समाचार

काठमाण्डौको विश्वनिकेतन स्कुलबाट ५ विद्यार्थीको अपहरण !

काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन् । स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए ।

बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ, मुखमा माक्स र हातमा पञ्जा लगाएर आएका तीन जना अपहरणकारीले विद्यार्थीलाई मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमुल पुर्याएका थिए ।

कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दिपक जैसवाललाई उनीहरुले अपहरण गरेर लगेका थिए ।

ती अपहरणकारीले कलिला विद्यार्थीलाई अपहरण गरेर लैजाने क्रममा थापाथली पुर्याएपछि मन्सुरी अपहरणकारीको हातमा टोकेर भाग्न सफल भएपनि अन्य ४ जनालाई भने सँगै लगेका थिए ।

उनीहरुले एकान्त ठाउँ खोज्दै ती बालकहरुलाई पुलबाट पारी लैजान खोजेपछि एक विद्यार्थी हेल्प मी भनेर चिच्याएपछि स्थानीयहरु ती विद्यार्थीतर्फ अघि बढेका थिए । त्यसपछि अपहरणकारीहरु बच्चाहरु छोडेर भागेका थिए ।