राजनीति

तोकिएकै समयमा निर्बाचन हुनेमा आशंका नगर्नुस – डा. शशांक कोईराला

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले तोकिएको समयमा नै स्थानीय तहको चुनाव हुने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा आज प्रचार प्रसार समन्वय उपसमितिले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री कोईरालाले उक्त कुरा बताएका हुन् ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न कोणबाट चुनावका बारेमा उठाइएका द्धिविधालाई चिर्दै कांग्रेसले यस्तो धारणा सार्वजनिक गरेको हो ।

महामन्त्री कोइरालाले संविधान संसोधनको प्रस्ताव संसदमा रहेको र प्रक्रिया पुगेपछि संशोधन हुने विश्वास गर्दै त्यसका कारण पहिलो चरणको चुनाव प्रभावित नहुने स्पष्ट पापारेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव प्रक्रियाबाट टुंगोमा पुग्ने बताउदै भने,“ संविधान संशोधन पारित गर्ने प्रक्रिया जारी रहनेछ तर पारित नभए पनि चुनाव भने रोकिने छैन ।” उनले बैशाख ३१ गतेका लागि निर्धारित तीनवटा प्रदेशको चुनाव नरोकिने पनि स्पष्ट पारे ।

पत्रकार भेटघाट कार्यक्रममा प्रचार प्रसार समन्वय उपसमितिका संयोजक एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पहिलो चरणको निर्वाचनका लागि नेपाली कांग्रेसले गरेको तयारीका बारेमा जानकारी दिएका थिए ।

लेखकले नेपाली कांग्रेस निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । “ प्रचार प्रसारले गति लिएको छ र घोषणापत्र गाँऊ र नगरका सबै क्षेत्रमा पुगिसकेको छ” संयोजक लेखकले भने,“धेरै ठाँउमा उमेदवारहरु पनि तय भैसकेका छन।”

केन्द्रीय सदस्य लेखकका अनुसार बढी आकांक्षी देखिएका स्थानमा पार्टीले आजसम्म उमेदवारको चयन गर्नेछ र भोलि निर्धारित समयमा नेपाली कांग्रेसका उमेदवारहरुले मनोनयन पत्र दर्ता गर्नेछन् ।

उनले स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेस सम्पूर्ण रुपले तयार भएको बताउदै सञ्चारकर्मीहरुसंग सम्पूर्ण आशंका मेटाउने ढंगले प्रचार गर्न अनुरोध गरेका थिए ।

सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य दीपक गिरी लगायत भातृसंगठन र शुभेच्छुक संस्थाका पदाधिकारी र पार्टीका कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।