खेलकुद

अष्ट्रेलियामा अशोकले प्राप्त गरे स्वर्ण पदक

काठमाडौं । नेपाली खेलाडी अशोक खड्काले अस्ट्रलियाको गोल्डकोस्टमा भएको गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन शनिबार स्वर्ण जितेका छन् । गोल्डकोस्टको करारा रंगशालामा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा अशोकले नेपाललाई स्वर्ण दिलाए ।

उक्त स्पर्धामा विभिन्न १४ राष्ट्रका १४ खेलाडी सहभागी थिए । अशोकले सबै प्रतिद्वन्द्वीलाई पछि पार्ने क्रममा १० पूर्णाङकमा सर्वाधिक ९.१६ अंक ल्याए । न्युजिल्यान्ड र आयोजक राष्ट्र अस्ट्रेलयाका खेलाडी क्रमशः दोश्रो र तेश्रो भएका थिए ।

गोल्डकोस्ट तेक्वान्दो संघको आयोजनामा भइरहेको प्रतियोगिता सोमबारसम्म जारी रहनेछ । उक्त प्रतियोगिता नेपालबाट सहभागी हुने अशोक एक्ला खेलाडी हुन् । आयोजक गोल्डकोस्टले अशोककै नेतृत्वमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) लाई सहयोग स्वरुप १० थान किक प्याड समेत उपलब्ध गराएको बताइएको छ ।

प्रतियोगितामा भाग लिनुअघि सिडनीमा भएको क्योरोगी सेमिनारमा पनि अशोक सहभागी भएका थिए । अशोक मे १२ तारिखमा स्वदेश फर्कने कार्यक्रम छ ।