समाचार

निर्वाचनमा ८० हजार सुरक्षाकर्मी

काठमाडौं । आसन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तीनवटा प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा म्यादी प्रहरी गरी ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।  बुधबारको नयाँ पत्रिकामा लेखिएको छ, सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले बताए । उनका अनुसार सबै सुरक्षाकर्मी आ–आफ्नो कार्यक्षेत्रमा गइसकेका छन् । आवश्यक सुरक्षा व्यवस्था मिलाउन कार्यक्षेत्रमा पठाइएको पन्थीले बताए ।

प्रहरी २२ हजार ६९५ र म्यादी प्रहरी २२ हजार ७ सय खटाइएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले बताए । सशस्त्र प्रहरी बलका प्रवक्ता दिवाकर केसीका अनुसार २५ हजार सशस्त्र प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिएका छन् । यस्तै, नेपाली सेनाले पनि निर्वाचन सुरक्षाका लागि सैनिक परिचालन भएको नेपाली सेनाले जनाएको छ ।

३४ जिल्लामा सुरक्षाकर्मी परिचालित
पहिलो चरणअन्तर्गत ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने निर्वाचनमा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । तीनवटै प्रदेशको २८३ वटा स्थानीय तहमा सुरक्षाकर्मी खटिएका छन् । तीनवटै प्रदेशमा करिब ५० लाखको हाराहारीमा मतदाताको संख्या रहेको निर्वाचन आयोगले जनाएको छ । तीन प्रदेशमध्ये १३ वटा जिल्ला ३ नम्बर प्रदेशमा रहेको र सबैभन्दा बढी मतदाता पनि यही प्रदेशमा छन् ।