पु.समाचार

३० दिनमा प्रतिबेदन बुझाउनेगरी निर्बाचन अनुगमनको जिम्मा मानबअधिकार आयोगलाई

काठमाडौँ । निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबीच आगामी स्थानीय तहको निर्वाचन अनुगमन गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव र राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको समुपस्थितिमा समझदारीपत्रमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली र राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्र अनुसार, स्थानीय तह निर्वाचनमा स्वच्छ, निष्पक्ष र सहजरुपले नागरिकले मताधिकारको प्रयोग गर्न सक्ने वातावरणका लागि मतदाता शिक्षा, सचेतना अभिमुखीकरण र अनुगमन गर्न गराउन दुबै आयोग सहमत भएका छन् ।

स्थानीय तहको निर्वाचनमा दुबै आयोगले सचिवस्तरीय संयु्क्त समन्वय तथा सहकार्य संयन्त्र स्थापना गरी कार्य गर्ने सहमति भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचन पश्चात् मानव अधिकारको अवस्थाको अनुगमन समावेशिताको सिद्धान्त समेतको दृष्टिकोणबाट गर्ने समझदारी भएको छ ।

यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन अनुगमनका क्रममा देखिएका समस्या र कमीकमजोरीहरुका बारेमा यथाशीघ्र निर्वाचन आयोगलाई जानकारी गराउने र त्यस्ता समस्याको समाधानका लागि आपसी सहयोग एवं सहकार्य गर्न दुबै आयोग सहमत भएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको परिणाम घोषणा भएपछिको ३० दिनभित्र निर्वाचन अनुगमन प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको छ ।

त्यस अवसरमा निर्वाचन आयोगका आयुक्तहरु र राष्ट्रिय मानव अधिकार आयोगका सदस्यहरुको उपस्थिति रहेको थियो ।