आर्थिक

अन्तराष्ट्रिय बजारलाई ध्यानमा राखी मर्चेण्ट बैङ्कको कार्यक्षेत्र फराकिलो हुने

काठमाडौं । हालसम्म निष्कासन तथा विक्री प्रकन्धक (इस्यू म्यानेजर), शेयर रजिष्ट्रार, अण्डर राइटर र पोर्टफोलियो म्यानेजरको क्षेत्रमा मात्र काम गर्दै आएकोे मर्चेण्ट बैङ्करको कार्यक्षेत्रको दायरा फराकिलो हुने भएको छ । उक्त ४ ओटा क्षेत्रमा मात्र काम गरेको मर्चेण्ट बैङ्कलाई यसमा मात्र सीमित नबनाई समयानुसार कार्यक्षेत्र बढाउन नेपाल धितोपत्र बोर्डले आन्तरिक गृहकार्य थालेको छ ।

बोर्ड व्यवस्थापन शाखाले मर्चेण्ट बैङ्कले अब लगानी परामर्श सेवाअन्तर्गत भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी, मर्जर तथा एक्वीजिशनलगायत परामर्श दिन पाउने व्यवस्थाबारे प्रक्रिया शुरू गरेको बोर्डका सहप्रवक्ता तथा कामु निर्देशक निरञ्जय घिमिरेले जानकारी दिए । उनका अनुसार धितोपत्र व्यवसायी ९मर्चेण्ट बैङ्कर० नियमावली–२०६४ को पहिलो संशोधनमा मर्चेण्ट बैङ्कको कार्यक्षेत्र बढाउनेबारे व्यवस्था गर्न बोर्डले प्रक्रिया शुरू गरेको हो । त्यसका लागि ड्राफ्ट तयार गरिरहेको र बोर्ड समितिमा पेश गरेर पारित हुन बाँकी भएको उनले बताए ।

घिमिरेका अनुसार बोर्ड बैठकबाट पारित भएपछि अर्थ मन्त्रालयमा पेश गरिनेछ । ‘समय, आवश्यकता अनुसार अन्तरराष्ट्रिय बजारलाई ध्यानमा राखी परिवर्तित हुनुपर्ने र सीमित काम गर्दा मर्चेण्ट बैङ्कको स्कोप कम भएकाले पनि कार्यक्षेत्र बढाउनुपर्ने भएको हो ।
यसका साथै चुक्तापूँजी बढाउनु पर्ने भनिएकाले पनि कार्यक्षेत्रको दायरा थप्नुपर्ने आवश्यक छ,’ उनले भने, ‘बोर्डले सञ्चालित मर्चेण्ट बैङ्कको अध्ययन गरेर कार्यक्षेत्र थप्न सकारात्मक भएपछि यसको गृहकार्यमा लागेका हौं । ’

१–२ वर्षअघिदेखि मर्चेण्ट बैङ्करहरूले पनि बिजनेश सेवा विस्तार गर्न अनुरोध गरिरहेको बोर्डको भनाइ छ । अहिले ड्राफ्ट बनिरहेको नयाँ व्यवस्थामा मर्चेण्ट बैङ्करले विभिन्न कम्पनीको मागबमोजिम भेञ्चर क्यापिटलको काम गर्न पाउने, सङ्गठित संस्थाको व्यवस्थापन तथा व्यावसायिक योजना तर्जुमा, चुक्तापूँजी पुनर्निर्माण, सम्पत्ति मूल्याङ्कनलगायत लगानी परामर्श सेवासमेत दिन सक्नेछन् ।

साँघुरो भएको कार्यक्षेत्रलाई विस्तार गर्न मर्चेण्ट बैङ्कर्स एशोसिएशनमार्फत पहल गरिरहेको कृति क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिका म्यानेजिङ निर्देशक तथा सञ्चालक दीपेशकुमार वैद्यको भनाइ छ । उनका अनुसार फाइनान्सियल, कर्पोरेट परामर्शको सेवाका साथै भेञ्चर क्यापिटल, प्राइभेट इक्विटीजस्ता सेवा दिनका लागिसमेत पहल भइरहेको थियो । ‘अब बोर्डले शुरू गर्ने यो प्रक्रियाले मर्चेण्ट बैङ्करको क्षेत्र विस्तारका साथै प्रभावकारीसमेत बनाउनेछ,’ उनले भने, ‘नेपालको पूँजीबजारमा लगानीको वातावरण बढाउन पनि यसो गर्नु जरुरी छ ।’

अभियान पत्रिकाका अनुसार, संशोधित हुने नियमावलीमा मर्चेण्ट बैङ्करको चुक्तापूँजी अहिले भएको रू. ७ करोडमा २ करोडदेखि ३ करोड रुपैयाँसम्म थप्ने वा करीब २० करोड रुपैयाँ हुने भन्ने विषयमा तयारी गरिएको बोर्डले बताएको छ । नियमावलीले तोकेबमोजिम पूँजी वृद्धि गर्ने कम्पनी मात्र थप सेवा प्रवाह गर्न आधिकारिक हुने कामु सहप्रवक्ता घिमिरेको भनाइ छ । ब्रोकर कम्पनीका लागि भने अहिले कार्यक्षेत्रबारे कुनै प्रक्रिया शुरू नगरेको उनले जानकारी दिए ।