विचार/ब्लग

यसरी जन्मियो हरिबंश आचार्यको दोश्रो पुस्तक हरिबहादुर, यस्तो छ अनौठो रहस्य !

काठमाण्डौ । नेपालका चर्चित हास्य कलाकार हरिवंश आचार्य नेपालीहरुको ओठमा झुण्डिरहने लोकप्रिय नाम हो । चर्चित हाँस्य टेलिसिरियल १५ गते, लालपुर्जा हुँदै मदनबहादुर हरिबहादुरसम्म निर्माण गरेर चर्चित भएका उनी पछिल्लो समयमा लेखकको रुपमा समेत चिनिएका छन् । केही वर्षअघि ‘चिना हराएको मान्छे’ नामक पुस्तक बजारमा ल्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका आचार्यले शनिबार फेरि अर्को पुस्तक बजारमा ल्याएका छन् । हरिबहादुर नाम दिइएको सो पुस्तकले कस्तो बजार लिन्छ त्यो भने हेर्न नै बाँकी छ । तर आचार्यको दोश्रो पुस्तक हरिबहादुर कसरी निर्माण भयो ? र सो पुस्तक लेख्न कसले प्रेरणा दियो ? त्यो बारे लेखक हरिबंश आचार्यले केही कुराहरु खोलेका छन् । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।

हरिबहादुर पुस्तक कसरी जन्मियो ? यसो भन्छन् हरिबंश आचार्यः
किताबलाई खान दिनु पर्दैन । लाउन दिनु पर्दैन । घरमा एउटा सानो ठाउँमा बस्न दिए पुग्छ । किताब कहिल्यै रिसाउँदा पनि रिसाउँदैन । घुर्की पनि लगाउँदैन । किताबले कहिल्यै झगडा गर्दैन । मुख पनि फर्काउँदैन । किताबलाई चाहेको बेला पल्टाएर पढ्न सकिन्छ र बन्द गरेर राख्न सकिन्छ । किताबलाई पलङकै टाउकोमा राखेर सुते पनि उसले केही दुःख दिदैन । पलङबाट खस्यो भने पनि चिच्याएर रुँदैन । किताबाट घण्टौ कुरा गरेर बस्न सकिन्छ । त्यसैले किताबलाई बेस्ट फ्रन्ड भन्छु म ।

मेरो घरको किताब राख्ने र्याकमा मेरा पनि थुप्रै बेस्ट फ्रेन्ड छन् ।म तिनीहरुसँग घण्टौ कुरा गरिरहन्छु । मेरो चिना हराएको मान्छे पुस्तकले पनि धेरैको घरको बुक र्याकमा बस्ने मौका पाएका छ । हामीले वर्षौअघि निर्माण गरेको १५ गत, लालपुर्जा, वनपाले,चिरिञ्जीवी, सुरबेसुर टेलिचलचित्रहरुको कुरा नेपालीहरुका जमघटमा सुन्न पाइरहन्छौ । प्रहसन चलचित्रहरुमा मात्र रमाइरहेका हामी चिना हराएको मान्छेको प्रकाशनपछि देश विदेश जहाँ गए पनि नेपालीहरुको मुखबाट किताबको कुरो सुन्न पाउँदा चलचित्र प्रहसनजतिक्कै यो पनि बलियो रहेछ भन्ने थाहा भयो ।

न्यरोडको फुटपाथमा किताब फिँजाएर बेच्ने फुटपाथे साहू मलाई देख्दा कराउँदै भन्छन्, दाई चिया खान आउनुस्, मले तपाइँको किताब धेरै बेचेँ, अझ पनि बेच्दै छु ।  उनको खुसी देख्दा र सुन्दा, देश–विदेशका नेपालीहरुले अब तपाईको अर्का किताब कहिले आउँछ भनी गरेको प्रश्न सुन्दा सुन्दा मलाई उर्जा प्राप्त भएको छ । मलाई चिना हराएको मान्छे लेख्न सँधै घचघचाई रहने मेरा आत्मीय भाई साहित्यकार रवीन्द्र समीरले अर्को किताब पनि लेख्नुपर्छ भनी दोहोर्याइरहेपछि मैले फेरि कलम समात्ने निर्णय गरेको हुँ ।

चिना हराएको मान्छे लेख्दा मैले विषय सोच्न परेन । जिन्दगीमा भोगेका घटना नै विषय थिए । अब नयाँ पुस्तक लेखदा त विषय चाहियो । विषय के ? उपन्यासका आधारमा धेरै चलचित्रहरु बनेका छन् । तर चलचित्रका आधारमा उपन्यास ? यस्तो मैले कहिल्यै देखेको छैन । उसो भए आफै देखाइदिने कि त ? मेरो मन तरंगित हुन्छ ।

मदनबहादुर हरिबहादुर टेलिचलचित्रका आधारमा उपन्यास लेखौ, यसो गरे कसो होला ? एउटा मनले भन्छ, हुँदैन अर्को मनले भन्छ, हुन्छ । आफ्नै चलचित्रका आधारमा उपन्यास लेख्दा मलाई कारबाही त हुँदैन होला । मदनबहादुर हरिबहादुरको लेखन म आफैंले गरेको हुनाले मैले कसैसँग स्वीकृति लिनुपर्दैन । आफ्नो मनले स्वीकृति दिए पुगिहाल्छ । मेरो मनले स्वीकृति दियो,मदनबहादुर,हरिबहादुर टेलिचलचित्रका आधारमा तँ उपन्यास लेख्न पाउँछस् हरिबंश, लेख ।

रातमा उज्यालो र दिनमा अँध्यारो हुँदैन । हरिबहादुर रात हो तर उसको चरित्रमा उज्यालो पनि मिसिएको छ । हाँसो र रिस एकै ठाउँमा अटाउँदैन तर हरिबहादुरको चरित्रमा हाँसो र रिस दुवै अटाउँछ । उसलाई देखेर,चिमोटौ, कोपरौ र भुत्ल्याएर लडाइदिउँजस्तो हुन्छ । तर हाउँभाउ बोलीचाली हेर्दा हाँसो उम्लिन्छ पनि ।

हरिबहादुर असफलता र मुर्खताको प्रतिक हो । उ आफूलाई संसारको सबैभन्दा बाठो ठान्छ तर जहाँ पाइला टेकेपनि दश बल्ड्याङ खान पुग्छ । नकचारो, थेच्चरो, काइते, बदमास, भडुवा, स्वाँठ, कुलङ्गार, आवरा यस्ता धेरै लक्षणले युक्त भएको मान्छे बन्यो हरिबहादुर । यति धेरै दिमाग घुमाएर हिँड्ने हरिबहादुरले त्यो दिमागलाई सही तरिकाले घुमाउन सकेको भए नेपाल मात्र होइन, संसार हाँक्न सक्ने व्यक्ति हुन्थ्यो । हरिबहादुर टुकुचा खोलाजस्तै भयो । पानी हो तर नाली मिसियो ।

तोते बोली बोल्ने बालक हरिबहादुरलाई देखेर रातोमाटे गाउँका मान्छेहरु भन्थे, यो जस्तो चलाख बच्चा हाम्रो गाउँमा कोही पनि छैन । अधबैंशे हरिबहादुरलाई देखेर भने, यो जस्तो काइते मान्छे यो गाउँमा कोही छैन ।  काइते चरित्र भएका मान्छेहरुले अरुको सम्पतिमा आँखा लागाएर थुप्रै सम्पति जोड्न सक्छन् । तर हरिबहादुरले केही पनि जोड्न र जोगाउन सक्दौ । हरिबहादुर काइते नभएर बुद्धि घाइते भएको चरित्र हो । उसले सम्पत्ति त के आफ्नो शरीरसमेत राम्ररी जोगाएर राख्न सक्दैन ।

मेरो बसाई बूढानीलकण्ठको कम्फर्टं हाउजिङमा थियो । माओवादी द्धन्द्ध शान्ति प्रक्रियामा परिणत भैरहेको थियो । शान्ति प्रक्रिया, द्धन्द्ध समाधान, जातीय सद्भावको सन्देश बोकेको ५४ भागको टेलिचलचित्र निर्माण गर्ने काम महसञ्चारले प्राप्त गर्यो । टेलिचलचित्र लेखनको काम महसञ्चारबाट मैले पाए ।

म बिहान ६ बजेदेखि कलम र कापी लिएर लेख्न बस्थे । मीराले कालो चिया, ब्लडप्रेसरको ओखती, हट लेमन, नास्ता र बेला बेलामा ग्रीन टी ल्याइदिन्थिन् । म कहिले बसेर, कहिले घोप्टो परेर, कहिले ओछ्यानमा पल्टेर लेखिरहन्थे । कहिले कुरा नआएर उतानो परेर छट्पटाउँदै रन्थनिन्थे । कहिले एकैपल्ट धेरै कुरा आएर आतिन्थे । बिहानको खाना, दिउँसोको खाजा खाएपछि बिहान गर्नुपर्ने वाक नगरी साँझ चार–पाँच बजे इभिनिङ वाकमा निस्कन्थे । ती सबै अब सम्झना मात्र भए । आँखा टिलपिलाउने याद मात्र भए ।

लेख्दालेख्दै नेगेटिभ र पोजेटिभ चरित्र भएको कथा तयार भयो । नेगेटिभ चरित्र बोकेको पात्रको नाम राख्न ज्यादै गाह्रो लाग्छ । सकेसम्म नकरात्मक पात्रको नाम अरुसँग नजुधोस् जस्तो लाग्छ । मैले आफ्नै आधी नाम सापट लिएर पात्रको नाम हरिबहादुर बनाए । सकारात्मक पात्रको नाम मदनबहादुर राखेँ । नेगेटिभ र पोजेटिभ भएपनि बत्ती बल्छ । मदनबहादुर हरिबहादुर टेलिचलचित्र पनि बत्तीझै बल्यो ।
नेपाल, भारत, बर्मा संसारभरि गरी लाखौं हरिबहादुर होलान् । तर,संसारको कुनै पनि हबिहादुरको चरित्रसँग यो हरिबहादुरको चरित्र मिल्दैन । यदिन मिलेछ भने मेरै चरित्रसँग मिल्ला । कसैसँग मिल्यो भने संयोगमात्रै हो भन्ने चलन छ ।

यो उपन्यास मदनबहादुर हरिबहादुर टेलिचलचित्रको हुबहु होइन । त्यस टेलिचलचित्रका १५ प्रतिशतजति दृष्य मिल्छन् ।  अहिले यो पुस्तक लेख्दा म बुढानीलकण्ठबाट बालकोट आइपुगेको छु । मीराको ठाउँमा रमिला आशा भएर आएकी छन् । अहिले पनि लेख्न बस्दा ब्ल्याक टी, ब्लडप्रेसरको ओखती, खाजा र ग्रीन टी रमिलाले ल्याइदिन्छिन् । भित्तामा झुण्डिएको मीराको तस्बीरले सबै दृष्य हेरिरहेको हुन्छ ।

म बोल्दा ह्रस्व–दीर्घ,आकार–उकार,अल्पविराम,पूर्णविराम मिलाएर बोल्न सक्छु । तर, लेख्दा धेरै गल्ती हुन्छन् । महसञ्चारका सम्पादक गणेश कँडेलले धेरै मिहिनेत गरी टाइप गरिदिएपछि श्रीमती रमिला पहिलो, छोरा मोहित दोश्रो र त्रिलोक तेश्रो पाठक भए । श्रीमती र छोराहरुलाई त राम्रो लागिहाल्छ ।

मेरो भाई रवीन्द्र समीरले पाण्डुलिपि पढेर ‘म त ह्याङ भए’ भनेर प्रतिक्रिया दिएपछि मेरो मन बलियो भयो । लेखक जुगल भूर्तेल र अमर न्यौपानेलाई पढ्न दिएँ । उहाँहरुले दिनुभएको प्रतिक्रिया शिरोधार्य गरे । लेखक भाई विमल आचार्य र इश्वरी ज्ञवालीले पुस्तक सम्पादन गरिदिनुभयो र फाइन प्रिन्टले प्रकाशनमा भूमिका खेलिदिए पछि यो पुस्तकको विधिवत रुपमा जन्म भयो ।