पु.समाचार

यस्तो छ डलर तस्करीमा लाग्ने पाइलटको बायोडाटा

काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमार्फत हुने तस्करीमा उच्च सुरक्षा अधिकारी पक्राउ परेको करिब तीन महिनापछि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका वरिष्ट पाइलट समातिएका छन् । एयरलाइन्सका करिब तीन दशक पुराना पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित विमानस्थलमा पक्राउ परेका हुन् । मंगलबारको अन्नपूर्णमा लेखिएको छ, विमानस्थलमार्फत हुने तस्करीमा पाइलट संलग्न हुनु विश्वमै दुर्लभ घटना मानिन्छ ।

आइतबार राती साढे ११ बजे दुबईका लागि जहाज उडाउन विमानस्थलभित्र भित्रिने क्रममा भएको सुरक्षा जाँचमा ५५ वर्षिय अवालेको ‘ह्यान्ड क्यारी’मा उक्त परिमाणको डलर फेला परेको थियो । नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर २२९ को जहाज उडाउनु अघि राती ११ बजे अवाले नेतृत्वको आठ सदस्यिय ‘क्रियु’ सुरक्षा जाँचमा थियो ।

अवालेको लगेज पहिलो एक्स रे मेसिनमा जाँच गर्दा सुरक्षाकर्मीले शंकास्पद भन्दै त्यसपछिको जाँचलाई सतर्क बनाएका थिए । प्रहरीको अन्तिम जाँचमा भने अवालेको ह्यान्डक्यारी खानतलासी गरिएको प्रहरीले जनाएको छ । खानतलासी गर्दा लगेजभित्र ठुलो परिमाणको डलर पानी टेपले बेरिएको फेला परेको थियो । लगत्तै, सुरक्षाकर्मीले अवालेलाई नियन्त्रणमा लिएको थियो । त्रिभुवन बिमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी प्रेम चन्दले प्रहरीको अन्तिम खानतलासीका क्रममा अवालेको ह्यान्डक्यारीमा ठुलो परिमाणमा डलर फेला परेको बताउनु भयो । ‘शंका लागेपछि खानतलासी गर्नु हाम्रो जिम्मेवारी थियो । पाइलटकै ब्यागमा यस्तो हुँदा हामी छक्क पर्र्यौ’, एसएसपी चन्दले भने ।

विमानस्थलमा उडान भर्ने पाइलट तथा ‘क्रियु’को जाँचका लागि छुट्टै बाटोको ब्यवस्था हुने नागरिक उड्यन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनु भयो । ‘तर, बाटो फरक भएपनि पाइलट र क्रियु सदस्यको लगेज, ह्यान्डब्याग तथा बडि जाँच कडाईसाथ गरिएको हुन्छ’, ठाकुरले भने । नेपाल बायु सेवा निगमका महाप्रबन्दक सुगतरत्न कंशकारले पाइलट प्रकरणले आफु स्तब्ध भएको बताए । ‘उहाँजस्तो अनुभवी, इमान्दार पाइलट यस्तो घटनामा पक्राउ पर्दा म र मेरो संस्था स्तब्ध छौं’, कंशकारले भने । पक्राउलगत्तै अवालेलाई काठमाडौं प्रहरी परिसर बृत, गौशालामा बुझाईएको थियो । अवाले पक्राउ परेपछि प्राधिकरणले ‘रिजर्भ’ पाइलट महेशमान डंगोललाई काठमाडौं–दुबई फ्लाइट उडान गर्न लगाएको थियो ।

यसअघि गत पुसमा त्रिभुवन विमानस्थलबाट साढे ३३ केजी सुन पक्राउ पर्दा विमानस्थलका तत्कालिन एसएसपी श्याम खत्रीको पनि संलगनता दखिएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो । त्यसपछि चार जना थाई भिक्षुणी पनि ठुलो परिमाणको डलरसहित त्रिभुवन विमानस्थलबाटै समातिएका थिए । उनीहरु थाइल्यान्ड उड्न लागेको अवस्थामा समातिएका थिए ।

नेपाल राष्ट्र बैंकको विदेशी विनियम ऐन अनुसार विदेश जाँदा कुनैपनि ब्यक्तिले अधिकतम २५ सय डलर साथमा लिएर जान सक्छन् । नेपाल राष्ट्र बैंकका सह प्रवक्ता राजेन्द्र पन्डितले सर्वसाधारणको हकमा यो ब्यवस्था भएपनि पाइलटको हकमा सम्बन्धित संस्थाले ब्यवस्था गर्न सक्ने बताउनु भयो । तर नेपाल बायु सेवा निगमका महा प्रबन्धक सुगतरत्न कंशकारले पाइलटकै लागि भनेर त्यस्तो छुट्टै ब्यवस्था नभएको बताउनु भयो ।

को हुन् अवाले ?
३३ वर्षअघि जुनियर को पाइलटका रुपमा निगममा सेवा सुरु गरेका अवाले पछिल्लो समय निगमको एयरबसका वरिष्ठ पाइलट थिए । अवालेले ट्वीनटर , बोइङ हुँदैं डेढ वर्षअघि मात्र एयर बस ‘न्यारो बडी’ उडान थालेका थिए । एक महिनाअघि मात्र निगमले उनलाई इमान्दार र लगनशिल पाइलटका रुपमा सम्मानित गरेको थियो । उनले ट्वीनटर जहाजका लागि पाइलट प्रशिक्षण गराएका पाइलटहरु अहिले अन्तर्राष्ट्रिय एयर बस जहाज उडान भरिरहेका छन् । जसमा निगमका वरिष्ठ पाइलट विजय लामासमेत पर्छन् । क्याप्टेन लामाले अवाले आफुभन्दा तीन वर्ष सिनियर कर्मचारी भएको बताउँदैं उनी अत्यन्तै मिलनसार र पेशाप्रती इमानदार रहेको बताए ।

अवालेले आफ्नै खर्चमा को पाइलट तालिम लिएका थिए ।उनी अबको डेढ महिना पछि हुने एयर बस उत्पादन कम्पनीमा एयर बस प्रशिक्षकको तालिम लिन छनौट समेत भएका थिए । सिनामंगलको सम्पन्न परिवारका अवालेका दुई छोरीमध्ये एक जना अमेरिकाको हाबर्ड विश्वविधालय र अर्की हङकङमा अध्ययन गरिरहेका छन् । हाल निगमका आठ जना एयरबस पाइलट छन् । एयर बसको हरेक उडानमा प्रमुख पाइलट, अर्को एक जना रिजर्भ पाइलट र फ्लाइट अफिसर हुन्छन् । हाल निगमसँग दुई वटा एयरबस छन् । निगमका एक वरिष्ठ पाइलटका अनुसार पाइलटको संख्याका कारण यसअघि नै समस्या आएको अवस्थामा यो घटनाले समस्या थपिएको बताए ।

पाँच दिन म्याद
राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन समय मागेर अनुसन्धान अगाडि बढाएको छ । विदेशी विनियम नियमित गर्ने ऐन अन्तर्गत अवालेमाथी अनुसन्धान अगाडि बढेको हो । यो ऐन अन्तर्गत बढीमा ३० दिनसम्म विभागले अनुसन्धान गर्न सक्ने छ । अवालेलाई थुनाका लागि नख्खु कारागारमा राखिएको छ ।

विदेशी विनियम नियमित गर्ने ऐनअन्तर्गत एक करोड नेपाली रुपैयाँ बराबरभन्दा माथीको मुद्धामा अधिकतम तीन वर्षसम्म कैद, विगो जफत र विगोको तेब्बर जरिवाना हुने ब्यवस्था छ । एक करोड नेपाली रुपैयाँभन्दा तलको मुद्धामा अधिकतम विगो जफत र विगोको तेब्बरसम्म जरिवाना ब्यवस्था छ । अवालेले ह्यान्ड क्यारिमा राखेको अमेरिकी डलरको नेपाली रुपैयाँ एक करोडभन्दा तल हुन आउँछ ।