राजनीति

यसकारण नउठ्ने भए लालबाबु पण्डित विराटनगरको मेयरमा, यस्तो छ भित्री रहस्य !

काठमाण्डौ । एमाले नेता लालबाबु पण्डितले स्थानीय राजनीतिमा नफर्किने जनाएका छन् । पछिल्ला दिन गृहजिल्ला मोरङ र त्यहाँस्थित विराटनगर उपमहानगरपालिकाको मेयरमा पण्डितले उम्मेद्वारी दिने चर्चा चलेसँगै उनले सो प्रतिक्रिया दिएका हुन् । प्रदेश नं.१ मा पर्ने क्षेत्रको स्थानीय चुनाव जेठ ३१ गतेका लागि तोकिएको छ । नेता पण्डितले विराटनरको स्थानीय राजनीतिमा किन फर्किन चाहेनन् ? त्योबारे हामीले उनीसँग केही जिज्ञासा राखेका थियौ ।

पण्डितले मुलुकमा राष्ट्रियताको मुद्धा उत्कर्षमा पुगिरहेका बेला आफु स्थानीय राजनीतिमा फर्किनुभन्दा पनि केन्द्रीय राजनीतिमार्फत नै राष्ट्रियताको मुद्धालाई स्थापित र संरक्षण गर्न लाग्ने बताए । सुर्यखबर डट कमसँगको प्रतिक्रियामा उनले पार्टीका धेरै नेता र कार्यकर्ताहरुको सुझावका कारण पनि आफुले विराटनगरको मेयरमा (स्थानीय राजनीतिमा) उम्मेद्वारी नदिने बताए । उनलाई उम्मेद्वारी दिनका लागि आग्रह गर्ने र केन्द्रीय राजनीतिबाटै भूमिका खेल्न सुझाव दिनेहरुको निकै ठूलो पंक्ति देखिएको छ । तर उनले विराटनगर उपमहानगरको नेतृत्व नगरी त्यसका लागि केन्द्रीय राजनीतिमार्फत र बाहिरी रुपमा पूर्ण सहयोगीको रुपमा भूमिका खेल्ने बताए ।

आफुलाई विराटनगरको मेयरमा उठ्न केन्द्रीय नेतृत्वको आंशिक दबाब परेको र बढीचाहि स्थानीय नेतृत्वले आउन दबाब दिएको समेत पण्डितले स्पष्ट पारे । उनले विराटनगरलाई महानगरपालिका बनाउने काममा सत्तारुढ दलहरुबाट असहयोग भएको र अन्तमा उपमहानगरपालिकामै थन्किएको गुनासो समेत उनले गरे, तर पछिल्लो समयमा भने सबै दलहरु विराटनगरलाई महानगरनै बनाउनुपर्छ भन्नेमा सचेत हुँदै गएको उनले बताए । यही बीचमा आफुलाई विराटनगरका सबै स्थानीय राजनीतिक पार्टी, उद्योगी,व्यावसायी,बौद्धिक व्यक्तित्वहरुले आफुलाई विराटनगरलाई महानगर बनाउनका लागि पहल गर्न निकै ठूलो दबाब दिएको उनले बताए ।

फरक प्रसंगमा उनले पछिल्लो समयमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको खुलेर विरोध गरे । उनले भने, ‘नेपालमा दण्डहिनता मौलाएको अवस्था छ, कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षले पनि यसको नेतृत्व गर्ने गरेको देखिन्छ । म दण्डहिनताको विरोधी हुँ । कुनै पनि अपराधीलाई दण्ड हुनुपर्छ भन्ने पक्षमा म छु ।

कुनै अपराधीले राजनीतिक आवरणमा अपराधीहरुले छुट पाउनु हुँदैन ।’ नेता पण्डितले अहिले निलम्बित प्रधानन्यायाधशीश कार्कीले ठूलो हिम्मत गरेको समेत उनले बताए । कार्कीले दृढ संकल्पका साथ न्यायलाई स्थापित गर्न खोज्दा उनलाई कमजोर बनाउने खेल खेलिएको समेत उनले स्पष्ट पारे । कार्कीले आफ्नो कुनै निष्ठामा दाग नलाग्ने गरी डटेर लाग्दा उनीमाथि महाअभियोग लगाइएको आरोप समेत उनले लगाए ।

अहिले नेपाललाई अस्थिरता र दण्डहिनताभित्र निरन्तर राखिराख्न खोज्ने अपराधी मनोवृतिको साथ न्यायको पक्षमा लाग्नेमाथिको प्रहार हो, त्यो प्रहारबाट समेत अहिले उनी (सुशिला कार्की) विचलित नभएको नेता पण्डितले बताए । पूर्वमन्त्री समेत रहेका नेता पण्डितले पछिल्ला दिनमा सुशीला कार्कीलाई साथ दिनेहरुको जनमत समेत बढ्दै गएको बताए । अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जनमत कार्कीकै पक्षमा देखिएकोले उनीमाथि लगाइएको महाअभियोग प्रस्ताव तुरुन्त फिर्ता लिन समेत सरकारसँग उनले आग्रह गरे । महाअभियोग फिर्ता लिएर कार्कीले बाँकी समय सक्रियतापूर्वक काम गर्न पाउनु पर्नेमा उनले जोड दिए ।

आइजीपी प्रकरणमा नवराज सिलवालको पक्षमा प्रधानन्यायाधीशले भूमिका खेलेको आरोप लागेको छ नि त ? भन्ने सुर्यखबरको प्रश्नमा नेता पण्डितले त्यसको खण्डन गरे । उनले भने, ‘मुल्यांकनमा प्रथम हुनेलाई निरुत्साहित गरेर, पछि परेकोलाई निहित स्वार्थका कारण अघ ल्याउने काम गलत भयो, त्यो गलतको कामको गृहमन्त्रीले पनि साथ दिएनन्, जसको मातहतमा गृहमन्त्रालयनै पर्छ । त्यसकारण, महाअभियोग राजनीतिक स्वार्थबाट ल्याइएको प्रष्ट छ र यसलाई दुरुपयोग गरेको प्रस्टै देखिन्छ, यो राष्ट्रको हितमा छैन र न्यायालयको मान्यता विपरित छ ।’

मधेसको राजनीति र राजनीतिक मुद्धाका विषयमा टिप्पणी गर्दै नेता पण्डितले जानेर वा नजानी त्यहाँका केही राजनीतिक समुहहरु सिके राउतको पछि लाग्ने गरेको आरोप लगाए ।  त्यस्तै, नेता पण्डितले आफ्नो व्यक्तिगत राजनीतिक यात्राको भविष्य अब संघीयतालाई स्थापित गर्ने काममा केन्द्रीत हुने स्पष्ट पारे । उनले संघीय निर्वाचन हुँदा आफुले त्यसमा उम्मेद्वारी दिने समेत बताए । नेता पण्डितले आफु जीवनभर नेपाल र नेपालीको हितमा राजनीति गर्ने समेत उनले बताए । उनले नेपाल र नेपालीको समस्या भागेर होइन जुटेर समाधान गर्न सकिने बताउँदै त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।