पु.समाचार

महाअभियोग लागेलगत्तै सुशिला कार्कीले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायधीशबाट निलम्बित भएकी सुशीला कार्कीले प्रतिक्रिया दिएकी छन् । महाअभियोग लागे लगत्तै आइतबार नागरिक दैनिकसँगको सम्वादमा उनले सो निर्णय आफुलाई स्वभाविक लागेको भन्दै प्रतिक्रिया दिएकी हुन् । यस्तो छ कार्कीले दिएको प्रतिक्रियाः
तपाईंमाथि लागेको महाअभियोगलाई कसरी लिनुभएको छ ?
मलाई त केही फिल नै भएको छैन । ममाथि महाअभियोग लाग्दै छ भन्ने मलाई थाहा थियो । केही दिनयता माओवादी सांसद (रामनारायण) विडारीले मलाई पटक पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ । एक पटक भेट्नुपर्यो भनिरहनु भएको थियो । तर मैले भेट्न मानिन ।
विडारीलाई मैले महाअभियोग लगाउनुस् भनेको थिए आनन्दमोहन (भट्टराई) लाई गरेजस्तै मलाई पनि गरेका हुन् ।

प्रधानमन्त्रीले आजै बिहान पनि दूत बनाएर बर्षमान पुनलाई मेरो निवासमा पठाउनुभएको रहेछ तर मैले भेटिन मेरो श्रीमान सँग भेटेर उहाँ फर्किनुभयो । उहाँहरुले मलाई जे आरोप लगाएर महाअभियोग दर्ता गर्नुभएको छ त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ ।
तर मैले न्याय प्रतिको निष्ठा र इमान्दारीतामा कहिल्यै सम्झौता गरेकी छैन । त्यसैले म यसबाट डराएकी छैन । म यो प्रस्तावको सामना गर्छु ।