समाचार

राज्यले गर्यो आङरितालाई बेवास्ता

काठमाडौं । विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी नेपालको शिर विश्वसामु उचो पार्ने पर्वतारोही आङरिता शेर्पाको स्वास्थ्य नाजुक बन्दै गएको छ । हिमचितुवा उपनामले चर्चित शेर्पा सिकिस्त बिरामी भएपछि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा आइतबार भर्ना गरिएको छ ।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ, विनाअक्सिजन सगरमाथा आरोहण गर्न सफल ७० वर्षे शेर्पा थलिए पनि राज्यले अहिलेसम्म कुनै सहयोग नगरेको छोरी डोल्मा ल्हामु शेर्पाले दुःखेसो पोख्नुभयो । ‘नेपालको पर्वतारोहण इतिहासमा बुबाको योगदान अतुलनीय रहेकोमा दुईमत छैन’, उहाँले भन्नुभयो, ‘तर आज उहाँ आईसीयूमा मृत्युसँग संघर्ष गरिरहे पनि राज्यले वास्ता गरेन ।’ १० पटक अक्सिजनविनै सगरमाथा आरोहण गर्ने साहसी शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र सरकारले स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि उहाँले वि श्राम लिनुभएको थियो । उहाँले देखाएको बहादुरीको बाटो पहिल्याएर कीर्तिमान बनाउने आरोहीले समेत शेर्पाको उपचारमा कुनै चासो देखाएका छैनन् ।

नेपाल पर्वतारोहण संघ, नेपाल टुरिज्म एसोसिएसन र सरकारले समेत कुनै चासो नदिएको छोरी डोल्माले बताउनुभयो । सोमबार बिहान उहाँको स्वास्थ्यस्थिति अत्यन्त चिन्ताजनक भएको र मस्तिष्कमा समस्या भएकाले चिकित्सकका अनुसार अप्रेसन गर्नुपर्ने सम्भावना रहेको डोल्माले बताउनुभयो । एक वर्षअघि मात्रै जेठा छोराको निधन भएको र कान्छा छोरा लान्दरुको पनि गत शुक्रबार सगरमाथा आधार शिविरमा लडेर खुट्टा भाँचिएपछि आङरिता थप चिन्तित बन्नुभएको थियो ।

उपचार गर्न रकम अभावले सिकिस्त उहाँलाई अस्पतालबाट निकाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै परिवारले सहयोग गर्न सबैसँग आग्रहसमेत गरेको छ । विश्वभर नेपाल चिनाउन उहाँको योगदान अतुलनीय भए पनि उपचारमा राज्यले कुनै चासो नदिनु किंवदन्तीजस्ता कीर्तिमानी आरोहीको अपमान भएको सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले बताउनुभयो । सोलुखुम्बुको थमोमा जन्मिनुभएका आङरिताले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गर्नुभएको थियो ।