खेलकुद

नेपालगञ्जमा राष्ट्रिय तेक्वान्दोको रेफ्रि कोर्स

नेपालगञ्ज । नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । नेपालगञ्जस्थीत राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार एक कार्यक्रमका बिच दुई दिने कोर्स सम्पन्न भयो । सो अवसरमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास संसेर राणा,महासचिव दिपराज गुरुङ र केन्द्रीय सदस्य केविराज खड्गी लगायतको उपस्थीती रहेको थियो ।

सो अवसरमा महासचिव गुरुङले नेपालको तेक्वान्दो खेल विकास र स्तरन्नोतीका लागि रिफ्रेसर र कोर्सले महत्वपुर्ण भुमिका खेल्ने बताए ।उनले भने विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलको केही नियम परिवर्तन गरेको छ । जसका कारण कोर्सले नियम अपडेटमा मद्दत पुग्नुका साथै खेलको विकास तथा प्रवर्धन हुनेछ ।

बुधबार देखि सुरु भएको कोर्स विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण सञ्चालन भएको थियो । मध्यपश्चिमाञ्चलका लागि बाँकेको नेपालगन्जमा निर्णायक कोर्स भएको थियो । कोर्समा ग्यरोगीतर्फका कुल ५४ निर्णायकको सहभागीता रहेको थियो । जसमा नयाँ निर्णायकको लागि १८ र रिफ्रेसरका लागि ३६ निर्णायकको सहभागीता रहेको थियो ।

उक्त कोर्समा नेपाल तेक्वान्दो संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठ र कोरियन प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए । कोर्समा सहभागीलाई संघका अध्यक्ष राणाले प्रमाणपत्र प्रदान गरे । उक्त कोर्स पूर्वाञ्चलको झापामा चैत ६ र ७, पश्चिमाञ्चलको बुटवलमा बैशाख ४ र ५, सम्पन्न भइसकेको छ । सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा आइतबार र सोमबार दुई दिने कोर्स सुरु हुनेछ ।