समाचार

माडीका बासिन्दा भरतपुर जाँदा-आउँदा निकुञ्जलाई शुल्क तिर्न बाध्य

चितवन । चितवन राष्ट्रिय निकुञ्जपारीको माडी नगरपालिकाका बासिन्दा सदरमुकाम भरतपुरबाट घर जाँदा र आउँदा निकुञ्जलाई शुल्क तिर्नुपर्ने बाध्यतामा छन् ।

निकुञ्जको बाटो प्रयोग गर्दा दुई पाङ्ग्रे सवारीसाधनका चालकले एक पटकमा १० रुपैयाँ तथा चार पाङ्ग्रे र सो भन्दा ठूला सवारीसाधनका चालकले ५० रुपैयाँ तिर्नुपर्छ । मूल्य अभिवृद्धि कर जोड्दा साना सवारीसाधनको ११ रुपैयाँ ३० पैसा हुने भए पनि निकुञ्जका कर्मचारीले १५ रुपैयाँ लिने गरेका छन् ।

यस्तै ठूला सवारीसाधनको मूल्य अभिवृद्धि करसहित ५६ रुपैयाँ ५० पैसा हुने भए पनि ६० रुपैयाँ तिर्दै आएका स्थानीय समाजसेवी हरिप्रसाद पौडेलले बताए। खुद्रा पैसा नभएको भन्दै बढी रकम असुल्ने गरेको उनको भनाइ छ ।
माडी पुग्न निकुञ्ज भित्रबाट करिब ९ किलोमिटर बाटो पार गर्नुपर्छ । माडी क्षेत्रमा सोही बाटो प्रयोग भएर दैनिक ३५ भन्दा बढी ठूला सवारीसाधन र एक सयभन्दा बढी मोटरसाइकलको प्रयोग गर्ने गरेका स्थानीयवासी श्रीप्रसाद दवाडी बताउँछन्। माडीको जनसङ्ख्या करिब ४० हजार रहेको छ । सोही बाटो हुँदै ठोरीसम्म जान सकिन्छ ।

माडी क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था मन्त्री छन् भने माडीवासी धनीराम पौडेल शिक्षामन्त्री छन्। “एउटै नगरपालिकाबाट दुई/दुई मन्त्री रहे पनि माडीवासीको समस्याको सुनवाई हुन सकेको छैन,” दवाडीले भने।
विसं २०६९ मा माडी महोत्सवको उद्घाटन गर्न आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत गुनासो गरिएको भए पनि आजसम्म सुनुवाई नभएको दवाडीको गुनासो छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले राष्ट्रिय निकुञ्ज ऐनले निकुञ्जको बाटो प्रयोग गर्दा राजस्व उठाउन निर्देश गरेअनुरुप राजस्व उठाउँदै आएको बताए। रासस