पु.समाचार

सुनसरी कांग्रेसले अन्तरघात गर्नेलाई पार्टीबाट निश्काशन गर्ने यस्तो कडा समिति बनायो

 इनरुवा । नेपाली कांग्रेस सुनसरीले स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारको विरुद्ध वाघी उठ्ने, अन्तरघात गर्ने र असहयोग गर्नेलाई तत्काल कडा कारवाही गर्ने भएको छ ।

जिल्ला सभापति राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले जिल्ला सदस्य अगमलाल चौधरीको अध्यक्षतामा ३ सदस्यीय अनुशासन समिति गठन गरी यस्तो निर्णय गरेको हो ।

हरेक निर्वाचनमा घात अन्तरघात र असहयोगका कारण पराजय वेहोर्नु परेको भन्दै बैठकका सहभागीहरुले कडा रुपमा आवाज उठाए पछि सभापति कोइरालाले त्यस्ता व्यक्तिलाई पार्टीवाट निश्कासन समेत गर्ने गरी कारवाही गर्न अनुशासन समिति गठनका लागि गरेको प्रस्ताव सर्वसम्मत पारित भएको सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए । समितिका अन्य दुई सदस्यमा स्थायी आमन्त्रित सदस्य जमिल आजद र जिल्ला सदस्य अनिल श्रेष्ठ रहेको छ ।

बैठकले जिल्ला सभापति राजिव कोइरालाको संयोजकत्वमा जिल्ला समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, नगर सभापति, गाउं सभापति र भातृ तथा शुभेच्छुक संस्थाका जिल्ला सभापतिहरु रहेको जिल्ला निर्वाचन परिचालन समिति गठन गरेको छ ।

त्यसैगरी सभापति कै संयोजकत्वमा बिभिन्न नेताहरु रहेको निर्वाचन अनुगमन, समन्वय तथा सहजिकरण समिति समेत गठन गरेको छ । समितिका सदस्यहरुमा रामबहादुर बस्नेत, हरी सापकोटा, चन्द्रप्रसाद श्रेष्ठ, अगमलाल चौधरी, मा.सिताराम मेहता, मा. सूर्यदेव उरांव, अलाउद्दीन हुसैन, गोमा पराजुली, बद्री चौधरी, ताहिर अन्सारी, जमिल आजद, समिम अन्सारी, चन्द्रशेखर लामा, सिदार्थ कोइराला र संजय श्रेष्ठ रहेकाछन् ।

बैठकले आवश्यक जिल्ला सदस्यहरु, प्राध्यापक, शिक्षक, वकिल र बुद्धिजीवीहरुलाई समेटेर स्थानीय घोषणा पत्र तयार गर्न जिल्ला सचिव केदार भण्डारीलाई संयोजक तोकेको छ । त्यसैगरी कोषाध्यक्ष पंकज महतोको संयोजकत्वमा माधव घिसिङ, गोविन्द दर्नाल, नगेशचन्द्र राई, खेमराज दाहाल, रामप्रसाद यादव, किशोर पाल, नुनु अन्सारी, दिपेश बस्नेत रहेको आर्थिक समिति समेत गठन गरेको प्रवक्ता तामाङले बताए ।