पु.समाचार

मूख्य दलका ऐतिहासिक नगरी कीर्तिपुरमा को को छन् त मेयरका आकाङ्क्षी ?

काठमाडौँ । आकाङ्क्षी धेरै भएपछि कीर्तिपुर नगरपालिकामा विभिन्न दललाई उम्मेदवारको व्यवस्थापन गर्न समस्या भएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल लगायतका पार्टीमा मेयर र उपमेयर उम्मेदवारका आकाङ्क्षी धेरै भएका कारण उम्मेदवार छान्न मुस्किल परेको हो ।

सबै राजनीतिक पार्टीमा स्थानीय वडा कमिटीले उम्मेदवारको सिफारिस गर्ने र सम्बन्धित नगरपालिका हुँदै जिल्ला कमिटीले स्थानीय तह निर्वाचनको उम्मेदवार टुंगो लगाउने प्रक्रिया छ । प्रक्रियाभित्र रहेर स्थानीय राजनीतिक दलका वडादेखि जिल्ला तहसम्मका नेता स्थानीय तहको निर्वाचनमा उम्मेदवार दिने तयारीमा छन् ।

कीर्तिपुरमा क्रियाशील पाँच वटै पार्टीका नेताले आ–आफ्नो पार्टीभित्र नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य बन्न चाहने आकाङ्क्षीको सङ्ख्या सोचेभन्दा अत्यधिक रहेको जानकारी दिएका छन् ।

नेपाली काँग्रेस कीर्तिपुर नगर सभापति कृष्णमान डंंगोलले पार्टीमा मेयर, उपमेयर र वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवार बन्न आकाङ्क्षीको सङ्ख्या अत्यधिक भएको बताए ।

उनले कीर्तिपुर नगरको तीन कार्यकाल सभापतिको जिम्मेवारीमा रहँदै आएको हैसियतले काँग्रेस पार्टीको तर्फबाट मेयरमा आफ्नो पहिलो दाबी हुने र आफू त्यस पदका लागि योग्य भएकाले पार्टीबाट पनि आफ्नो पक्षमा उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गरे ।

डङ्गोलका अनुसार कीर्तिपुर नगरपालिकामा पार्टीका तर्फबाट मेयरको उम्मेदवारमा आफूसहित पुकार महर्जन, बद्रीलाल महर्जन, रामकुमार नकर्मी, प्रणय सिहं, रामबाबु विष्ट, डा. राम खनाल, लक्ष्मी रावललगायतका नेताको दाबी छ । गोरखापत्रका अनुसार यस्तै उपमेयरमा देवरानी श्रेष्ठ, विमला विष्ट, यमुनालगायत महिला उम्मेदवार आकाङ्क्षी देखिएका छन् । आकाङ्क्षी धेरै देखिएकाले उठ्नेको नाम छिट्टै टुुङ्गो लगाउने पनि नगर सभापति डङ्गोलले बताए ।
एमालेका कीर्तिपुर नगर अध्यक्ष विकास महर्जनले कीर्तिपुर नगरापलिकाको मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यमा आकाङ्क्षी धेरै भएकाले दुई÷तीन दिनपछि मात्रै नाम सार्वजनिक गरिने जानकारी दिए । उनले भने, ‘एमालेले उम्मेदवार छान्दा हाम्रो भन्दा पनि राम्रो र सक्षम नेतृत्वलाई छान्ने छ । ’
एमालेका नगर अध्यक्ष महर्जन यस विषयमा नबोले पनि नेकपा (एमाले) बाट कीर्तिपुर नगरपालिकामा मेयरका लागि रमेश महर्जन, हीराकाजी महर्जन, लक्ष्मीबहादुर महर्जन आकाङ्क्षी देखिनु भएको छ भने उपमेयरका लागि मन्दिरा महर्जन, लक्ष्मी काफ्लेको नाम चर्चामा छ ।
यस्तै, माओवादी केन्द्र कीर्तिपुर नगरका सचिव नारायण महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारको नाम दुई÷तीन दिनभित्र टुङ्गयाउने गरी काम भइरहेको बताए । उनका अनुसार कीर्तिपुर नगरपालिकाको मेयरका लागि हिराबहादुर महर्जन, शम्भु महर्जन, डा। शिवशरण महर्जनको दाबी छ भने लीला अधिकारी, सुशीला बस्नेत र विष्णु महर्जन उपमेयरको उम्मेदवारी दिने तयारीमा छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी कीर्तिपुर नगर अध्यक्ष जितबहादुर विष्टले कीर्तिपुर नगरपालिकामा मेयरका लागि आफू एक्लो उम्मेदवार भएको बताए । उनले उपमेयरका लागि भने दुई÷तीन जना महिला आकाङ्क्षी देखिएकाले केही दिनमै टुङ्गो लागेपछि मात्रै नाम सार्वजानिक गर्ने बताए ।

नयाँ शक्ति नेपाल कीर्तिपुर नगरका अध्यक्ष सुनिता शाक्यले कीर्तिपुर नगरपालिकामा मेयर वा उपमेयर लागि स्वतन्त्र र विनापूर्वाग्रह जनताको काम गर्ने योग्य व्यक्तित्वलाई उम्मेदवारी दिन आह्वान गर्दै आएको बताए । तर अहिलेसम्म उक्त पदको दाबी कसैले नगरेको जानकारी उनले दिए ।
साथै उनले कुनै सक्षम व्यक्ति मेयरका लागि आएमा आफू उपमेयरका लागि उम्मेदवारी दिन तयार रहेको पनि जानकारी दिए । स्थानीय तहको पुनःसंरचनासँगै कीर्तिपुर नगरपालिकामा १० वटा वडा कायम गरिएको छ ।