पु.समाचार

मोर्चाले दियो निर्बाचनमा भाग लिने संकेत

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान र साँझ बसेको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेसका ६ दल एकीकरणपछि गठन भएको राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमका अधिकांश शीर्ष नेताको बैठकमा मधेसी नेताले परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुने सुनिश्चितता खोज्दै चुनावमा सहभागी हुन सहमति जनाएका हुन् ।

त्यसका लागि मोर्चाले केही सर्त राखेका छन् । मोर्चाले मधेसमा स्थानीय तहको संख्या थप्नुपर्ने, स्थानीय निकाय प्रान्तको मातहतमा हुने प्रावधान संशोधन गर्नुपर्ने माग राखेको छ । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, त्यसैगरी विशेष र स्वायत्त क्षेत्र, प्रदेशको सीमांकन निर्वाचनअघि नै टुंगो लगाउनु पर्ने, धारा २७४ को उपधारा ४, ५, ६ र ७ परिमार्जन गर्नुपर्नेदेखि निर्वाचन दुई साता सार्नुपर्ने सम्मका सर्त राखेको छ ।