पु.समाचार

किसानको अनुदानमा कर्मचारीले गर्छन् यसरी मस्ती

काठमाडौं । सरकारले साना किसानलाई लक्षित गरी धादिङका ग्रामीण कखुरा प्रवद्र्धन कार्यक्रमका लागि दिएको अनुदान रकममा सरकारी कर्मचारीले रजाइँ गरिरहेको खुलासा भएको छ ।

जिल्ला पशुसेवा कार्यालय धादिङको आर्थिक वर्ष २०७३/७४ को वार्षिक कार्यक्रमअनुसार अन्डामा आत्मनिर्भर र पारिवारिक पोषण सुरक्षाका लागि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रमअन्तर्गत धादिङका १० वटा किसान समूहका दुई सय किसानलाई कुखुराका चल्ला वितरण गरिएको थियो ।
प्रतिकिसान २५ गोटाका दरले चल्ला दिने भनिए पनि सबैजसो २३–२४ वटाको दरले चल्ला वितरण गरिएको किसान बताउँछन् । अन्नपूर्ण पोष्टका अनुसार यो कार्यक्रमअन्तर्गत किसानले पाउने निःशुल्क सेवा र सुविधा जिल्ला पशुसेवा कार्यालयका कर्मचारीको मिलेमतोमा किसानले सामान बुझेको भर्पाइ बनाएर सबै अनुदान कर्मचारीले खाएको प्रमाण भेटिएको छ ।