राजनीति

कांग्रेसको नेतृत्वपछि ७४४ वटै स्थानीय तहमा सुशासन छिटो–छरितो र जनमैत्री प्रशासन

ललितपुर । नेपाली कांग्रेसले लोकतन्त्रको जरा मानिएका स्थानीय तहमा दक्ष, प्रशिक्षित, छिटो–छरितो र जनमैत्रीयुक्त प्रशासन दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

हालै सार्वजनिक गरेको “स्थानीय तह निर्वाचन २०७४” को घोषणापत्र मार्फत नेपाली कांग्रेसले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । विधिमा आधारित सुशासन सबल लोकतन्त्रको मुटु मान्ने कांग्रेसले शासन र प्रशासनिक संयन्त्रलाई समावेशी, सेवामुखी, स्तरीय, विधिसम्मत र जनतामैत्री बनाउने लक्ष्य लिएको छ ।

कांग्रेसले मुलुकभरका स्थानीय निकायहरुमा सुशासन कायम गर्ने बिषयलाई उच्च प्राथमिकता दिदैं भनेको छ, “सरकारी सेवाप्रदायक निकायमा दक्षता, जवाफदेहिता, पारदर्शिता, प्रभावकारिता र भ्रष्टाचारमुक्त शासन सुनिश्चित गर्नु नेपाली कांग्रेसको आधारभूत नीति हुनेछ ।”

नेपाली कांग्रेसले भ्रष्टाचार र आर्थिक अपराधका विरूद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रत्याभूति गरेको छ । नेपाली कांग्रेसको घोषणापत्रमा भनिएको छ, “अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका भ्रष्टाचार नियन्त्रण गर्न गठित निकायहरुलाई साधन, स्रोत र प्रविधिले युक्त बनाई सबै तहमा भ्रष्टाचार नियन्त्रण प्रभावकारी बनाइनेछ ।”

सबै तहका राष्ट्रसेवक कर्मचारीहरु सहित समाजसेवामा संलग्न हुने नागरिकहरुमा शुद्ध आचरणको विकास गर्नका लागि नेपाली कांग्रेसले सदाचार पद्धतिको विकास गर्ने कार्यक्रम पनि ल्याउने भएको छ । “राष्ट्रिय सदाचार संहिताको निर्माण गरी संघ, प्रदेश तथा स्थानीय तहका सबै पदाधिकारी एवं राष्ट्र सेवक र निजी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाजका संस्था लगायतका पदाधिकारीमा शुद्ध आचरणको विकास गरिनेछ” नेपाली कांग्रेसको घोषणापत्रमा भनिएको छ ।

नेपाली कांग्रेसले जनताको सेवामा समर्पित हुने सबै तहका राष्ट्रसेवक कर्मचारीहरुको लागि पर्याप्त तलब र अन्य सुविधा प्रदान गर्न उदार नीति अख्तियार गर्ने भएको छ । कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ,“सबैभन्दा तल्लो तहमा काम गर्ने राष्ट्र सेवकलाई जनताको सेवामा बढी अभिप्रेरित गर्न आवश्यक पर्ने पर्याप्त तलब तथा अन्य सुविधाको व्यवस्था गरिनेछ ।”
जनस्वास्थ्य, पशुस्वास्थ्य र कृषि विकाससँग सम्बन्धित प्राविधिकहरुलाई घरघरमा गई जनताको सेवा गर्न अभिप्रेरित गर्ने खालका कार्यक्रम पनि नेपाली कांग्रेसले ल्याउने भएको छ ।

नेपाली कांग्रेसले राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्षमता, लगनशीलता र कर्तव्यपालनाको रेकर्ड राख्ने र सोही आधारमा उनीहरुको बढुवा तथा वृत्ति विकासका अवसरहरु प्रदान गर्ने कुरालाई पनि आफ्नो घोषणापत्रमा समेटेको छ । “नेपाली कांग्रेसको सरकारले सबै तहमा काम गर्ने राष्ट्र सेवक वा पदाधिकारीको कार्यक्षमता, इमान्दारी र कार्य व्यवहारको अद्यावधिक प्रतिवेदन गर्ने पद्धतिको विकास गर्नेछ” नेपाली कांग्रेसको घोषणापत्रमा भनिएको छ, “यही आधारमा राष्ट्र सेवकको मूल्याङ्कन गरी उपयुक्त जिम्मेवारी दिने परिपाटीको विकास गरिनेछ ।”
अर्धन्यायिक अधिकारले सम्पन्न स्थानीय निकायहरुलाई न्याय सम्पादनमा निपूर्ण बनाउन कांग्रेसले सबै तहमाका इकाइहरुमा समेत कानूनी सल्लाहकारको व्यवस्था गरिने भएको छ । न्याय सेवा छरितो र सहज बनाउन कांग्रेसले यस्ता सल्लाहकारको सेवाका अतिरिक्त निर्वाचित जनप्रतिनिधिहरुलाई तालिम, प्रशिक्षणद्वारा सक्षम बनाउने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
महिलाहरुको सशक्तिकरणलाई पनि कांग्रेसले उत्तिकै महत्व दिएको छ । “महिला जनप्रतिनिधिहरुलाई महिला अधिकारको संरक्षण र महिलामाथि हुने सबै प्रकारका हिंसा निर्मूल गर्न पैरवी गर्न सक्ने गरी सशक्त र सक्षम बनाइनेछ” नेपाली कांग्रेसको घोषणापत्रमा भनिएको छ ।
स्थानीय सरकारद्वारा प्रदान गरिने सेवा र सुविधालाई प्रभावकारी बनाउने विषयलाई पनि कांग्रेसले उच्च महत्व दिएको छ । यसका लागि सार्वजनिक सेवा प्रदानका लागि भौतिक, आर्थिक, प्राविधिक र मानव स्रोतको पर्याप्त व्यवस्था गरिनेछ ।

विश्वमा प्राप्त पछिल्ला प्रविधिको उपयोग गरी विकास निर्माणलाई गति दिने र स्थानीय बासिन्दालाई अत्याधुनिक प्रविधिबाट छिटो छरितो सेवा दिने विषयलाई पनि कांग्रेसको घोषणापत्रमा समेटिएको छ । “सूचना प्रविधिको प्रयोग बढाई सेवाग्राहीलाई सरकारी सेवा प्राप्त गर्न लाग्ने समय र लागतमा कमी ल्याइनेछ ” घोषणापत्रमा भनिएको छ ।

कार्यप्रक्रिया छिटो छरितो र झन्झटरहित बनाउन नेपाली कांग्रेसले एकद्वार प्रणालीको अवधारणा अवलम्वन गर्ने नीति लिएको छ ।
यसका साथै लक्षित वर्गसम्म सेवा एवं सुविधा प्रवाहको प्रभावकारिता सुनिश्चित गर्न ९स्मार्ट० राष्ट्रिय परिचयपत्र कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गरिनेछ । नेपाली कांग्रेसले संघ, प्रदेश र स्थानीय तहको प्रशासनिक संरचना र कार्यविधिमा सुधार गरी कार्यान्वयनमा ल्याउनेछ ।
स्थानीय तहको नयाँ संरचनामा गाउँपालिका केन्द्र र वडा केन्द्र साविक भन्दा टाढा पर्न गएको सम्बन्धमा आएका गुनासाहरुलाई पनि नेपाली कांग्रेसले सम्बोधन गर्ने भएको छ । “यसबाट पूर्वाधारले नछोएका र आर्थिक अवस्था कमजोर भएका समुदाय सबै भन्दा बढी मर्कामा परेका छन्” घोषणापत्रमा भनिएको छ,“नेपाली कांग्रेसले न्यायोचित र व्यावहारिक ढंगबाट यो समस्याको हल गर्नेछ ।”