राजनीति

एमालेलाई चुनावमा पछार्ने यस्तो छ प्रचण्ड र देउवाको भित्री रणनीति, अब के गर्ला एमाले ?

काठमाण्डौ । स्थानीय तहको निर्वाचनको माहोल तात्दै गएपनि मुलुकमा महत्वपूर्ण दुईवटा घटनाको राप र ताप सेलाएको छैन । माओवादी–कांग्रेसका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्ताव र गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्मर कसेर लागेका छन् । यी दुई घटनापछि प्रधानमन्त्री दाहालमा स्थानीय निकायको निर्वाचन सम्पन्न गरेरै छाड्ने थप हौसला बढेको देखिएको छ ।

केही दिनअघिसम्म मुलुकमा निर्वाचन होलाकि नहोला भनेर दोधारको स्थिति देखिइरहेका बेला निर्वाचनको माहोल सुरु हुनु केही दिन अघिमात्रै नेपाली राजनीतिको रंगमञ्चमा यी दुई परिदृष्य देखिए । गृहमन्त्रीले एक्कासि राजीनामा दिए भने सत्ता गठबन्धन दलका सांसदहरुले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता गरेर न्यायलयलाई रक्षात्मक अवस्था पुर्याउन उनीहरु सफल भए । यद्यपि, प्रधानन्यायाधीश प्रकरणलाई भने आइजीपी प्रकरणसँग समेत जोडेर हेरिने गरेको छ ।

जानकारहरुका अनुसार यी दुई घटना त्यतिक्कै भएका छैनन् । गृहमन्त्री निधिले राजीनामा दिए पनि अहिलेसम्म नयाँ गृहमन्त्री चयन गरिएको छैन । गृहमन्त्राय मातहतको सुरक्षा निकाय चुनावी मैदानमा ओर्लिसकेको छ तर नेतृत्व छैन । यसको तयारीमा सरकार गठबन्धन के गर्दैछ त ? यो गम्भीर चासोको विषय बन्दै गएको छ । श्रोतका अनुसार सरकार गठबन्धनमा जोडिएको राप्रपाले सरकारसँगको समर्थन फिर्ता लिएलगत्तै सरकार कमजोर भयो भन्ने आंकलन गरिएपनि यसबेला सत्तारुढ दलहरु माओवादी र कांग्रेसले चुनावका लागि एउटा भित्री रणनीति तयार गर्न लागेको जनाइएको छ । केही दिनका लागि आउने गृहमन्त्री कसलाई ल्याउने भन्ने तयारीमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा लागेका छन् । यद्यपि, विमलेन्द्र निधिलाईनै गृहमन्त्रीमा फर्काउने तयारी भैरहेका खबरहरु समेत बाहिर आइरहेका छन् ।

उनीहरु मुलुकभर देखिएको एमालेको प्रभावलाई ध्वस्त पार्ने तयारीका साथ नयाँ गृहमन्त्रीलाई अवतरण गर्ने तयारीमा लागेको समेत बताइएको छ । गृहमन्त्रीमा कांग्रेसकै तर्फबाट सरकारमा रहेका यातायात मन्त्री रमेश लेखक, नेता गोपालमान श्रेष्ठ, कृष्ण सिटौला लगायतको विषयमा समेत छलफल भैरहेको समेत बताइएको छ । पछिल्लो समयमा देखिएको कांग्रेस–माओवादीको गठबन्धनलाई चुनावसम्मै तन्काउने र अरु २ वटा निर्वाचनसम्मै लैजाने तयारीमा दाहाल र देउवा रहेको बताइएको छ । प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच चुनावका लागि आन्तारिक सहमति भएरै गृहमन्त्री निधिलाई वाध्य पारेर राजीनामा दिन लगाइएको तर महाअभियोग र गृहमन्त्रीको राजीनामाको विषयमा सर्वत्र विरोध हुन थालेपछि निधिलाई नै फर्काउने कि भन्ने विषयमा देउवा परामर्शमा लागेको समेत एकथरी विश्लेषकहरुको दावी छ ।

प्रचण्ड र देउवाको अबको रणनीति दुई पार्टीबीच तालमेल गर्ने र आफ्नो माताहातको गृहमन्त्रीलाई नियुक्त गर्ने हुने देखिदैछ । त्यसपछि यो गठबन्धनलाई कांग्रेस नेतृत्वको सरकार निर्माण नहोन्जेल अघि लैजाने छन् र चुनावमा एमालेलाई पराजित गर्न निकै कडा ढंगले लागिपर्ने श्रोतको दावी छ । तर चुनावका लागि कांग्रेस र माओवादीको सन्तुलित र भरपर्दो ढंगले एलायन्स भने अहिलेसम्म भएको देखिएको छैन । यदि प्रधानमन्त्री दाहाल र सभापति देउवाको यो तयारीलाई सत्य मान्ने हो भने एमालेका लागि समेत स्थानीय चुनावमा यो अर्को ठूलो चुनौती र दुर्घटनाको संघार हुनसक्ने श्रोतको दावी छ । प्रचण्ड र देउवाको यो रणनीतिलाई नजिकबाट बुझेका एमाले शीर्ष नेताहरुले कस्तो रणनीति अख्तियार गरी निर्वाचनको अभियानमा अघि बढ्ने हुन् त्यो भने प्रतिक्षाकै विषय रहेको छ