आर्थिक

एनसेलबाट जेठभित्रै कर उठाउने तयारी

axiata-company

काठमाण्डौ । ठूला करदाता कार्यालय जेठभित्रै एनसेलमाथि पुँजीगत लाभकर तिराउने गरी तातेको छ। कर उन्मुक्ति दिने सबै प्रयास विफल हुनुका साथै कर तिराउन चौतर्फी दबाब परेपछि सरकार पनि कर निर्धारण नगरी नहुने अवस्थामा पुगेको छ।  मन्त्रिपरिषद्बाटै पुँजीगत लाभकर बिक्रेता टेलियाले तिर्नुपर्ने निर्णय गराई एनसेललाई कर दायित्वबाट राहत दिने प्रयास पनि विफल भएको छ।

चैत ३ गतेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले टेलियालाई कर तिराउने निर्णय भएको भनेका थिए। तर, उन्मुक्ति दिन खोजिएको भन्दै उक्त कदमको विरोध हुनुका साथै कर्मचारीले निर्णय माइन्युट गर्न नमानेपछि प्रधानमन्त्री दाहाल र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा त्यस्तो निर्णयनै भएको छैन भन्दै पछि हटेका थिए।

बिहीबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, महालेखा परीक्षकको प्रतिवेदनमा एनसेललाई पुँजीगत लाभकर तिराउनुपर्ने रकम तोकेर उक्त रकम बेरुजु ठहर्योएपछि उन्मुक्ति दिने बाटो क्रमशः बन्द हुँदै कर असुल्न दबाब परेको थियो। ‘जेठभित्रै कर निर्धारण गरिसक्ने गरी काम भइरहेको छु, स्रोतले भन्यो। ठूला करदाता कार्यालयले यसअघि पूर्वमन्त्री/अर्थसचिव विद्याधर मल्लिक, पूर्वमुख्य सचिव तीर्थमान शाक्य र चार्टड एकाउन्टेन्ट शिवहरी शर्मालाई कर निर्धारणमा सघाउन विज्ञ नियुक्त गरेको थियो।

मल्लिकलाई कर, शाक्यलाई कानुन र शर्मालाई लेखाका बारे सुझाव दिन भनिएको छ। तीनैजना एनसेलले कर तिर्नुपर्छ भन्नेमा स्पष्ट छन्, कसरी कर निर्धारण गर्ने भन्नेमा सुझाव दिइरहेका छन्। अटेरी एनसेल कर कार्यालय ताते पनि एनसेलले कर कार्यालयलाई असहयोग गर्न छाडेको छैन। कर निर्धारण गर्न नभइ नहुने केही कागजपत्र दिन उसले अटेर गरिरहेको छ।

कार्यालयले केही दिनअघि १५ दिनभित्र ड्युडेलिजेन्स अडिट रिपोर्ट (डीडीए), सेयर खरिदबिक्री सम्झौता पठाउन पत्राचार गरेको थियो। एनसेलले ती डकुमेन्ट बिक्रेता (टेलिया) र खरिदकर्ता (एक्जियाटा) सँगमात्र हुने जवाफ दिएको छ। कार्यालयले फेरि हप्ता दिनभित्र ती डकुमेन्ट पठाउन पत्राचार गरेको थियो। म्याद बिहीबार सकिँदैछ। कार्यालयले एक वर्षअघि माग गर्दा पनि एनसेलले यस्तै पत्र पठाएको थियो।