समाचार

बांँदरझुलाका सुकुम्बासीद्धारा यसरी गरे थप जग्गाको माग

चितवन। चितवनको दक्षिणमा पर्ने निकुञ्जभित्रको बाँदरझुला गाउँका सुकुम्बासीहरुले बस्ती उठाउँदा कम्तिमा तीन कट्ठा जमिन दिन माग गरेका छन् । सरकारले प्रतिघर झण्डै ७ धुर मात्रै जमिन दिने निर्णय गरेको भन्दै उनीहरुले कम्तिमा पनि ३ कट्ठा जमिन नभए परिवार पाल्न समेत समस्या पर्ने बताएका छन् ।

चितवनको भरतपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी बाँदरझुलाका सुकुम्बासी एजी परियारले सुकम्बासीहरुलाई कमसेकम बाँच्ने आधार दिन माग गरे । बाँदरझुलाको सुकुम्बासी बस्तीमा हाल ७ सय १० घरधुरी मा ६ हजार बढी जनसंख्या छ । उनीहरु २०४७ सालदेखि विभिन्न जिल्लाबाट आएर यहाँ बसोबास गर्दै आएका छन् ।

नेपाल सरकारले उनीहरुलाई उपयोग पुर्जा दिने, स्वामित्व सरकारमा रहने गरी स्थानान्तरण गर्न खोजेकोभन्दै सुकूम्बासीहरुले जमिन व्यक्तिको स्वामित्वमा हुनुपर्ने, कम्तिमा तीन कट्ठा जग्गा हुनुपर्ने, घर बनाउने ढुवानी तथा निर्माण खर्च सरकारले व्यहोर्नु पर्ने माग गरेका छन् । यता सरकारले बनाएको बस्ती स्थानान्तरण तथा व्यवस्थापन समितिका संयोजक एबं चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट उक्त बस्ती स्थानान्तरणको विषयमा आवश्यक प्रक्रिया चलिरहेको बताउछन् ।