राजनीति

राष्ट्रपति भण्डारी दिल्लीमा, भोलीबाट प्रणव मुखर्जी लगायत उच्च अधिकारीसंग भेटवार्तामा ब्यस्त हुने

सुर्यखबर सम्बाददाता,
काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी सोबार पाँचदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेकी छन् ।
राष्ट्रपति भण्डारीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रास्ट्रिय विमानस्थलमा अवतरणपछि भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरिन् । त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उनलाई स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ लागेकी छन् । राष्ट्रपति भण्डारीलाई भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्तीमगर, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशसरण महत, मन्त्रिहरु तथा उच्च सरकारी अधिकारीहरूले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

शुक्रबार सम्मको भारत बसाईका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने बताईएको छ ।

राष्ट्रपति मुखर्जीले गत १७ कात्तिकमा नेपालको राजकीय भ्रमण गरेका भण्डारीलाई भारत भ्रमणको निम्तो दिएका थिए । भ्रमण दलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादव, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल, राष्ट्रपति कार्यालयका सचिवलगायत टोलीमा सहभागी छन् ।

राष्ट्रपतिको कार्यभार सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो । यसअघि गत २७ वैशाखमा भारत भ्रमणको तयारी भइरहेका बेला तत्कालीन केपी ओली सरकारले राष्ट्रपतिको भ्रमणका लागि तयारी नपुगेको भन्दै भ्रमण स्थगित गरेको थियो । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएर राष्ट्रपति भण्डारी दिल्ली प्रश्थान गरेकी थिईन् ।