागिरहेका छन् । माओवादी केन्द्र र कांग्रेसले संयुक्त सभा र घरदैलो गरिरहेका छन् ।

प्रचारप्रसारका लागि धेरै दिन बाँकी नरहेकाले शीर्ष नेता नै ल्याएर संयुक्त चुनावी सभा गर्न लागेका हुन् । संयुक्त रूपमा गरिने प्रचारप्रसारबाहेक दुवै दलले सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्ट्राग्राम, भिडियो सेयरिङ साइट, युट्युबबाट आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन् । संयुक्त रूपमा घरदैलो गर्नेदेखि झन्डै एक सय कोणसभा यी दुई दलले गरिसकेका छन् । जिल्लामा आठ सदस्यीय चुनाव परिचालन समिति गठन गरेर यसअन्तर्गत चुनाव प्रचार गरिरहेका छन् । प्रचारमा उम्मेदवारहरू बिहान सात बजेदेखि बेलुका ६ बजेसम्म खटिँदै आएका छन् ।

देउवा चितवन पुग्दै
चुनावी प्रचारका लागि कांग्रेस सभापति शेरबहादुर देउवा चितवनको भरतपुर पुग्ने भएका छन् । ‘सभापति भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्दै हुनुहुन्छ,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने । सोही सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गर्ने माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए ।

कति ठाउँमा कस्ता कार्यक्रम
कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ संयुक्त रूपमा प्रचारप्रसार भइरहेको भन्दै बिहीबार संयुक्त सभा गर्ने तयारी भएको बताउँछन् । ‘तालमेलपछि पनि हामीले माओवादीसँग मिलेर संयुक्त प्रचारप्रसार गर्दै आएका छौँ,’ गुरुङले भने, ‘शीर्ष नेता नै बोलाएर बिहीबार संयुक्त सभा गर्ने तयारी छ ।’

भरतपुरलाई देशकै आकर्षण केन्द्र बनाउँछु: रेणु दाहाल
भरतपुर महानगर देशकै मध्यभागमा छ । र, यो देशकै आकर्षणको केन्द्र पनि हो । यो महानगरलाई आधुनिक र समुन्नत बनाउने उद्देश्यले प्रमुखमा उम्मेदवारी दिँदै अघि बढेकी हुँ । महानगरलाई देशकै नमुना, व्यवस्थित र आधुनिक बनाउँदै प्रशस्तै सम्भावनाको महानगर बनाउने संकल्पले हामी अघि बढेका हौँ । चितवनलाई शिक्षा, स्वास्थ्य र कृषिको केन्द्र बनाउने मेरो लक्ष्य छ । सहरीकरणलाई व्यवस्थित बनाउन सहरलाइ केन्द्रित गरेर भित्री र अर्को बाहिरी चक्रपथको योजना ल्याएका छौँ । देवघाटदेखि गोलाघाटसम्म जलयात्राका लागि कार्यक्रम चलाएर पर्यटकीय क्षेत्रलाई विस्तार गर्ने, खाली भूमिलाई पर्यटकीय गन्तव्य बनाउने र चितवनलाई राष्ट्रिय तथा अन्तर्राट्रिय क्षेत्रमा परिचित बनाउने योजना हाम्रो छ । सडक, पानी, बिजुली, सिँचाइलाई थप व्यवस्थित बनाउनेछौँ ।

भरतपुरमा एमालेको चुनावी प्रचार
भरतपुर महानगरमा दुई ठूला दल कांग्रेस–माओवादी केन्द्रबीच तालमेल भएपछि एमालेले मतदाता आकर्षित गर्न पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गरेको छ । दुई दलबीचको केन्द्रीय तहको तालमेल नीतिपछि एमालेले कांग्रेसको असन्तुष्ट मत तान्न आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरेको हो । एमालेबाट केन्द्रीय सल्लाहकार कमिटी सदस्य देवी ज्ञवाली मेयर तथा विद्या बज्राचार्य उपमेयरको उम्मेदवार छन् । ‘कांग्रेस र माओवादी केन्द्रको तालमेलपछि जनतालाई स्थानीय उम्मेदवार छान्ने कि नवआगन्तुकलाई छान्ने निर्णय गर्न झन् सहज भएको छ,’ चुनावी परिचालनका प्रचार संयोजक शालिग्राम नेपालले भने, ‘हाम्रा उम्मेदवारले घोषित रूपमै शक्तिको आडमा उम्मेदवार बनेर आउने पर्यटकलाई होइन, स्थानीय माटोमा हुर्किएको, रगत, पसिना बगाएको स्वच्छ छविको इमानदार उम्मेदवार छान्नुस्, म सबै पार्टीका साथीहरूको भावना कदर गर्दै अघि बढ्छु भन्ने मतदाताबीच प्रतिबद्धता जनाइरहनुभएको छ ।’

एमालेले चुनावी प्रचार अभियानलाई तीव्रता दिँदै दैनिक ४ देखि ५ वटासम्म कोणसभा र जनसभा गर्दै पार्टीको योजना र दृष्टिकोण प्रस्तुत गरिरहेको छ । एमालेले मेयरका उम्मेदवार ज्ञवाली पूर्वजनप्रतिनिधिका रूपमा अनुभव बटुलिसकेको, पार्टीका तर्फबाट नगर संयोजकको हैसियतमा महानगरपालिका घोषणाको अगुवाइ गरेकाले चुनाव जित्न सहज भएको आँकलन गरेको छ ।

ओलीको उपस्थितिमा आमसभाको तयारी
मंगलबारसम्म महानगरपालिकाको १० र २९ वडाबाहेक सबै वडामा चुनावी प्रचार, घरदैलो र कोणसभा कार्यक्रम सम्पन्न गरेको एमालेले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चौबिसकोठीमा बृहत् चुनावी आमसभा गर्ने तयारी गरेको छ । तालमेल बलियो बनाउँदै गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई जिताउन बुधबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा सभा गर्ने तयारी गरेपछि एमालेले पनि ‘काउन्टर’मा सोही दिन बृहत् चुनावी सभाको तयारी गरेको हो । यद्यपि, अध्यक्ष ओलीलाई उपस्थितिका निम्ति आग्रह गरिए पनि समय व्यवस्थापन भइनसकेको मेयरका उम्मेदवार ज्ञवालीले जानकारी दिए ।

चितवनवासीले माटो हातमा लिएर निर्णय गर्नेछन्
देवी ज्ञवाली, मेयरका उम्मेदवार, एमाले
चुनावी प्रचार र घरदैलो कार्यक्रमअन्तर्गत दैनिक ४–५ वटा जनसभा गरी पार्टीको दृष्टिकोण र योजना प्रस्तुत गरिरहेका छौँ । कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भए पनि कसलाई मत खसाल्ने भन्नेमा चितवनका जनता धेरै सचेत छन् भन्नेमा म पूर्ण विश्वस्त छु । लामो समय चितवनमै राजनीति गरेको र उपमेयरका रूपमा पूर्वजनप्रतिनिधिका रूपमा काम पनि गरिसकेका कारण यहाँका जनताले माटो हातमा लिएर अन्तरआत्माबाटै निर्णय गर्नेछन् भन्ने मलाई लागेको छ । महानगरपालिका घोषणामा मैले खेलेको भूमिकाबारे भरतपुरवासी जनता जानकार हुनुहुन्छ भन्ने मलाई लागेको छ । उहाँहरू सबैको भावनाको कदर गर्दै भरतपुरको विकास र समृद्धिका निम्ति म अघि बढ्नेछु ।

यसरी प्रचार गर्दै छ राप्रपा
राप्रपाले महानगरका प्रत्येक वडामा कम्तीमा पाँच स्थानमा कोणसभा गरी मेयर र उपमेयरलाई आफ्ना एजेन्डासहित सम्बोधन गर्न लगाइरहेको बताएको छ । घरदैलो गर्ने जिम्मेवारी भने वडा समितिलाई दिइएको प्रमुखमा उम्मेदवारी दिएका बद्रीप्रसाद तिमल्सिनाले बताए । बिहान ७ देखि बेलुका ८ बजेसम्म प्रचारप्रसारका कार्यक्रममा हिँडिरहेको तिमल्सिनाको भनाइ छ । प्रचारप्रसारका क्रममा लाग्ने खर्च भन्ने जुन वडामा पुग्यो, त्यहीँका साथीले व्यहोरिरहेको उनले बताए । ‘अहिलेसम्म मैले पकेटको पैसा खर्च गरेको छैन, जहाँ प्रचारप्रसारमा पुग्यो त्यहीँका साथीले खर्चको म्यानेज गरिरहनु भएको छ,’ तिमल्सिनाले भने ।

अब्बल छु, सेवाको अवसर दिनुस्: राप्रपाको मेयरका उम्मेदवार बद्रीप्रसाद तिमल्सिना
अन्यभन्दा राष्ट्रवादी पार्टीको सक्षम उम्मेदवार भएकाले जनताले माया गरेर जिताउँछन् भन्ने लागेको छ । म यहाँका जनताको सेवामा ०३६ सालदेखि नै क्रियाशील छु । ०६२ सालमा जिल्ला विकास समितिको उपसभापतिमा जनताले निर्वाचित बनाएपछि मैले उहाँहरूको चाहनाअनुरूप काम गरेर खुसी बनाएकाले अहिले पनि मलाई सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने आशा लिएको छु । भरतपुर महानगरलाई अन्य उम्मेदवारले भन्दा अब्बल छु भन्ने मेरो मत छ ।
पोखरा
योजना राख्दै प्रचारमा
देशकै सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरमा चुनावी प्रचारप्रसार उत्कर्षमा पुगेको छ । प्रमुख दलका उम्मेदवारहरूले सहरका टोलटोल चहार्दै आफूले जितेमा सहरलाई सुन्दर, सफा, समृद्व बनाउने योजना सुनाइरहेका छन् । पोखरा–लेखनाथ महागरमा ३३ वडा समावेश छ ।
मेयरका उम्मेदवारहरूले एकैदिन कम्तीमा चार वडाका चुनावी सभालाई सम्बोधन गर्न भ्याएका छन । उम्मेदवारहरूले दिनभर आफूले गरेका गतिविधि र माग फेसबुक, पत्रपत्रिका, रेडियो, टेलिभिजनमार्फत जनतासामु पुयाउने गरेका छन् ।

यस्तो छ कांग्रेस–माओवादी केन्द्रको तयारी
पोखरा लेखनाथ महानगरको मेयरमा सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले तालमेल गरेका छन् । मेयरमा कांग्रेसका रामजी कुँवरलाई माओवादीले समर्थन गरेको छ । उपमेयरमा दुवै दल छुट्टाछुट्टै लडेका छन् ।

कांग्रेसबाट मेयरमा उठेका कुँवर बिहानैदेखि साँझ अबेरसम्म कार्यकर्ताका साथ वडावडामा पुगेर मत माग्न व्यस्त छन् । बिहान घाम नझुल्कँदै उठेका उनी सहयोगीमार्फत चुनावी कार्यक्रमबारे जानकारी लिएपछि पुग्ने ठाउँको पहिचान गरी सोहीअनुसार सम्बोधन गर्ने तयारी गर्दछन् । निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएदेखि नै दिनरात व्यस्त उनले महानगरका अधिकांश वडामा मत मागिसकेका छन् ।
उनले विशेषगरी सभामा मजदुरको हकहितको मुद्दासँगै विकास, निर्माण र सुशासनका पक्षलाई उठाउँदै आएका छन् । मजदुरको हकहितका लागि बिमा तथा सामाजिक सुरक्षाको प्रतिबद्धता जनाउँदै सुमधुर औद्योगिक सम्बन्ध कायम गर्ने घोषणा गरेका छन् । ‘मजदुरको दुर्घटना बिमा, स्वास्थ्य बिमालगायतका अन्य बिमा गरेर सुरक्षाको प्रत्याभूति गराउने छौँ,’ कुँवरले भने ।

एमाले उम्मेदवार खानेपानी योजनामा केन्द्रित
पोखरा लेखनाथ महानगरमा एमालेका मेयर उम्मेदवार मानबहादुर जिसी झिसमिसेमै उठेदेखि अघिल्लो रात बनाएको योजनालाई कार्यान्वयन गर्न चुनावी मैदानमा खटिएका हुन्छन् । महानगरका हरेक वडमा पुगेका उनी पार्टीका राष्ट्रियदेखि स्थानीय तहमा पकड जमाएका नेता–कार्यकर्तासँगै सभा र समारोहमा पुगेर मत माग्दै गरेका छन् । मंगलबार एमाले पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनले गरेका चुनावी सभामा पुगेका उनले स्वच्छ खानेपानी, प्रविधि र सेवाग्राहीमैत्री महानगर, उद्यमशील सहर निर्माण, वातावरणमैत्री सहर र दिगो मोडेलको विकास योजना साकार पार्ने घोषणा गरे ।

‘स्वच्छ खानेपानी नपाएर बिरामी भई लाखौँ रुपैयाँ खर्च गरेर उपचार गर्नुपरेकाले स्वच्छ पिउने पानीको अधिकार महानगरवासीलाई दिलाएरै छाड्छु,’ उनले भने । उनले उद्यमशीलताको विकास, फोहोरमैलाको व्यवस्थापन, जनताका गुनासा र समस्यालाई २४ घन्टाभित्र समाधान गर्न इमर्जेन्सी रिपियर टिम बनाएर काम गर्ने बताए ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल
संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालका संयुक्त उम्मेदवार हुमबहादुर तमू पनि दिनरात चुनावी मैदानमा मत माग्न व्यस्त छन् । संघीय समाजवादी र नयाँ शक्तिका कार्यकर्तासँगै मिलेर उनी वडावडामा पुगेर मत माग्दै हिँडेका छन् । मेयरमा आफूले जिते महानगरलाई कला, संस्कृति, प्रविधि, विकास, रोजगारीको सहर बनाउने उनको दाबी छ । तमुवान संयुक्त संघर्ष समिति संयोजक रहेर विभिन्न संघसंस्थामा तमूले महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

राप्रपा
राप्रपाबाट पोखरा लेखनाथ महानगरकी मेयर उम्मेदवार गीता गुरुङ पनि मत माग्न व्यस्त छिन् । राप्रपा देशको एक मात्र राष्ट्रवादी पार्टी भएको बताउँदै उनले राष्ट्रियता बचाउन आफ्नो पार्टीलाई मत दिन अनुरोध गर्दै आएकी छिन् । चुनावी माहोल तताउँदै पार्टीलाई अघि बढाउन पोखरा लेखनाथ महानगरका अधिकांश वडामा घरदैलो र चुनावी सभा जारी रहेको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले बताए । राप्रपाको घरदैलोमा स्थानीय नेता र कार्यकर्ता सहभागी हुँदै आएका छन् ।