राजनीति

आज ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा उम्मेद्वारी दर्ता हुँदै

काठमाण्डौ । वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ । सरकारले तोकेको ३ प्रदेशका सबै जिल्लाहरुमा आज निर्वाचनका लागि उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराउँदैछन् । सरकारले ३, ४ र ६ नम्बर प्रदेशमा वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन तोकेको छ ।  निर्वाचन आयोगले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी तोकिएका प्रदेशका सबै जिल्लाहरुमा उम्मेद्वाहरुलाई उम्मेद्वारी दर्ता गर्न आह्वान गरिसकेको छ । आयोगले ३ प्रदेशका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहका उम्मेद्वारहरुले १९ गते उम्मेद्वारी दर्ता गरिसक्नुपर्ने जनाएको छ ।

निर्वाचनमा नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेद्वार हुर्नै प्रावधान राखिएको छ । त्यसमध्ये वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको आयोगले जनाएको छ ।

उम्मेद्वारी दर्ताका लागि सम्बन्धित ठाउँकै मतदाता नामावलीमा नाम भएको एक प्रस्तावक र एकजना समर्थकको आवश्यकता पर्दछ । उम्मेद्वारको हकमा पनि सम्बन्धित स्थानीय तहकै मतदाता नामावलीमा नाम हुनुपर्ने प्रावधान रहेको जनाइएको छ । उम्मेद्वारी दर्ता मंगलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुने आयोगले जनाएको छ ।