पु.समाचार

ग्यास निस्किएको क्षेत्रमा तारबार गरि तुरुन्त ब्याबस्थापन गर्न मन्त्री जोशीको कडा निर्देशन

भक्तपुर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित गत मंलबार ‘डिपबोरिङ’ गर्ने क्रममा ग्यास निस्किएको क्षेत्रमा तारबार गरी संरक्षण गर्न निर्देशन दिएका छन्।

‘डिपबोरिङ’ गर्ने क्रममा जमिनबाट ग्यास निस्किएर आगलागी भएको स्थानको अवलोकन गर्दै मन्त्री जोशीले एक साताभित्र ग्यास निस्किएको क्षेत्रमा तारबार गरी उचित रूपमा संरक्षण गर्न निर्देशन दिएका हुन्।
मन्त्रीसँगै अनुगमनमा गएको खानी विभागअन्तर्गत प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुखलगायतको टोलीले उक्त क्षेत्रलाई तारबार गरी संरक्षण गर्ने भएको छ ।
डिपबोरिङ गरेको ठाउँबाट ग्यास निस्किएर आगलागी भएको क्षेत्रलाई हाल माटोले पुरिएको भए पनि अझै प्राकृतिक मिथेन ग्यास निस्किरहेकाले तारबार गरेर संरक्षण गर्नुपर्ने प्राकृतिक तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले बताए।
डिपबोरिङमा प्रयोग भएको पाइप अझै नझिकिएकाले पाइप निकालेर ग्यास निस्किएको ठाउँलाई प्लास्टर गरेर बन्द गरी सुरक्षित गर्नुपर्ने उनले बताए।
जमिनबाट ग्यास निस्किएको क्षेत्र आसपासको एक सयदेखि डेढसय मिटरमा ड्रिल गरी अध्ययन गरी प्राकृतिक ग्यासको मात्रा पत्ता लगाउन सकिने उनले बताए।
ग्यास निस्किएको क्षेत्रमा कुनै पनि बेला आगलागी हुनसक्ने जोखिम भएकाले त्यस क्षेत्रमा मङ्गलबारदेखि नै सुरक्षाका लागि प्रहरी खटाइएको छ ।