राजनीति

यसरी पछारे विद्यासुन्दर शाक्यले केशव स्थापितलाई, यस्तो छ भित्री रहस्य !

काठमाण्डौं । स्थानीय निकायको चुनावको मिति नजिकै गर्दा बैशाख महिना सुरु नहुँदैदेखि काठमाण्डौ महानगरको मेयरमा एमालेको थुप्रै नेताहरुको नाम अघि आइरहेको थियो । त्यसमध्ये एमाले नेता अर्थात काठमाण्डौ महानगरकै पूर्व मेयर केशव स्थापितको नाम पनि अग्रपंक्तिमा आएको थियो । स्थापित आफु काठमाण्डौ महानगरपालिको मेयरमा उम्मेद्वारी दिन तयार रहेको कुरा केही सञ्चारमाध्याम मार्फत आउन थालेपछि सबैको ध्यान उनीतर्फ मोडिएको थियो तर अन्तत,एमालेले मंगलबार महानगरको मेयरको टिकट अर्का स्थानीय नेता विद्यासुन्दर शाक्यलाई दिएपछि स्थापित रणभूल्लमा परेका छन् । केशव स्थापित २०५४ सालमा एमालेको तर्फबाट काठमाण्डौ महानगरपालिकाको मेयर जितेका नेता हुन् ।

२०५४ सालमा मेयर जितेर केही वर्ष काठमाण्डौको राजनीतिक र विकासमा स्थापित बनेका उनी बीचमा गुमनाम जस्तै रहे । पछिल्लो समयमा उनी एमालेको राजनीतिमा देखिएका थिए । बीचमा एमालेको राजनीतिक यात्रालाई छाडेर कतै गुमनाम भएका उनले अन्य पार्टीहरुसँग समेत सामिप्ता गाँसेका खबर बाहिर आएका थिए । त्यतिमात्र होइन २०७० सालको दोश्रो संविधानसभा चुनावमा समेत उनले संघीय समाजवादीबाट काठमाण्डौमा चुनाव लडेका थिए । त्यो बेला उनले १ हजार ५० मत प्राप्त गरेका थिए । काठमाण्डौको क्षेत्र नम्बर ६ बाट उम्मेद्वारी दिएका स्थापितका कारण सोही क्षेत्रकाट चुनाव लडेका एमालेका प्रभावशाली युवा नेता योगेश भट्टराईले पनि चुनाव हारेका थिए । एमाले भित्रको एउटा पंक्तिले त्यसबेला योगेशलाई चुनाव हराउन स्थापितको समेत भूमिका रहेको भन्दै चर्को आलोचना गर्ने गरेका छन् । त्यसबेला भट्टराईले करिब १२ सय मतको अन्तरमा चुनाव हारेका थिए ।

त्यसपछि केशव स्थापितलाई हेर्ने एमाले शीर्ष नेताहरुको दृष्टिकोणनै बदलियो । त्यतिमात्र होइन पछिल्लो समयमा एमालेसँग जोडिएर मेयरको पद दावी गर्न केशव स्थापितका लागि नसुहाउने कुरा भएको भन्दै एमालेका अधिकांश कार्यकर्ताहरुले उनलाई पार्टी बाहिरको मान्छे भन्दै चर्को आलोचना गरिरहेका थिए र उनको नाम सिफारिस गर्ननै नहुने अडान लिँदै आएका थिए । स्थापितको नाम जिल्ला र प्रदेशले सिफारिसनै गरेको थिएन । स्थापित आफै काठमाण्डौ महानगरको मेयरमा उठ्ने भन्दै हिडेका थिए । माथि उल्लेखित विवधि कारणले पनि एमालेसँको दिर्घकालीन राजनीतिक नाता र सामिप्यता स्थापितका लागि टाढाको विषय बन्न पुग्यो ।

मंगलबार एमाले केन्द्रीय कार्यालयमा महानगरको मेयरको उम्मेद्वारको नाममा केशव स्थापितको नाम पनि प्रवेश गर्यो । एमाले नेता शंकर पोख्रेलले स्थापितको नाम टेबुल गरेका थिए भने उपाध्यक्ष वामदेव गौतमले उनको नाममा समर्थन जनाएका थिए तर पार्टीको बैठक लम्बिदै जाँदा अन्तत विद्यासुन्दर शाक्यको नाममा सहमति जुट्यो । विद्या सुन्दर शाक्यको नाम भने एमाले नेतृ अष्टलक्ष्मी शाक्यले टेबुल गरेकी थिइन् । मेयरको उम्मेद्वारीमा निकै पहिलेदेखि अन्य नेताहरुको नाम पनि जोडिदै आएको थियो तर ती सबैलाई छाडेर एमालेले विद्यासुन्दरलाई मेयरको उम्मेद्वारीमा उठाएको छ ।

धेरैको बुझाईमा स्थापित यसरी पछारिनुका पछाडि उनको एमालेप्रति दिर्घकालीन लगाव नभएरनै हो । उनले बीचका वर्षहरुमा एमाले छाड्ने, एमालेकै उम्मेद्वारका विरुद्धमा उम्मेद्वारी दिने र पछिल्लो समयमा आफै उम्मेद्वारी घोषणा गर्दै हिड्नु निकै ठूलो कमजोरी भएको एकथरी एमाले नेता–कार्यकर्ताहरुको बुझाई छ । यी रवैयाले नै स्थापितलाई पछारिदिएको उनीहरुको ठम्याई छ । शाक्य मेयरको उम्मेद्वार भएपछि केशव स्थापितले पार्टीप्रति कुनै गुनासो नभएको र दिएको जिम्मेवारी बहन गर्ने जनाएका छन् । उनले अब आफु आफ्नो छुट्टै काममा व्यस्त हुने समेत बताएका छन् । उनले मेयरका लागि उम्मेद्वारी दिएका शाक्यलाई शुभकामना समेत दिइसकेका छन् । राप्रपासँग काठमाण्डौ र ललितपुरमा चुनावी तालमेल गरेको एमालेले दुईवटै महानगरमा मेयरको उम्मेद्वार पाएको छ भने राप्रपाले उपमेयरको उम्मेद्वार पाएको छ ।