अन्तर्राष्ट्रिय

सिरियाको मानवसंहारमा संलग्न अपराधीमाथि कार्वाही गर्न राष्ट्रसंघको यस्तो तयारी

एजेन्सी । सिरियाको द्वन्द्वमा पछिल्लो समयमा भए गरेका अमानवीय अपराधको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन संयुक्त राष्ट्रसङ्घद्वारा गठन भएको छानबिन टोलीले छिट्टै आफ्नो काम सुरु गर्ने राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद राद हुसैनले बताएका छन् । सोमबार स्विट्जरल्यान्डको जेनेभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अनुसन्धान प्रक्रियालाई अघि बढाउन ख्यातिप्राप्त न्यायाधीश र अन्तर्राष्ट्रिय वकिलले छानबिन समितिको नेतृत्व गर्नेछ । हुसेनले छानबिन समितिको नाम र सदस्य छिट्टै घोषणा हुने बताए ।

छानबिनका लागि सुरुमा एक करोड ३० लाख अमेरिकी डलर छुट्याइएको र आधा बजेटको व्यवस्था भइसकेको छ । साथै बाँकी आधा बजेट व्यवस्थापनका लागि कैयौँ देशले प्रतिबद्धता जनाइसकेका कारण पूर्ण बजेटको छिट्टै टुङ्गो लाग्नेछ ।

यसअघि सन् २०१६ को डिसेम्बरमा गठन गरिएको छानबिन टोलीलाई सिरियाली राष्ट्रपति बर अल असदको सरकारद्वारा मुलुकको सार्वभौम अधिकारमाथि सहन नसकिने हस्तक्षेप भनी अस्वीकार गरिएको थियो ।

छानबिन टोलीले युद्धमा दोषी व्यक्तिसहित उनीहरुमाथि कारबाहीका लागि अन्तर्राष्ट्रिय अदालतमा सिफारिस गर्ने जनादेश प्रदान गरेको छ ।