आर्थिक

एनसेलले ल्यायो आकर्षक रोमिङ् अफर, प्रिपेडमा अब स्वतः रोमिङ् सेवा उपलब्ध हुने

axiata-company

काठमाडौं। देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजनाहरु ल्याएको छ ।

यो योजना अन्तर्गत एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक ल्याएको छ, जस अन्तर्गत एनसेलका ग्राहकले आफु रोमिङ्मा रहेको समयमा पनि आफ्ना परिवार, आफन्त तथा संम्बधित देशका व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा सम्पर्कमा रहन सक्नेछन् । यो अफर यहि बिहीबार  देखि लागु हुनेछ ।

दैनिक रोमिङ् डेटा प्याक अन्तर्गत एनसेलका ग्राहकले यो सेवा निःशुल्क सुचारु गरि कर सहित मात्र रु ५०० मा अनलिमिटेड डेटाको मजा लिन सक्नेछन्।  यो सेवा एक पटक सुचारु गरेपछि ग्राहकले निष्कृय नगरेसम्म सुचारु रहिरहने छ ।

नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ, शुल्क रु ५०० भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात् प्याक नविकरण भएपनि डेटा प्रयोग नगरेमा प्याक बापतको शुल्क लाग्ने छैन । दैनिक रोमिङ् डेटा प्याक भारत, चिन, हङकङ, अमेरिका, बेलायत लगायतका ५३ देशमा लागु हुनेछ ।

त्यसैगरी आफु यात्रामा भएको समयमा भ्वाइस र एसएमएस सेवा चाहने ग्राहकले कर सहित मात्र रु ५०० मा दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक लिन सक्नेछन् । यो प्याक अन्तर्गत ग्राहकले रोमिङ्मा रहेको समयमा नेपालमा कल गर्न र सम्बन्धित रोमिङ् देश भित्र कल गर्नका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कलका साथै २५ वटा एसएमएस पठाउन सक्नेछन् । यो प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ ।

आफ्नो सञ्चार सेवाको आवश्यकता बमोजिम, ग्राहकले भ्वाइस र एसएमएस प्याक जति पटक पनि लिन सक्छन् । यो प्याक भारत, चीन, हङकङ, अमेरिका, जमर्नी , युएई, लगायतका विभिन्न ३५ गन्तव्यहरुमा लागु हुनेछ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२९ह्यास डायल गरि प्राप्त जानकारी अनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्नेछन् ।

यसका साथ–साथै एनसेलको प्रिपेड रोमिङ् सेवा उपलब्ध रहेका गन्तव्यहरुमा आफ्ना प्रिपेड ग्राहकका लागि रोमिङ् सेवा स्वत उपलब्ध हुने बनाएको छ । यस अन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइल लिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमा पुग्ने बितिकै रोमिङ् सेवा स्वत उपलब्ध भएको जानकारी गराइने छ । भारत र चीनको लागि भने प्रिपेडमा स्वतः रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशन अनुसार रोमिङ सेवा सुचारु गनुपर्नेछ ।

“विभिन्न देशमा भ्रमणमा रहदा ग्राहकको सञ्चारको आवश्यकतालाई परिपुर्ति गर्न भ्वाइस, डेटा र एसएमएसको अफरहरु ल्याउन पाउँदा हामी हर्षित छांै । यसले रोमिङ्मा रहँदा हाम्रा ग्राहकलाई सुलभ र सहज रुपमा सम्पर्कमा रहन सघाउनेछ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

दैनिक भ्वाइस र एसएमएस प्याक प्रयोग गर्ने समयसीमा वा प्याकमा उपलब्ध भोल्युम सकिएपछि नियमित रोमिङ् शुल्क लागु हुनेछ । दैनिक रोमिङ डेटा प्याक सुचारु गरेका ग्राहकले ग्राहकले एस्ट्रिक्स१७१२९ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सेवा निष्क्रिय गर्न पनि सक्छन् । कम्पनीका अनुसार एनसेलका ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकहरुमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न पनि सक्छन् ।