पु.समाचार

चित्त नबुझेपछि बिच्किएका सूर्यकिरण दुईमहिनापछि आयोग बैठकमा

काठमाडौं । द्वन्द्वकालमा भएका मानव अधिकार हननका घटना अध्ययन गरी दोषीलाई कारबाही सिफारिस र समाजमा मेलमिलाप गराउने कार्यक्षेत्र पाएको सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ साढे दुई महिनापछि कार्यालयमा उपस्थित भएका छन् ।

आयोगबाट एकाएक सम्पर्कविहीन भएका गुरुङ आइतबार कार्यालय उपस्थित भएको हुन् । पछिल्लोपटक माघ २० गते आयोगको म्याद थप गर्न सरकारलाई पत्र लेख्न बैठक बसेपछि उनी सम्पर्कविहीन भएका थिए । आयोगले निर्माण गरेको तामेली मापदण्डविरुद्ध सर्वोच्चमा पीडितले मुद्दा दर्ता गरेको र उक्त मापदण्ड गैरकानुनी भएको फैसला आएपछि उनी सम्पर्कविहीन भएका थिए । गुरुङ पछिल्लो समय आयोगका कुनै पदाधिकारीलाई जानकारी नदिई कार्यालय अनुपस्थित थिए ।

नागरिकका अनुसार, उनी कार्यालयमा अनुपस्थित भएपछि वरिष्ठ सदस्य लिला उदासीको अध्यक्षतामा आयोगको ११२ औं बैठक बसेको थियो । पीडितले धर्ना दिएपछि वरिष्ठ सदस्यको नेतृत्वमा दुई महिनापछि बैठक बसेको छ ।